काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि पनि चीन प्रस्थान गर्नुभएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नुहुनेछ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा यही चैत ८ गते उहाँ सरिक हुनाका साथै उहाँले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नुहुनेछ । चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्नुहुनेछ ।
प्रधानमन्त्रीले ‘चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ विषयको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उहाँको उपस्थितिमा साङ्घाइ सहयोग सङ्गठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै उहाँले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चैत ९ गते बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुनुहुनेछ । सोही समारोहमा उहाँले सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयको सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नुहुनेछ । सोही दिन अपराह्न उहाँले सान्याको नान्सान उद्यानस्थित नेपालमण्डपको भ्रमण गर्नुहुने कार्यक्रम छ ।
उहाँले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवम् नगरपालिकाका नेतालाई भेट्नाका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नुहुनेछ । भ्रमणको सिलसिलामा उहाँले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् आयोजनाको अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिनिधिमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त