मोरङ । विश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन् । कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ ।
समाजमा थोरै मात्रै यस्ता युवा छन्, जसले जागिरका लागि धाउने हैन, आफैँ गर्ने हो भनेर कम्मर कसेर लागेका छन् । यस्ता युवाको पङ्तिमा पर्दछन् विराटनगर १८, जतुवाका सिकेन्द्रसिंह यादव ।
कुनैबेला जागिर दिनुस् नै हजुर भन्दै विभिन्न सरकारी, गैरसरकारी कार्यालयमा प्रमाणपत्र लिंदै हिँड्ने उहाँलाई अहिले आफ्नै व्यवसायमा लागेपछि भ्याइनभ्याइ भएको छ ।
एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरका लागि धाउन थाल्नुभएका उहाँले धेरैपटक लोकसेवाको परीक्षा दिनुभयो । तर, सफलता प्राप्त गर्न सक्नुभएन ।
सरकारी जागिर हात नलागे पनि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँले आफैँले केही गर्ने केही योजना बनाउनुभयो ।
यादव परिवारले पहिल्यैँदेखि गाईपालन गर्दै आएका थिए । परम्परागत गाईपालन व्यवसायले भने सोचे जस्तो प्रतिफल दिनसकेको थिएन । घरको सामान्य गर्जो मात्रै टार्ने गरेको थियो । यही व्यवसायलाई अघि बढाउने गरी उहाँले योजना बनाउनुभयो । तर पैसा नहुँदा कसरी लगानी गर्ने भन्ने चिन्ताले सताउँदा युवा स्वरोजगारसम्बन्धी कार्यक्रम उहाँले थाहा पाउनुभयो ।
बेरोजगार युवालाई सरकारले पैसा दिने बुझेपछि सम्पूर्ण प्रक्रिया पूरा गर्नुभयो र उहाँको आवेदन स्वीकृत भई रु दुई लाख पाउनुभयो । बचत र युवा स्वरोजगार कोषको अनुदानबाट अहिले उहाँको गोठमा तीनवटा उन्नत जातको जर्सी गाई, दुईवटा भैँंसी, चारवटा बाच्छी छन् ।
दैनिक २५/३० लिटर दूध बिक्री गर्ने गर्नुहुन्छ उहाँ । गाईभैँसीपालनमा व्यस्त भएपछि उहाँको दैनिकी पनि फेरिएको छ ।
बजारसम्म दूध लैजानका लागि उहाँलाई बुबा शिवराम, आमा उर्मीला, दाजु धर्मेन्द्र भाई पप्पु र विदुरले सहयोग गर्दैआउनु भएको छ ।
बिहान ५ बजेदेखि राति ८ बजेसम्म उहाँ गाईभैँंसीकै स्याहारमै रहनुहुन्छ । कुनैबेला व्यावसायिक गाईपालनको विरोध गर्ने उहाँका बुबा सिकेन्द्रको मेहनतबाट खुसी हुनुहुन्छ ।
दुई वर्षभित्रमा १० वटा उन्नत जातका गाईको दूध बजारसम्म पुर्याउने उहाँको लक्ष्य छ । यसका लागि उहाँले बचत गर्न दैनिक दुई लिटर दूधको पैसा सहकारीमा जम्मा गर्नुभएको छ ।
व्यावसायिक गाईपालनमा लाग्ने उहाँको दृढ अटोटपछि उहाँले गाउँमै पशु बीमासमेत भित्र्याउनुभयो । यसका लागि बीमाको अभिकर्ताको काम पनि उहाँले गर्दैआउनु भएको छ । जतुवा र भाथिगछ गाविसमा उहाँले १०० वटा पशुको बीमा गराइसक्नु भएको छ ।
गाई भैँसीपालन व्यवसाय सफल हुँदै गएपछि बेरोजगार र विदेशिन जाने युवालाई यस व्यवसायतर्फ लाग्न सुझाव पनि दिने गर्नुभएको छ ।
उहाँको मेहनत र सफलताको गाउँमा निकै प्रशंसा हुने गरेको छ । विराटनगरमा दूधको बजारको कुनै पनि समस्या उहाँले देख्नुभएको छैन ।
उहाँ भन्नुहुन्छ ‘आफूले राम्रो उत्पादन गरेपछि जहाँ पनि बिक्री हुन्छ ।’ मासिक रु एक लाख आम्दानी गर्ने उहाँले योजना रहेको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता