
चितवन, २६ फागुन । नाकाबन्दी खुलेपनि इन्धन आपूर्ति सहज हुन नसक्दा सवारी रोकेर काम थालेको नारायणगढ–मुग्लिन सडकखण्ड फराकिलो बनाउने कार्य लक्ष्य अनुरुप हुनसकेको छैन ।
हरेक दिन दिउँसो चारघण्टा यातायात आवागमन बन्द गरेर काम अगाडि बढाइएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात आवागमन बन्द गरेर काम गरिँंदै आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार काम तीव्रगतिमा गर्न दैनिक चार हजार ५०० लिटर डिजेल आवश्यक पर्दछ ।
हाल दैनिक एक हजार ५०० लिटरको हाराहारीमा मात्रै ठेकेदारले डिजेल उपलब्ध भइरहेको उहाँको भनाइ छ । स्थानीय प्रशासनको सिफारिसमा नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट डिजेल ल्याएको भए पनि आवश्यकताको ३३ प्रतिशत मात्रै आपूर्ति भएको छ । “ठूला उपकरण पूर्णरुपमा सञ्चालन हुन नसक्दा सोचेजति काम हुन सकेको छैन” उहाँले भन्नुभयो ।
निर्माणलाई तीव्रता दिन सो सडकमा दैनिक ३५० जना मजदुर तथा ८५ जना व्यवस्थापकीय जनशक्ति खटिएको छ । यस्तै १९ वटा स्काभेटर, ६ वटा लोडर, पाँचवटा जेसीबी र ३६ वटा ट्रिपर कामका लागि प्रयोग गरिएका छन् । हाल सो सडकमा भित्ता काट्ने, पर्खाल लगाउने, माटो भर्ने, कल्भर्ट राख्ने जस्ता काम भइरहेका छन् ।
कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्ने काम भइरहेको छ । सो क्षेत्रमा हाल पाँच मिटर चौडा कालोपत्रे बाटो रहेको छ भने ९ मिटर फराकिलो कालोपत्रे सडक निर्माण गरिँंदै छ । सडकबन्द भएका बेला मुग्लिनमा र रामनगरमा सवारीसाधन रोक्ने गरिएको छ । सम्झौता भएको २४ महिना सन् २०१७ को अप्रिलसम्म निर्माणसक्ने सर्त भएको जानकारी दिँदै खनालले भूकम्पको असर र इन्धनको अभावको कारण अहिले १० प्रतिशत काम मात्र सकिएको बताउनुभयो ।
विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाईवेअन्तर्गतको ए एच ४टु खण्ड नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालकाअनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँं, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटाँैंडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाईवेको एक खण्ड हो ।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
काठमाडौंँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ । इन्धन समयमै सहज आपूर्ति हुन नसके लामो समयसम्म सवारी रोकेर सडक निर्माण गर्नुपर्ने देखिएको छ । सबै उपकरण चल्नसके वैशाख १५ गतेसम्ममा मुख्य मुख्य काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि सो अनुरुप काम हुनसकेको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा