काठमाडौँ, १८ फागुन । सरकारले पूर्णरूपमा जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने बताएपनि मागअनुसार इन्धन उपलब्ध नभएपछि सहजरूपमा काम अगाडि बढ्न सकेको छैन । भारतको अघोषित नाकाबन्दी खुलेको एक महिना भएपनि जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न सकेका छैनन् । ऊर्जा मन्त्रालयले आपूर्ति मन्त्रालयलाई इन्धन उपलब्ध गराइदिन गरेको आग्रहअनुसार नेपाल आयल निगमको थानकोट डिपोले कूल मागको ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउँदा निर्माणकार्य प्रभावकारी हुन सकेको छैन ।
रसुवामा आयोजनास्थल रहेका साञ्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न नसक्दा सोचेअनुसार निर्माणमा प्रगति हुन सकेको छैन । सरकारले सान्जेन र माथिल्लो सान्जेनलाई सातामा १२ हजार लिटर इन्धन उपलब्ध गराउने बताएपनि आयोजनाले लामो प्रतिक्षापछि मात्रै उक्त परिमाणमा इन्धन पाउने गरेका छन् । पूर्णरूपमा काम गर्ने हो भने प्राप्त भएको इन्धनले तीनदेखि चारदिन मात्रै पुग्ने अवस्था छ ।
नाकाबन्दीका कारण भन्सारमा रोकिएका सिमेन्ट, रडलगायतका सामग्री अझै सहजरूपमा आयोजनास्थल पुग्न सकेका छैनन् । प्राप्त भएको इन्धन सुरुङ निर्माण तथा अन्य भौतिक निर्माणको काममा प्रयोग भएको आयोजना प्रमुख गिरिराज अधिकारीले जानकारी दिए । भूकम्पपछि गत असार १९ गतेबाट निर्माण सुरु भएको माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको काम गत असोज २६ गतेदेखि ठप्प भएको थियो ।
“गत माघ २० गतेबाट सामान्यरूपमा काम सुरु गरिएको छ, इन्धन अभावका कारण लामो समय काम रोक्नुपरयो,” आयोजना प्रमुख अधिकारीले रासससँग भने । भूकम्पपछि थोरै समय मात्र रोकिएको आयोजनाको काम इन्धन सङ्कटका कारण रोकिदा थप समस्या भयो । प्रमुख जिल्ला अधिकारीको तोकआदेशका भरमा प्राप्त हुने इन्धनले काम गर्न असहज भएको उनको भनाइ छ ।
सान्जेनका दुई वटा आयोजना निर्माणको क्रममा छन् । माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट रहेको छ भने सान्जेनको क्षमता ४२.५ मेगावाट रहेको छ । विसं २०७४ को साउन भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती दुई आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएको आयोजना प्रमुख अधिकारीले बताए ।
तीमध्ये माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ । दुई आयोजनाको कुल लागत रु सात अर्ब २४ करोड रहेको छ । इन्धन अभाव र भूकम्पका कारण लागतसमेत बढ्ने देखिएको छ । तर कति लागत बढ्छ भन्नेमा अहिल्यै यसै भन्न नसकिने आयोजना प्रमुख अधिकारी बताउंछन् ।
रसुवाको चिलिमे गाविसमा निर्माणाधीन ती दुई आयोजनामा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको छ । हाल आयोजनाको काम लगभग पचास प्रतिशत सम्पन्न भएको छ । दुई आयोजनाको गरी कुल ५७.३ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीले नै निर्माण गरिरहेको अर्को महत्वपूर्ण आयोजना रसुवागढीको काम भूकम्पपछि ठप्प छ । कुल १११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नै निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ ।
रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोशी नदीमा बाँध बाँधी चार हजार २०० मिटर लामो हेडरेस सुरुङ र ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण भइसकेको थियो ।
आयोजनाका प्रबन्ध सञ्चालक माधवप्रसाद कोइरालाले सातामा १२ हजार लिटर इन्धन पाउने भनिएपनि छ हजार लिटर मात्रै प्राप्त हुने गरेकाले हाल भूकम्पले ध्वस्त पारेको आवास, पहुँचमार्ग निर्माणको काम भइरहेको जानकारी दिए ।
यस्तै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि इन्धन अभावकै कारण सोचेजति प्रगति हुनसकेको छैन । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले हाल भूकम्पले ध्वस्त पारेको पशुँचमार्ग निर्माणको काम भइरहेको बताए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता