
साउदी अरब, १७ माघ । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् ।
साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत ती कामदार तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् ।
अधिकांश नेपाली कामदारको आवास अनुमति (अकमा) नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन् । उनीहरु बीच बाटोमै अलपत्र परेको बताइएको छ । सडक निर्माणका लागि साउदीको विभिन्न स्थानमा कार्यरत कामदारसँग कागजात नभएका कारण समस्या परेको र भोकभोकै बस्नुपर्ने स्थिति आएको सर्लाहीका देव मैनालीले बताउनुभयो ।
“खाने बस्ने कुनै टुङ्गो छैन, खुला आकाशमूनी सुत्न बाध्य छौँ” पीडित मैनालीले सहयोगको याचान गर्नुभयो । आफूहरुको उद्धारका लागि दूतावासका कर्मचारी हरि घिमिरेलाई दुई साता अघि जानकारी गराएको तर पहल हुन नसकेको उहाँले गुनासो गर्नुभयो । अन्य मुलुकका कामदारलाई दूतावासले खाने, बस्ने प्रबन्ध मिलाउने गरेपनि नेपाली दूतावासले भने कुनै चासो नदिएको मैनालीको भनाइ छ ।
तलब पाउने आशमा विभिन्न क्षेत्रमा कार्यरत १०० बढी कामदार कम्पनीको मुख्यकार्यालय दमाम आइपुगेका छन् । उक्त कम्पनीको कार्यक्षेत्र हायल, अलकसीम, जुबेल, खादली, अबुद्रिया, रस्तनुरा, खब्जी, सरार, दमाम लगायतका स्थानमा कार्यरत नेपाली कामदार अलपत्र परेका हुन् । रोजगारदातासँग काम गरेको तलब पटक–पटक माग्दा पनि उपलब्ध नगराएको सिन्धुलीका नानीराम श्रेष्ठले बताउनुभयो ।
“कमाएर घर पठाउने कुरै छाडौँ, छाक टार्न धौ धौ भएको छ । साथीहरुसँग सापटी गरेर बाँचेका छौँ” उहाँले भन्नुभयो । उक्त कम्पनीमा नेपाली कामदारसहित बङ्गलादेशी, भारतीय, श्रीलङ्काली, फिलिपिनी, पाकिस्तानीलगायतका गरी एक हजार ३०० बढी कामदार कार्यरत रहेको बताइएको छ ।
भोकभोकै बस्नु परेपछि तलब पाउने आशामा हायलबाट काम छाडेर दमाम आएको गोर्खाका भक्त गुरुङले बताउनुभयो । “सुत्ने ठाउँ छैन, कोही गाडीमा त कतिपय चिसो भुइँमा सुतेका छन्, एउटै कोठामा १५ जना कोचिएर रात काटेका छौँ” उहाँले भन्नुभयो । भोकै बस्नुपर्ने स्थिति आएपछि काम गर्न छाडेर कम्पनीको मुख्य कार्यालयमा आएको अर्का पीडित अर्घाखाँचीका समुन्द्र रानाको भनाइ छ ।
अधिकांश नेपाली कामदारको लामो समयदेखि अकमा नवीकरणसमेत गरिएको छैन । कम्पनी सञ्चालकले कामदारका समस्याप्रति चासो नदिएको पीडित नेपालीले बताएका छन् । पिउने पानीको समेत राम्रो व्यवस्था नहुँदा केही कामदार बिरामी परेका छन् । पैसाको अभाव र कागजात नभएकाले उपचार गर्नसमेत समस्या भएको छ ।
मुख्यकार्यालमा आएका कामदारलाई कम्पनीले कुनै पनि बेला बल प्रयोग गरेर त्यहाँबाट हटाउने अवस्था छ । कामदारले पारिश्रमिक उपलब्ध गराउन र जतिसक्दो चाँडो नेपाल फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई