सिरियाको आकासमा टर्की र रसियाको तनाव

russian-airplane-580x379

काठमाडौं, ४ पुस । सिरियामा आइएसको उपस्थिति बढ्दै गएको निहूँमा पछिल्लो समयमा सिरियाली आकासबाट गर्ने गरिएको हवाई कारबाहीले सिरियामा मात्र सीमित नभएर अरु विदेशी मुलुकबीचको सम्बन्धमा समेत तिक्तता ल्याइदिएको छ ।

सिरियामा जारी युद्ध पाँचौ वर्षमा प्रवेश गरिरहँदा यसले विश्वकै टाउको दुखाइरहेको बेला यो अर्काे विवाद विश्वसामु थपिएको छ । त्यो विवाद हो रसिया र टर्कीबीचको । टर्कीले रसियाली हवाई सेनाको सु–२४ नामक युद्धक विमानलाई गएको नोभेम्वरमा खसालिदिएपछि सिरियामा जारी हवाई आक्रमणको अवस्था विकराल बन्दै गएको मात्र नभई यी दुई देशबीचको सम्बन्धमा थप दरार उत्पन्न गरिदिएको छ ।

यस विषयलाई लिएर विश्वको विभिन्न भूगोलका कतिपय कुनाका नागरिकमा तेस्रो विश्वयुद्धको त्रास पनि उब्जिएको देखिन्छ । तर त्यसको सम्भावनालाई अहिलेका विश्व राजनीतिका सरोकारवालाहरु भने सीधै नकार्छन् । हुन पनि यतिमात्र घटनाले विश्वयुद्ध निम्त्याउन त गाह्रैपर्छ तर पनि एक सार्वभौम राष्ट्रको विमानलाई अर्काे कुनै देशले विना कुनै सूचना खसालिदिन्छ भने यसलाई सहज अन्तर्राष्ट्रिय राजनीतिको कोटिमा राख्न पनि सकिँदैन ।

टर्कीले रसियामाथि गरेको यो आक्रमण पछाडि ठूलो आश्चर्य नै मान्नुपर्ने अवस्था भने छैन । किनकी रसियाद्वारा युरोपका विभिन्न मुलुकमा सुरक्षा दिने नाममा गतिविधि संचालन गरिरहेको र यस्ता गतिविधि टर्की विरुद्ध पनि चलाइदै आएको वेलावेलामा अन्तरराष्ट्रिय संचारमाध्यममा सुनिदैआएका कुरा हुन् ।

टर्कीका अधिकारीहरूले रसियाली युद्धक विमान नोभेम्बर १३ मा पनि टर्कीका अधिकारीले अन्तरराष्ट्रिय सिमा कानुनको उल्लङ्घन गर्दै रसियाली विमान आफ्नो देशको हतेई वरपर आकाशमा उडेपछि लगातार पाँच मिनेटसम्म चेतावनी दिँदासमेत त्यहाँबाट अन्यत्र नगएपछि बाध्य भई गरेको र सो आक्रमणको विकल्प नभएको दावी गरे ।

यद्यपि यस घटना सम्वन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानल केही दिन पहिले फ्रान्सको एक टेलिभिलनलाई दिएको अन्तर्वार्तामा घटनालाई दुखद बताउनुभएको थियो । ‘घटना नहुनुपर्ने थियो तर घटनापछि पनि दुई छिमेकी राष्ट्रबीच आपसी समझदारीकासाथ अघि बढ्नुपर्ने’ राष्ट्रपति एर्डोगानको तर्क थियो ।

यसै सन्दर्भलाई लिएर आफू रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग पेरिसमा भइरहेको संयुक्त राष्ट्रसंघको पहलमा आयोजना गरिएको जलवायु सम्मेलनको समय भेट्ने इच्छासमेत व्यक्त गर्नुभएको थियो ।तर यसमा रसियाले खासै चासो व्यक्त गरेन । तत्काल वार्ताको सम्भावना पनि ट¥यो । त्यसपछि उहाँहरुबीच अर्काे कुनै पनि प्रसँग वा निहूँमा भेट हुन पाएको छैन ।

रसियाली राष्ट्रपति पुटिनले टर्कीले आफ्नो विमानमा आक्रमण गर्नु गलत भएको भन्दै माफी माग्नुपर्ने अडान राखेपछि पुटिन र एर्डोगानबीच वार्ता हुन सकिरहेको छैन । रसियाले आफ्नो विमान टर्कीले बताएअनुसार उसको ईलाकामा प्रवेश नगरेको दावी गर्दै आएकोे छ । अंकराले रसियाली विमानमा गैरकानुनी रुपमा आक्रमण गरेको मस्कोको दावी छ ।

सिरियामा व्याप्त द्वन्द्व अन्त्यगर्ने प्रयासमा नै अमेरिकी विदेशमन्त्री जोन केरीले हालै रसियाको भ्रमण गर्नुृभयो । त्यहाँ विदेशमन्त्री स्तरको वार्ता भयो । अर्को वार्ता न्यूयोर्कमा बोलाई समग्र विश्वले चिन्ता व्यक्त गर्दै आएको सिरिया समस्याबारे थप वार्ता गर्न अमेरिकाद्वारा गरिएको प्रस्तावमा रसिया तत्कालै एर्डोगानलाई सत्ताच्यूत गरी नयाँ विकल्पमा जानु सही नहुने बताउदै अमेरिकी प्रस्तावमाथि मस्को सकारात्मक नहुँदा वार्ता तत्कालका लागि टरेको छ ।

घटना सम्वन्धमा टर्कीले आफ्नो सिमाक्षेत्रमा रसियाले विमान उडाउदै आएकोले विमानमाथि आक्रमण गरेको भन्दै माफी नमाग्ने जनाउदै आएको छ । यसै बिषयलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले रसिया र टर्कीबीच देखिएको तनाव समाधान गर्न विश्व समुदायलाई अपिल गरिसक्नुभएको छ । बानले सम्वद्ध सवैलाई रसियाली विमान दुर्घटना र यसबाट आउनसक्ने परिणामप्रति सम्वेदनशील बनी समस्यालाई यथासम्भव छिटै समाधान गर्न अनुरोध गर्नु भएको हो ।

टर्कीले सिरियामा आफ्ना सेनाले अमेरिकाद्वारा आपुर्ति गरिएका एफ्–१६ प्रयोग गर्दै सिरियाली राष्ट्रपति बसर अल असद विरुद्धको आक्रमणलाई तेज पारिरहेको अवस्थामा रसियाले भने सिरियाली राष्ट्रपति असदलाई सघाउदै आएको अवस्था छ । यस्तै आक्रमणमा टर्कीले सन् २०१३ मा सिरियाली हवाई सेनाको एम्आई–१७ र एम्आईजी–२३ लाई टर्कीको हवाई इलाकामा प्रवेश गरेको बताउदै टर्कीमा खसालेको थियो ।

टर्कीले सन् २०१४ मा पनि सिरियाली एम्आईजी–२३ लाई टर्कीमा खसालेको थियो । यस्तै गएको अक्टोबरमा पनि एक चालकबिहीन युद्धकविमानलाई आक्रमण गरेको थियो । पछि यसको बदलास्वरुप सिरियाले पनि टर्कीको युद्धक विमानलाई सिरियाली हवाई क्षेत्रमा प्रवेश गरेको अरोपमा खसालिएको थियो ।

यसरी हेर्दा सिरियाली तथा टर्कीको हवाइ ईलाका ठूलो तनावको विषय बन्दै आएको छ । अर्काे शब्दमा सो क्षेत्रमा हवाई शक्तिलाई चेतावनीका बाबजुद दुवैले प्रयोग गर्दै आएको पाइन्छ । तर नेटो तथा टर्कीले यस्ता सिमा क्षेत्र उल्लङ्घनका घटनालाई कडाईकासाथ रोक्नुपर्ने जनाउदै आएका छन् । दोहो¥याएर भएका यस्ता घटनाले सिमालाई थप तनावग्रस्त वनाउने उनीहरूको बुभाई छ ।

यदि टर्कीले दावी गरेबमोजिम सु–२४ ले टर्कीको हवाई क्षेत्र उल्लङ्घन गरेको र चेतावनीलाई बेवास्ता गरेको भए आक्रमण हुनु कुनै नौलो कुरा भएन । यो टर्कीको अधिकार हो भनेर पनि भन्न सकिने भयो । तर यदि रसियाले टर्की सानो देश भएकै आधारमा दादागिरी देखाएको अवस्था हो भने यसमा रसिया पछि हट्नुपर्ने स्पस्ट छ । अन्य शक्ति राष्ट्र टर्कीको पछाडि रहनेछन् । अहिलेको अवस्था भनेको टर्की र नेटोले आफ्नो दावी प्रमाणित गर्ने वा पछि हट्ने भन्ने नै हुनेछ ।

त्यस्तै यस बिषयमा अडिग क्रेमलिनले पनि आफ्नो दावीलाई आफ्ना जनता तथा विश्व समुदायबीच सत्य सावित गर्नु आजको चुनौती हुनेछ । यदि रसियाली जहाजलाई अन्तरर्राष्ट्रिय कानुन विपरित टर्कीको हवाई इलाकामा प्रवेश भएको पाइएमा यसको जवाफ प्रभावित राष्ट्र लगायत विश्व समुदायलाई कुन उद्देश्यका साथ युद्धकविमानलाई त्यहाँ पठाइएको हो यसको जवाफ दिन त्यति सजिलो पक्कै हुने छैन ।

रसियाले विमान आफ्नोे सिमा नजिक (सिरिया र टर्कीको पनि सिमाक्षेत्र बीच) रहेर आतङ्कबादी संगठन इस्लामिक स्टेट समुह वा सिरियामा रहेको आईएसआईएलका गतिबिधि नियन्त्रण गर्नका लागि त्यहाँ पठाएको दावी गरेपनि विमान आक्रमण भएको इलाका आईएसआईएलको संगठन नभएको विभिन्न अन्तरर्राष्ट्रिय नियामक निकायले बताउदै आएका छन् ।

यतिखेर सिरियाको आकासमा यी दुई देश बाहेक अमेरिका, फ्रान्स लगायताका विभिन्न पश्चिमा देशहरुको पनि युद्धक विमानहरु कुदिरहेका छन् । उनीहरुले उनीहरुहै भाषामा सो विमानबाट आइएसका आतङ्ककारीहरु खोजिरहेका छन् । ती आतङ्ककारीहरु के कति भेटिए भन्ने त थाहा छैन तर पनि सिरियाली नागरिक भने दिनदिनै ठूलो सङ्ख्यामा मारिएकै छन् । उनीहरुको आकासमा यसरी विदेशी विमान उड्न कहिले रोकिने हो भन्ने अझै निश्चित छैन । साढे चार वर्ष भन्दा लामो समयको सिरियाली हिंसामा परी त्यहाँ करिब साढे दुई लाख नागरिकको ज्यान गइसकेको छ ।

सानो बिवादले बिस्तारै जटिल रुप लिनसक्छ भन्ने कुरामा सचेत रहनु अङ्करा तथा मस्को दुबैले जान्नुपर्छनसक्छ भन्ने कुरामा सचेत रहनु अङ्करा तथा मस्को दुबैले जान्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री