नाकाबन्दीले मनकामना मन्दिर निर्माणमा समस्या

Manakamana

काठमाडौँ । दुई महिनादेखि भारतले गरेको नाकाबन्दीले गर्दा गोरखाको मनकामना मन्दिर पुनःनिर्माणमा समस्या भएको छ ।

मन्दिरको पुनःनिर्माणको काम गत असारदेखि नै सुरु गरेको भए पनि नाकाबन्दीको कारण निर्माण सामग्री उपलब्ध हुन नसकेर समस्या भएको हो ।

मनकामना जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भन्नुभयो – “पहिलो त सामान नै पाइँदैन । सामान पाइहाले पनि मूल्य दोब्बर छ । त्यसैले गर्दा अहिले निर्माणको काम रोकिएको छ ।”

अहिलेसम्ममा मन्दिरको जग राख्ने काम भएको छ । समयमै निर्माण सामग्री उपलब्ध भए दुई वर्षसम्मभित्र निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने समितिको लक्ष्य छ । समस्या लम्बिए पुनःनिर्माणको काम अन्योलमा पर्ने श्रेष्ठले भनाइ छ ।

संयोजक श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माण गर्न सरकारले रु चार करोड र केही सुन तथा काठ उपलब्ध गराएको छ । स्वदेश एवम् विदेशमा रहेका नेपालीले पनि सक्दो आर्थिक सहयोग गरेका छन् । मन्दिर र आसपासमा रहेका भत्केका पर्खाल निर्माणको काम सकिन मात्रै रु १२ करोड खर्च लाग्ने समितिको अनुमान छ । अहिले मन्दिर खुल्ला स्थानमा सारिएको छ । निर्माणको कामले दर्शनार्थीलाई आवतजावत गर्न समस्या भए पनि भक्तजनको सङ्ख्यामा कमी भने आएको छैन ।

भूकम्पअघिको समयमा पनि मन्दिर केही ढल्किएको थियो तर भूकम्पले गर्दा भने मन्दिरमा बसेर पूजा गर्न नमिल्ने गरी क्षति पुगेकाले गत जेठमा मन्दिरलाई भत्काई देवीलाई अस्थायी संरचना बनाएर सारिएको हो ।

मन्दिरमा पूजा गर्न अहिले दैनिक ६ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । सामान्यतया मनकामनाको दर्शन गर्न आउनेको सङख्या मङ्सिरदेखि चैतसम्म बढी हुने गर्छ । त्यो समयमा दैनिक पाँच हजारदेखि २० हजारसम्म दर्शनार्थी आउने गरेको समितिको जानकारी दिएको छ । संयोजक श्रेष्ठका अनुसार मन्दिर भूकम्पले नष्ट भए पनि भक्तजन पहिलेकै अनुपातमा नै आइरहेका छन् ।

चितवनबाट आउनुभएकी एलिजा उप्रेतीले खुल्ला स्थानमा राखिएको मन्दिर अव्यवस्थित हुँदा पूजाआजा गर्न समस्या भएको बताउनुभयो ।

त्यसैगरी पाल्पाबाट पूजा गर्न आएका विजय शर्माले देशको गहनाका रुपमा रहेको मठमन्दिरको सरकारले छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री