काठमाडौँ, २ मङ्सिर । भारतीय नाकाबन्दी, इन्धनको अभाव, महङ्गी र कालाबजारीबिरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले मङ्सिर ७ गते भारतीय दूतावासमा ज्ञापनपत्र दिने तथा १ बजेदेखि ३ बजेसम्म दूतावास अगाडि धर्ना दिने, मङ्सिर ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने र सिंहदरबार अगाडि दुई घन्टा धर्ना दिने, मङ्सिर ११ गते देशका प्रमुख सहरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
केही दिनअघि नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच पार्टी एकता भई बनेको सो पार्टीले एकता प्रक्रियालाई तलसम्म विभिन्न बैठक, प्रशिक्षण कार्यक्रम गरी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले सम्पूर्ण केन्द्रीय सचिवालयसहित सम्पूर्ण केन्द्रीय आयोजक समितिका सदस्यहरूको कार्य विभाजन गरेको छ । सच्चा देशभक्त, जनवादी र बामपन्थी शक्तिसँग संयुक्त सङ्घर्षका लागि आह्वान गर्नेसमेत बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन आवश्यक पहल तथा प्रयत्न गर्ने तथा पार्टीको राष्ट्रिय सम्मलेनको मिति केन्द्रीय सचिवालयको आगामी बैठकले टुङ्गो लगाउने माओवादीले निर्णय गरेको छ । रासस
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता