काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा सामाजिक सद्भावका साथ राष्ट्रिय एकता कायम गर्न जरुरी रहेको बताएका छन् ।
हिमशिखर टेलिभिजनको काठमाडौँ कर्पोरेट अफिसको आज यहाँ उद्घाटन गर्दै उनले नयाँ संविधानले पनि सामाजिक असमानता र विभेद अन्त्य गरी समान अवसर प्रदान गर्ने व्यवस्था गरेको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न सबैको भूमिका चाहिने बताए ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा जुन जाति या भाषी जहाँ बसे पनि हामी सबै नेपाली भएकाले अहिलेको समस्या साझा समस्या हो भन्दै प्राकृतिक सम्पदा र विविधताले भरिएको मुलुक नेपालको संवृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।
अब मुलुकलाई सकेसम्म आत्मनिर्भर बनाउने बाटोतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले एक वर्षभित्र नेपाललाई विद्युत्भार कटौती मुक्त बनाउने उद्घोष गरे ।
“अब धेरै समय छैन, त्यसैकारण छिटो गर्नुपर्छ, स्वर्ग जाने भरयाङ बनाउने हैन, नेपाल फेर्ने बाटो चाहिँ बनाएरै छोड्छु । छोटो समयमा हामी केही गर्छौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पशुजन्य व्यवसाय वृद्धि, कपडाका लागि कपासको खेती, टेक्सटायल उद्योग स्थापनालगायतका कामलाई अघि बढाई औद्योगिकीकरण र आधुनिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउँदै जान्छौँ” –उनले भने ।
प्रधानमन्त्रीले अब हामीले ग्यासका चुलाभन्दा पनि बिजुलीका चुलातर्फ लाग्नुपर्छ, भन्दै मुलुकलाई एक वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।
उनले भने– “इन्धनको विकल्पमा काठमाडौँ उपत्यकामा भरपर्दो ढङ्गले अध्ययन गरी मेट्रो रेल, ट्रली बस, विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्छ । हामी अब पूर्व–पश्चिम राजमार्गलाई चौडा गरी छ लेनको सडक बनाउँछौँ, चतरादेखि सिन्धुलीसम्म अर्को सडक बनाउँछौँ, फिल्मसिटी, आइटी सिटी र मोडर्न सिटी मस्र्याङ्दी, तनहुँ र लमजुङको आसपास बनाउँछौँ, त्यतिमात्र होइन उत्तरी क्षेत्रका सबै नाका खुलाउँछौँ ।”
प्रधानमन्त्री ओलीले मध्यपहाडी राजमार्गलाई बढाई काठमाडौँ आसपासका जिल्लामा तरकारी खेतीको पकेट क्षेत्रका रूपमा विकास गरी, फलफूल खेती र नयाँ बस्तीको विकास गर्नेतर्फ उन्मुख हुने पनि बताए ।
नेकपा (एमाले) का अध्यक्ष पनि रहनु भएका प्रधानमन्त्री ओलीले अहिले अर्कै प्रकारको परिस्थिति रहेको र यो कठिनाइपूर्ण अवस्थामा नेपाली जनताले देखाएको देशभक्तिप्रति आभार प्रकट गर्दै जनताले पाएको दुःखकष्टबाट आफू मर्माहत भएको बताए ।
“हामी भारत विरोधी होइनौँ, नेपाल भारत विरोधी होइन, सरकार भारतको विरोधी होइन त्यस्तो सोच्न पनि सकिन्न । म भारतीय सरकारलाई आग्रह गर्न चाहन्छु, यति आत्मीय र मैत्रीपूर्ण भावना राख्ने नेपाली जनताको मर्मलाई तपार्इंहरूले बुझिदिनुस्, नेपाललाई ग्यास र इन्धन उपलब्ध गराइदिनुस् । भारतीय बुद्धिजीवी र त्यहाँका सञ्चार माध्यमलाई धन्यवाद दिन्छु, जसले नेपालीको पीडाप्रति सद्भाव देखाएर मानवीय भावना देखाउनुभएको छ” – उनले भने ।
प्रधानमन्त्री ओलीले तराईको नाकाबन्दीले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसले कसैलाई पनि फाइदा नहुने भन्दै आन्दोलनकारीका जायज मागलाई सम्बोधन गर्न सरकार लचिलो रहेकाले सहमतिमा आउन आग्रह गरे ।
उनले अहिले मुलुकमा देखिएको समस्या समाधान गर्न तीन प्रमुख राजनीतिक दल मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।
एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रेस तथा प्रकाशन स्वतन्त्रताको हकको प्रयोग गरी सञ्चारमाध्यमले स्वतन्त्र, सुरक्षित र जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले सबै जाति, समुदाय र वर्गको हक अधिकारलाई सम्बोधन गरेकाले यसको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याए ।
“हाम्रो संविधान नमुना संविधान हो, संविधानसभाको अत्यधिक ठूलो समर्थन पाएको र संसारले समर्थन गरेको संविधान जारी भएको छ, यसलाई अक्षरशः कार्यान्वयन गरेर परिवर्तनको फल जनतालाई चखाउने महत्वपूर्ण घडीमा छौँ, अर्थात देशलाई विकास र समृद्धिको गतिमा लगेर जनतालाई सम्पन्न बनाउने महत्वपूर्ण समयमा हामी छौँ ”, मन्त्री राईले भने ।
“म सञ्चारकर्मीलाई आग्रह गर्न चाहन्छु, संविधानको गुदी, मर्मलाई बुझी आत्मसात् गरेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र मुलुकको सार्वभौमिकतालाई अक्षुण्ण राख्दै छिटफुट रूपमा देखापरेका गलत भावना, विचार र भड्काउवादी चिन्तनलाई निर्ममतापूर्वक प्रहार गरी जनताको सपनालाई साकार पार्नेगरी सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ” – उनले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले संविधान जारी गर्न सहमति गरेका राजनीतिक शक्तिहरू फेरि पनि एक ठाउँमा उभिएर संविधानको व्यावहारिक कार्यान्वयनतर्फ एकजुट हुनुपर्नेमा जोड दिए ।
टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने र प्रबन्ध निर्देशक रामकुमार बस्नेतले हिमशिखर टेलिभिजन विविध चुनौतीलाई पार गर्दै राष्ट्रिय प्रसारणको पहँुचमा पुगेको भन्दै अझ जिम्मेवारीका साथ अघि बढ्ने बताए ।
कार्यक्रममा कानुनमन्त्री अग्नि खरेल, विज्ञान प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानको पनि उपस्थिति थियो । विसं २०६७ कात्तिक १९ गते आफ्नो प्रसारण शुभारम्भ गरेको हिमशिखर टेलिभिजनले २०७१ फागुन १८ गतेदेखि राष्ट्रव्यापी प्रसारण सुरु गरेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा