
पेरिस । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहलहरू अस्पष्ट र विरोधाभासी देखिएका छन् । इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाले युद्धको दिशा अझ अनिश्चित बनाएको छ ।
इजरायली सेनाले बिहीबार इरानका विभिन्न स्थानहरू, विशेषतः इस्फहानजस्ता केन्द्रीय सहरहरूमा आक्रमणको लहर चलाएको जनाएको छ । यसको जवाफमा इरानले प्रक्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो । यस क्रममा काफ्र कासेम क्षेत्रमा दुई जना सामान्य घाइते भएको चिकित्सकहरूले बताएका छन् ।
युद्धको उद्देश्यबारे पनि नयाँ बहस सुरु भएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमार्फत स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय युद्धको केन्द्रमा सरेको सङ्केत गर्नुभएको छ । सो जलमार्ग बन्द हुनु अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा ठूलो असर पार्ने भएकाले यसको रणनीतिक महत्त्व उच्च छ ।
युद्धको असर विश्व अर्थतन्त्रमा समेत देखिएको छ । तेलको मूल्यमा वृद्धि भएको छ भने सेयर बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । ब्रेन्ट क्रुडको मूल्य एक प्रतिशतले बढेर १०३.२५ डलर प्रति ब्यारेल पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट १.२ प्रतिशतले बढेर ९१.४१ डलरमा कारोबार भइरहेको छ । एसियाली बजारमा उतारचढाव देखिँदा लगानीकर्ताहरू सम्भावित कूटनीतिक समाधानको प्रतीक्षामा छन् ।
चीनले भने परिस्थिति सुधारतर्फ सानो आशा देखिएको जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले टर्की र इजिप्टका समकक्षीसँगको संवादमा इरान र अमेरिका दुवै वार्तामा फर्कन इच्छुक देखिएको सङ्केत गर्नुभएको छ । तर यो दाबी अन्य पक्षहरूको भनाइसँग मेल खाँदैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार इरानी वार्ताकारहरू आफ्नै पक्षबाट जोखिममा पर्न सक्ने डरले खुलेर कुरा गर्न सकिरहेका छैनन् । तर इरानका विदेशमन्त्री अब्बास अराघचीले स्पष्ट रूपमा वार्ता अस्वीकार गर्दै वर्तमान नीति ‘प्रतिरोध’ मा आधारित रहेको बताउनुभएको छ । उहाँले वार्ता गर्नु भनेको हार स्वीकार्नु सरह हुने धारणा राख्नुभएको छ ।
यसबीच अमेरिकाले इरानको सैन्य क्षमतामा ठुलो क्षति पु¥याएको दाबी गरेको छ । अमेरिकी सेनाका अधिकारीका अनुसार इरानका दुई तिहाइ मिसाइल तथा ड्रोन उत्पादन संरचना ध्वस्त पारिएको छ र आक्रमण क्षमतामा ९० प्रतिशतसम्म गिरावट आएको छ ।
क्षेत्रीय तनाव थप बढाउने घटनाहरू पनि भएका छन् । कुवेतले इरान समर्थित हिजबुल्लाहसँग सम्बन्धित रहेको आरोपमा छ जनालाई पक्राउ गरेको छ, जसले देशभित्र आक्रमणको योजना बनाइरहेका थिए । उता इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले केही शत्रुहरूले क्षेत्रीय सहयोगमा इरानी टापुहरू कब्जा गर्ने योजना बनाइरहेको चेतावनी दिनुभएको छ ।
खाडी क्षेत्रका देशहरू—साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र जोर्डन—ले संयुक्त वक्तव्य जारी गर्दै इराकलाई आफ्नो भूमिबाट इरान समर्थित समूहहरूद्वारा हुने आक्रमण रोक्न आग्रह गरेका छन् ।
यसैबीच, लेबनानस्थित हिजबुल्लाह समूहले इजरायलसँग कुनै पनि युद्धविराम वार्ता अस्वीकार गरेको छ । समूहका प्रमुख नइम कासिमले यस्तो वार्ता आत्मसमर्पण बराबर हुने बताउनुभएको छ । समूहले पछिल्लो दिन ८० भन्दा बढी आक्रमण गरेको दाबी गरेको छ भने दक्षिण लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
विपरीत दाबीहरूको बीचमा अमेरिकी पक्षले भने वार्ता जारी रहेको जनाएको छ । ह्वाइट हाउसका अनुसार अमेरिका र इरानबीच संवाद भइरहेको र त्यसले केही प्रगति समेत देखाएको छ, यद्यपि यसको विवरण पूर्ण रूपमा सार्वजनिक गरिएको छैन ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे