
लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको प्रतिभा सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानले वरिष्ठ कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान-२०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार- २०२५’ प्रदान गर्ने निर्णय गरेको शनिबार १८ अक्टुबरमा जारी विज्ञप्तिमा उल्लेख छ । विशिष्ट सम्मानमा नगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख राशि र ताम्रपत्र रहेको छ ।
विशेष परिस्थितिमा मात्र विशिष्ट सम्मानको व्यवस्था गर्दै आएको प्रतिष्ठानले प्रस्ट पारेको छ । यसअघि संस्थाले वरिष्ठ कवि बैरागी काइँलालाई मात्र विशिष्ट सम्मानले सम्मानित गरेको जनाएको छ ।
विसं २००२ साउन १७ गते मैचुङगाउँ, बुइपा–६, खोटाङमा जन्मेका जसराज किराती बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको पहिलो कृति ‘उज्यालो खोज्ने आँखाहरू’, कवितासङ्ग्रह, २०३६, ‘जसराज किरातीका कविता’, कवितासङ्ग्रह, २०५७ र ‘जसराज किरातीका प्रतिनिधि कविताहरू’ कवितासङ्ग्रह, २०६४ प्रकाशित छन् ।
नेपालमा छापाखानाको विकास राम्ररी नहुँदै उहाँले हस्तलिखित साहित्यिक पत्रिका गोरेटो २०२० सालमा सम्पादन गर्नुभएको थियो । यसैगरी ‘अर्धचन्द्र’ दैमासिक २०२०, ‘आक्रोश’ २०२६ र ‘हलेसी पुञ्ज’ २०४१ सालमा प्रकाशित पत्रिकाहरू किरातीको सम्पादन रहेका छन् । छ दशकसम्म लगातार नेपाली कविता लेखनमा उहाँको अतुलनीय योगदानको कदर गर्दै किरातीलाई विशिष्ट सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मेकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएको छ । ४४ वर्षीया चौधरीले आरआर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्यायन पूरा गर्नुभएको छ । उहाँको ‘धाराक विरूद्ध’कवितासङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कर्फ्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कवितासङ्ग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् ।
चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथासङ्ग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।
यस्तै विश्वेश्वरप्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा मधेश, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गर्नुभएको छ ।
यसैगरी उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गर्नुभएको छ ।
चौधरी र किरातीलाई आगामी मंसिरमा काठमाडौंमा कार्यक्रम गरी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।
उक्त संस्थाबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीबी लुगुन, भक्तराज आचार्य, प्रा. डा. गोविन्दराज भट्टराई, बूद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा कृष्णहरि बराल, दिप श्रेष्ठ, गणेश रसिक र राजेश्वर थापा सम्मानित भइसक्नुभएको छ ।
यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ, बिमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाखीन र प्रदिप मेन्याङ्बो, सन्ध्या सुब्बा (सिङजाङगो) पुरस्कृत भइसकेका प्रतिष्ठानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श