टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरु’ मा पौडँदा

टंक वनेमलाई मैले अक्षरमार्फत नै चिनेँ । बेलायत आउनुपूर्व म नेपालबाटै बेलायतबाट प्रकाशन हुने ‘युरोपको नेपालीपत्र’ साप्ताहिकका लागि काम गर्थें । नेपालमा त्यो पत्रिकाको प्रकाशित कपी अलि ढिलो गरी पुग्ने गर्थ्यो तर पिडीएफ कपी भने अलि चाँडो हेर्न पाइन्थ्यो । त्यसरी सोही पत्रिका हेर्ने, पढ्ने क्रममा उनलाई मैले पहिलोपटक साक्षात्कार गर्ने मौका पाएको हुँ–उनको एउटा संस्मरण ‘मिचिरिङ गाऊँको मिरमिरे घाम’ मार्फत । हुनत पत्रिकामा सयौँ सामग्री प्रकाशित हुन्थे–समाचार, साहित्य, विचार आदि इत्यादि । ती सामग्रीहरुको भीडमा उनको संस्मरण अविष्मरणीय हुनुको कारण मेरो जरो त्यही मिचिरिङ गाउँमा जोडिनु थियो ।
सन् २०१० मा बेलायत आएपछि पनि पत्रकारितासित आवद्धता कायमै रह्यो मेरो । यसै माहौलमा सामाजिक कार्यक्रमहरुमा वनेमसित प्रत्यक्ष भेटघाट जुर्यो । हाम्रो भेट हुनुअघि नै वनेमका दुई कविता संग्रहहरु ‘साँघुरी र बुढासुब्बा’ र ‘पेन्जिरी पेन्मिक्हा’ प्रकाशन भइसकेका थिए । ‘साँघुरी र बुढासुब्बा’ खस नेपाली भाषामा थियो भने ‘पेन्जिरी पेन्मिक्हा’ लिम्बू नेपाली भाषामा । त्यसयता पनि बेलायतको ब्यस्त जीवनका बीच केही समय चोर्दै (शायद त्यो समय उनले निन्द्राबाट, सामाजिक भेटघाटबाट, घरबिदाबाट, परिवारबाट चोरेका होलान्) उनी एकपछि अर्को कृतिहरु जन्माइरहेछन् । ‘संगीनको मुच्र्छना’ कविता संग्रह र हेर्दा नै भीमकाय देखिने ऐतिहासिक खोज अनुसन्धानमूलक कृति ‘सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम’ यसक्रममा थपिए । उनै वनेमको पछिल्लो कृति ‘सुदूर विस्मृतिका बिम्बहरु’ गतवर्ष प्रकाशित भएको छ ।
पुस्तकको नामबाट नै कृति संस्मरणसित जोडिएको लख काट्न सकिन्छ । पुस्तकमा ३९ वटा संस्मरणहरु समावेश छन् । जसमा बाबुको आँखा र माख्रिङचोक फूल, चौँरीको लस्कर हेर्दै छुर्पी खाने रहर, जान्छु मात्र भन न बाटुला, असिना तर्काउने लामा र वनझाँक्री, अम्बिका साँवा र हस्तलिखित टिप्पणी, बहुती बज्यै, बुद्धिमान दाइको सम्झना र लालिपातलको विनाश, चङ्खे र दुम्सेको सिकार र लाः प्साबा, ग्राङदेनको घरमाथि छत्राङ्गै उभेको रुख, पञ्चमी डाँडाको एक्ले वर, लमही र दमाईचरो, मधुसुदन सरको खैनी र उत्तीसको हाँगाबाट लडिझरेको सम्झना, माप्म्याँ खोलोको उर्लदो बाढी र मालुम्मेवनको निङवासो हामलाक्वा, नागेश्वरी र नागदेवता, सम्झनाका पुरेतबाजे र समय, काफलचरीको लोकभाका रहेका छन् । यस्तै, सिमलको भुवा र माटोको शिर, सोनाक्वाः र माक्मियःङ्ना, स्याउथानको राँकेभुत, ठूली दिदी, अनुहारका चोटहरु र देविथाने काइँलो, त्यो साँझ र आमाको कथा, राँके बजारको फौदारी, संस्कारित अपशकुन, मिचिरिङ गाउँको मिरमिरे घाम, पाण्डोरा डायरीको अदैत्य अनुहार, स्वीताउको पाखोमा युद्धको पहिलो पाइलाता, मौरीको घार र बाबुको सुरो गुलेली, निलो आकाशको सर्वाङ्ग र महाभारतको युद्धकथा, युद्ध गर्न सिकाउने गुरुजीको कविता मोह, जनकलाकारहरुको गीत र ट्याक्सी ड्राइभरको सम्झना, लालीगुराँसको फूल र सम्झनाको ढाकरमाथि तेर्सिने धाननाचका सम्झनाहरु, एकदिन नदी किनारसँग जिस्कँदा शीर्षकमा उनका सम्झना कृतिमा छन् ।
प्रतिभा प्रतिष्ठानको कार्यक्रम र अस्वीकृत साहित्य, महागुरु फाल्गुनन्दको तस्वीर र टीका नलगाउनुको सजाय, परेवाको मृत्यु र घरबारविहीन अङ्ग्रेज नागरिकहरु, संयोगको मित्रता र अविष्मरणीय सम्झनाहरु, भुइँचालो, भ्रष्टाचारी नेता र मृत्युबाट उम्केका एपिसोडहरु, क्लाउड लेभि–स्त्राउसको मिथक दर्शन र गिर्बोहरुका रहर, सिन्धोलुङ फागो वनेम वंशावलीः इतिहासको चोत्लुङ, यात्रा र पुराना कागजहरु भित्र उनका बाँकी स्मरण कैद छन् ।
पुस्तकको मुख्य अंश लेखक जन्मे हुर्केको नेपालको पूर्वी पहाडको सँस्कृति, प्रकृति, इतिहास, लेखनका बेलाको तत्कालिन जनजीवनमा केन्द्रीत छ । जसमा लिम्बु सँस्कृति, परम्परा, लोककथा, किम्वदन्ती, एक अर्कामा मौखिक रुपमा सर्दै आएका कथाहरुको उल्लेख्य प्रयोग गरिएको छ । शहर र प्रवासमा जन्मे हुर्केकाहरुका लागि वनझाँक्री, राँकेभूत, शिकारी, सोक्पा, असिना रोक्न सक्ने लामाहरु, झाँक्री, बिजुवाहरु नौलो लाग्न सक्छ । तर्साउने अदृश्य शक्तिहरु, गएको सातो बोलाएर सञ्चो बनाउनेहरु, सामान ओसारपसार गर्ने चौँरीका हुलहरु, खर्कमा पशुपालन गर्नेहरु के अझै होलान् ? कतिपयले आलोचना गर्ने डोजरे विकासले अब त तोक्मा र ढाकरहरुलाई लोप बनायो होला कि ट्याक्क ट्याक्क गर्दै होला ? मेला, जात्रा, हाटबजार, कन्दमूल, जडीबुटी, नाचहरु के भए होलान् ? आफू पनि सोही भूगोलमा जन्मे हुर्केको हुनाले पुस्तक पढ्दा आफैँले भोगेको, सुनेको कयौँ सन्दर्भहरु आँखामा, मस्तिष्कमा भल्झली नाचे । अनेकौँ जिज्ञासाहरु एकपछि अर्को गर्दै वर्षातमा उठेका पानीका फोका जसरी उठे ।
पुस्तकको अर्को पाटो लेखक बेलायती सेनामा भर्ती भएपछि हङकङ, बेलायत लगायतका भूगोलमा गरिएका स्मरण छन् । जसमध्ये आफूभन्दा कनिष्ठ गोरखाहरुलाई सजायँस्वरुप कविता लेख्न लगाएको र पण्डितबाट टीका नलगाउनेहरुको नाम दिन नसक्दा सजायँ भोग्नुपरेको स्मरणले पृथक महसुस गरायो । किनकि पल्टनमा कविता, साहित्य लेख्दा सजायँ भोग्नुपरेको कतिपय सैनिकहरुको स्मरण यसअघि पढ्न पाइएकोमा वनेमको स्मरणमा भने आफूले सजायँवापत कनिष्ठ सिपाहीँहरुलाई कविता लेख्न लगाएको उल्लेख छ । उता पण्डितको हातबाट टीका नलगाएको घटनाले भने एकातिर पण्डितको टीका अवज्ञा गर्नसक्ने सैनिकहरुको दृढतातर्फ र अर्कोतर्फ टीका नलाउँदैमा सजायँसमेत भोग्नपर्ने अवस्थाले कसरी क्रिश्चियन धर्मावलम्बीहरुको बहुसंख्या भएको बेलायतको गोरखा सैन्यमा हिन्दू धर्मको प्रभाव जमाएकोछ भन्ने बारेमा सोच्न बाध्य तुल्यायो ।
लेखनका हिसाबले वनेमका संस्मरणहरु केवल घटना, पात्र, स्थानमा मात्र सीमित छैन । उनी सियो भएर भित्र छिरेर गहिराईसम्म पुग्छन् । उदाहरणका लागि हाङपाङ गाउँमा एउटा विवाहमा सहभागी भएको घटनाबाट प्रवेश गरेर उनी नेपालको खसआर्य समाजमा महिलामाथिको शोषणमात्र उजार गर्दैनन् बरु अरु समाजसित त्यसलाई दाँजेर हेर्छन् । त्यतिमा मात्र उनी सीमित हुँदैनन् नेपाल तथा दक्षिण एसियामै जातीय छुवाछुतको सन्दर्भमा उठाउन भ्याउँछन् । उनले केवल स्मृतिका पुराना सन्दुक मात्र खोलेका छैनन्, वनस्पतिदेखि धर्मशास्त्र अनि दर्शनशास्त्रसम्मको गहिरो अध्ययन गरेर तिनीहरुलाई सन्दर्भअनुसार संस्मरणका विभिन्न थुँगामा उनले तर्कलाई बलियो बनाउन मालामा उनेका छन् ।
उमेरले नेटको काट्दै गएपछि मलाई पनि बेलाबेला पुराना कुराको बिस्कुन सुकाउँदा आनन्द लाग्छ । ‘जो भयो, सकियो, अब अघि हेर्, बढ्’ भनेर पुराना सम्झनाबाट फुत्त बाहिर निस्कन नसक्नु नै मेरो कमजोरी हो कि भन्ने प्रश्न आफैँसँग गरिरहेको बेला वनेम भने पुस्तकमा भन्छन्–“माटोको माया गर्दै अतीत सम्झने मान्छेहरु बेकामे मान्छे भइन्छ जस्तो लाग्दैन । मेरो अतीत मेरो जीवनका लागि एउटा महत्त्वपूर्ण पाठशाला थियो । ……अतीतलाई भुलेँ भने म पनि जराबिनाको रुख जस्तै अतीत बिनाको बाल्यजीवन बाँचेको हुनेछु ।”
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रकाशन गरेको ४३२ पृष्ठको सो पुस्तकको मूल्य ५५० रपियाँ रहेको छ । पुस्तक मोटो भएकाले यसको संरचनामा अलिक ध्यान दिइएको भए पुस्तक अझै पठनीय बन्न सक्ने थियो ।

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री