कानुन र व्यवहारमा एकरुपता ल्याउन कठिन

लेखक सुरेन्द्र श्रेष्ठ

अविकसित र अल्पविकसित देशहरुबाट सम्पन्न र विकसित राष्ट्रहरुमा यो वा त्यो बहानामा धेरै मानिसहरु मुख्यत अर्थ उपार्जनका लागि जाने गर्दछन् । समय गुज्रँदै जाँदा धेरैजसोले स्थायी रुपमा त्यही देशहरुमा जीवन बिताउँछन् । त्यसो त जीवनशैलीको रूचिका कारण कतिपय मानिसहरु भौतिक सुख सुविधा त्यागेर प्राकृतिक जीवनयापन गर्न विश्वका कैयन गरिब मुलुकहरुमा पनि जाने गर्दछन् । जहाँ गए पनि आफूले सोचेअनुसार जीवन व्यतित गर्न पाउने उद्देश्य बोकेका हुन्छन् । केही मानिसहरु जहाँ पुगे पनि आफ्नो गलत मानसिकतालाई सुधार गर्न आवश्यक ठान्दैनन् । परिस्कृत समाजको बनावटलाई कुनै ख्याल नराखी आफ्ना आपराधिक इच्छा आकांक्षाहरु पूरा गर्न तल्लीन हुन्छन् । हुन त अपराध नहुने समाज हँुदैन । जति सम्पन्न र सुसंस्कृत समाज हुन्छ त्यति धेरै अमानवीय र पाशविक अपराधहरु घट्ने गर्दछन् ।
यो हप्ता बेलायतमा घटेको एउटा घटनाले सबैको ध्यान खिचेको छ । सरकार, न्यायालय मात्र हैन स्थानीय चर्चको पनि कमी कमजोरीहरु पर्दाफास भएका छन् । यति बलियो र बिधियुक्त प्रणालीको बाबजुद पनि त्यो घटना घटाउने मानिस पक्राउ गर्न सकिएको छैन । उनलाई सहयोग गर्ने मानिससम्म पुगेर पनि भेटिन सकेको छैन । अनेकन ठाउँमा पुगेको सीसीटिभी फुटेजहरू सार्वजनिक गरिएका छन् । गिरफ्तार गर्न सुराकी दिनेलाई २० हजार पाउण्ड पुरस्कार घोषणा गरिएको छ ।
दक्षिण लण्डनको लेसर एभेन्यू, क्लाफाम कमनमा गत बुधवार जनवरी ३१ को साँझ करिब साढे सात बजेतिर लगभग ३५ वर्षको एक युवकले एक महिला र दुई छोरीमाथि आक्रमण गरेको थियो । एक आपसमा परिचय भएको मानिने ती युवा अफगानी हुन् । ती महिलासंग केही समयदेखि विशेष सम्बन्ध भएको र सबै जना लण्डन जाने भनेर उनले शुरुमा तीन वर्षको बालिकालाई आफ्नो गाडीमा राखेका थिए । त्यस पछि उनीहरु बीच केही समस्या भएको र आमा चाहिँले प्रतिकार गरेर गुहार मागेपछि वरिपरिका छिमेकीहरु आएर सहयोग गरेपछि बच्चालाई गाडीबाट सडकमा फालिदिएका थिए । आमा र ठूली छोरी माथि एसिड जस्तो रसायनिक पदार्थ छ्यापेका थिए । आमा चाहिँले मेरो आँखा भनेर चिच्याई रहेका थिइन् । आक्रमणकारी गाडी लिएर भाग्न खोज्दा अर्को बिसाइ रहेको गाडीमा ठोक्किए पछि भने गाडी त्यहीँ छाडेर भागेका थिए । एक जना छिमेकीले समात्न लखेटेका थिए तर आफूले चप्पल लगाएकोले दौडिन नसकेर फर्केको उनले बताएका थिए । उनीहरुलाई उपचारको लागि हस्पिटल लगिएको र आमा चाहिँको आँखा देख्न नसकिने गरी क्षति पुगेको बताइएको छ ।
प्रहरीले रातभरि हवाई गस्तीबाट उनको खोजी गरेको थियो । यस घटनामा पाँच प्रहरीसहित १२ जना घाइते भएकाले अस्पताल लगिएको थियो । सामान्य औषधि उपचारपछि आमा र दुई छोरीहरु बाहेक सबै घर फर्किसकेका छन् । प्रहरीले बच्चाहरुसंग सोधपुछ गरे पनि आमा भने बोल्न सक्ने अवस्थामा नभएको कारण घटना बारे थप जानकारी पाउन सकिएको छैन ।
प्रहरीले खोजी गर्ने क्रममा उनलाई विभिन्न स्थानको सीसीटिभीमा फेला पारेको छ ्। उक्त दिन बिहान सबेरै करिब २८० माइल टाढाको शहर न्युक्यासलबाट उनी लन्डन आफ्नै गाडीमा आएका थिए । बिहान करिब ६.३० बजे उनी टुटिङ क्षेत्रमा देखा परेका थिए । क्रोयडनमा लगभग दिउासो ४.३० बजे उनको गाडी देखिएको थियो । लगभग ७.०० बजे उनी स्ट्रिथममा पुगेका थिए । बेलुकी ७.२५ बजे आक्रमण गरेर भाग्न खोज्दा एउटा रोकी रहेको गाडीमा ठोकिएको कारण गाडी छाडेर भागेको करिब पाँच मिनेट पछाडी क्लाफाम साउथ स्टेशनबाट भूमिगत रेल चढेका थिए । ८.०० बजेतिर उनी किङ्ग क्रस स्टेशन पुगेका थिए भने ८.४२ मा क्यालेडोनियन रोडमा रहेको टेस्कोको सिसिटिभीमा देखिएका थिए । उनको अनुहारको दाहिने पट्टि निकै ठूलो चोट लागेको देख्न सकिन्थ्यो । ९.०० बजे रातितिर उनलाई भिक्टोरिया लाइनको ट्यूबमा देखिएको थियो । केही स्थानहरुसहित ९.४७ तिर क्यानोन स्ट्रिट नजिक देखिएको थियो भने अन्तिममा ११.३० तिर चेल्सी पुल नजिक देखिएको थियो । त्यसपछि भने उनी कतै देखिएको छैनन् । प्रहरीले उनी थेम्स नदीमा डुबेर मरेको हुनसक्ने भनेर व्यापक खोजी गरिहेको भए पनि अहिलेसम्ममा थप केही प्रमाण भेटिएको छैन । उनको लाश केही समयमा पत्ता लाग्न पनि सक्ने छ वा कहिल्यै पनि फेला नपर्न पनि सक्छ ।
बिहीबार प्रहरीले आक्रमणकारी ३५ वर्षीय अब्दुल शोकुर एजेदी रहेको सार्वजनिक गरेको थियो । उनी सन् २०१६ मा अफगानिस्तानबाट विभिन्न देशहरु हँुदै यहाँ ठूलो ट्रकमा आइपुगेका थिए । उनले बेलायत आउने बित्तिकै शरणको लागि आवेदन दिएका थिए तर उनी सफल हुन सकेनन् । त्यसपछि उनले इस्लाम धर्म त्याग गरेर इशाई धर्म ग्रहण गरे । यही आधारमा यदि आफू देश फर्केमा ज्यान सजाय हुन्छ भनेर पुनः आवेदन दिएका थिए । यसलाई पनि गृह मन्त्रालयले स्वीकार नगरे पछि पुनरावेदन लिएर अदालत (ट्राइबुनल )पुगे जहाँ उनलाई सन् २०२० मा जिताई दियो र कानुनी रुपमा यही देशमा बस्न पाइने अधिकार मिल्यो ।
सन् २०१८ मा एजेदीलाई यौन दुव्र्यवहारको एक आरोप र एक्सपोजरको (यौनाङ्ग देखाउने) एक अभियोगमा दोषी ठहर गरिएको थियो । उनले यौन दुव्र्यहार गरेको प्रमाणित भएपछि नौ हप्ताको जेल सजाय पाए पनि त्यसको बदलामा बिना तलब सार्बजनिक काम गरे हुने तर एक्सपोजरको अभियोगमा भने ३६ हप्ता कैद बस्न पर्ने र दुवै अभियोगमा दुई वर्ष निलम्बित गरिएको थियो । दुई वर्ष पछाडी सन् २०२० मा इजेडीलाई प्रोबेशन सुपरीवेक्षणबाट डिस्चार्ज गरिएको थियो ।
यो घटना पछाडी अहिले बेलायती जनताहरुले त्यस्तो अपराधीलाई किन र कसरी शरणार्थीको मान्यता दिइयो भन्ने प्रश्न गरेका छन् । शरणार्थीको दर्जा पाएकाहरुले समेत यस प्रकारका जघन्य अपराध गरेमा सम्बन्धित देशमा पठाउन सकिने व्यबस्था छ । तर अपराध गरेर सजाय भोगिसकेकालाई धर्म परिवर्तनको नाममा यस्तो सहुलियत दिइनु शरणार्थी सम्बन्धि कानुनको गलत उपयोग भएको प्रमाण हो भनिएको छ । कुनै मानिस शरणको लागि धर्म परिबर्तन गरेर प्रत्येक आइतबार चर्चमा जानुलाई मात्र आधार मान्नु गल्ति साबित भएको छ । पछि के गर्ला भनेर अड्कल काट्नु एउटा विषय होला तर अपराध नै गरिसकेकालाई यसरी बेलायतमा बसोबासको अनुमति दिंदा समाजलाई नै हानी पुगेकोले यस विषयमा थप चनाखो हुनपर्ने आवाज उठेको छ । अहिलेसम्म धार्मिक आधारमा कति जनाले शरण पाएका छन् भन्ने तथ्यांक गृह मन्त्रालयसंग पनि देखिदैन । यस घटना पछाडी आन्तरिक मूल्यांकनको लागि के कतिले शरण पाएका छन् त्यसको दुरुस्त रेकर्ड राख्न गृह मन्त्री जेम्स क्लेभर्लीले निर्देशन दिएका छन् ।
वेमाउथ डोर सेटको एक चर्चमा त्यहाँ नजिक निर्माण गरिएको शरणार्थीहरुको आवासमा रहेका चालिस जनाले धर्म परिवर्तन गर्ने आवेदन गरेको बताइएको छ । चर्चका मुख्य गुरु डेविड रीजले धर्म परिवर्तन गर्नको लागि लामो प्रक्रिया पूरा गर्नु पर्ने,परीक्षा दिन पर्ने, जीससलाई मार्ग दर्शक मान्न पर्ने र आफूले नयाँ जीवन जिएको विश्वास सम्बन्धित मिनिस्टरलाई दिलाउन पर्ने हँुदा त्यति सहज विषय नभएको बताएका छन् । अफगानी नागरिकहरुलाई भने फारसी भाषा जान्ने मिनिस्टरबाट अनुवाद गरिदिने चलन पनि रहेको छ । यस अगाडी सन् २०२१ मा लिभरपुलमा महिला हस्पिटल अगाडी आत्मघाती बम पड्काउने इमाद अल स्वेएलमीन पनि धार्मिक आधारमा शरण पाएका व्यक्ति थिए ।
एक अर्को बर्बरतापूर्ण घटनाका अपराधीलाई पनि पाँच बर्षको कानुनी बसोबास गर्न दिएको फैसलामाथि अहिले जाँचबुझ भैरहेको छ । सन् २०२०को जुन २० मा बेलुकी करिब सात बजे बर्कशायरको रिडिङस्थित फोरबरी गार्डेनमा मनपरी चक्कु प्रहार गर्दा तीन जनाको मृत्यु भएको थियो । अन्य तीन जना गम्भीर घाइते भएका थिए। घटना घटेको केही समयमा २५ वर्षीय लिबियाली पुरुष शरणार्थी खैरी सादाल्लाहलाई पक्राउ गरिएको थियो । उनी लिबियाली लडाकू समूह अन्सार अल शरियाका पूर्व सदस्य थिए । सन् २०१२ मा लिबियाको गृहयुद्धबाट बच्नको लागि १७ बर्षीय युवा अवस्थामा उनी बेलायत आएका थिए । यहाँ आएपछि म्यान्चेस्टरमा बसोबास गर्दथे । आउने बित्तिकै राजनीतिक शरण मागे पनि सन् २०१८ सम्म कुनै निर्णय गरेको थिएन । मानवीयताको आधारमा उनलाई पाँच वर्ष थप बसोबास गर्ने अनुमति सन् २०१८ मा दिएको थियो।
सदालाहा सन् २०१५ देखि २०१९ सम्म १५ वटा अभियोगमा छ पटक दोषी ठहर भएका थिए । जसमध्ये आक्रमण, छुरा बोकेको तथा जातिय तथा धार्मिक छेडखान थियो । उनि लागूपदार्थ दुब्र्यसनी पनि थिए । उनी बारम्बार मानसिक सन्तुलन नभएको बहानामा डाक्टरकोमा पनि जाने गर्दथे । उनको सम्बन्ध जातिवादी समूह जिहादसंग पनि थियो । यसबारे उनलाई यहाको सुुरक्षा निकाय एम १५ ले पनि निगरानीमा राखेको थियो । सन् २०१७ मा जेलका कर्मचारीहरूले उनले प्रतिबन्धित समूह अल–मुहाजिरुनका अबु इज्जादीनसँग धेरै समय बिताइरहेकोमा सोधपुछ पनि गरिएको थियो । उनी धारिलो हतियारसहित आक्रमण गर्ने योजनाको अभियोगमा जेल सजाय काटेर छुटेको १७ दिन पछि यो भयानक घटना घटाएका थिए । यस अगाडिका घटनाहरुको आधारमा मात्र बेलायतले उनलाई लिबिया फर्काउने तयारी गरेको भए उनको मानव अधिकार उल्लंघन हुने थियो ।
बेलायतमा विशेषत निर्वाचनको सरगर्मी चलेपछि सबभन्दा बढी चर्चा आप्रबासीहरुको संख्या बारे हुने गर्दछ । त्यसमा पनि शरणार्थीहरुको सवालमा ब्यापक प्रश्नहरु उठ्ने गर्दछन् । साना डुङ्गाहरुबाट समुन्द्र तरेर बेलायत आउनेहरुको संख्यामा अधिक वृद्धि भएपछि त्यसरी आउनेहरुलाई रुवाण्डा पठाउने तयारी सरकारले गर्यो । तर अन्तिम अवस्थामा अदालतको आदेशअनुसार यो योजना शुरु हुन् सकेन । शरणको लागि बेलायत आउनेहरुलाई अन्य देशमा पठाउनु अन्तर्रास्ट्रिय कानुनले मान्यता दिँदैन । त्यसमा पनि रुवाण्डाको मानब अधिकारको अवस्था र कानुनलाई ब्यवहारमा प्रयोग गर्ने क्रममा थुप्रै शंकाहरु रहेकोले यहाँको सर्वोच्च अदालतले यो योजना अगाडी बढाउन दिएन । अहिले फेरि बेलायत र रुवाण्डा सरकार बीच नयाँ सम्झौता भएको छ । त्यसलाई कन्जरभेटिभ पार्टी भित्रका शीर्ष नेताहरुसहित थुप्रै सांसदहरुले बिमति जनाएका छन् । अहिले यस बारेमा अति सन्सनीपूर्ण खबर बाहिर आएको छ । बेलायतले सन् २०१३ देखि यता ३८ जना रुवाण्डियनहरुलाई शरणार्थीको मान्यता दिएको छ । त्यसमध्ये छ जना त् सन् २०२२ मा दुई देशबीच सम्झौता हस्ताक्षर र सर्वोच्च अदालतले त्यहाँ शरणको लागि उपयुक्त अवस्था छैन भनेर फैसला गरेपछि भएका छन् । यसले गर्दा जुन देशको नागरिकलाई आफ्नो देशले शरणार्थी मानेको छ त्यही देशमा अन्य देशहरुबाट आफ्नो देशमा शरण माग्न आउनेहरुलाई कसरी पठाउन सक्छ भन्ने बारे नैतिक रुपमा बेलायत सरकारले निकै अप्ठ्यारो अवस्था झेल्न परेको छ । कानुन र ब्यबहारबीच एक रुपता ल्याउन व्यक्तिलाई जस्तै विकसित र सम्पन्न देशहरुलाई पनि कठिन हुने साबित भएको छ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री