
वाशिङ्गटन डिसी (अमेरिका) । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गर्नुभएको छ ।
उहाँको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताउनुभयो ।
अमेरिकाको मूलधारको राजनीतिमा विगत एक दशकदेखि सक्रिय रहनुभएका डा ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई सङ्घीय इकाईतर्फ अगाडि बढाउनुभएको हो । कंग्रेसमेनको रुपमा उमेदवारी घोषणा गर्नुभएका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउनुहुने छ ।
यसपटक मेरिल्याण्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गर्नुभएकाले यसलाई खुला सिटको रुपमा लिइएको छ । ह्यारीले उमेदवारी दिन लाग्नुभएको स्थान उहाँले डेलिगेटमा दुई पटक विजयी भइसक्नु भएको स्थानमा पर्दछ । तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिसमेत हुनु भइसकेको छ । तर डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ ।
त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्नुहुनेछ भन्ने विषय पनि पेचिलो रहने छ । ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ ।
नेपाली समुदायको आपत् विपत्मा सदैव अग्रपङ्क्तिमा रहेर समुदायको हितमा अहोरात्र खटिनुहुने ह्यारीले राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्भाव प्राप्त गर्नेमा म विश्वस्त छु ।
ह्यारीले डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ । कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोराना महामारीको बेलामा दिवङ्गत हुनुभएका नेपालीको शव व्यवस्थापनमा ह्यारी र उहाँको टोलीले भूमिका निर्वाह गरेको थियो ।
ह्यारीले नेपालीहरुको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याउनु भएको दसँै बिल मेरिल्याण्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोवर ५ तारिखलाई दसँै डे भनेर समेत मनाउन थालिएको छ ।
नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याउनु भएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउँदै आउनु भएको छ । नेपाली मूलका व्यक्तिले अहिलेसम्म सङ्घीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन् ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा