याक्थुङ साहित्य र मुन्धुमबारे सालबारीमा दुई देशीय विमर्श

सालबारी (पश्चिम बंगाल) । पछिल्लो समय साँस्कृतिक पहिचानको कुरा भाषा र साहित्यमा प्रवेश गरेको छ ।
बहस नेपालमा मात्रै सीमित नभई छिमेकी मुलुकहरूमा समेत पुग्न थालेको छ ।
नेपाल र भारतका लेखक एवम् साहित्यकारहरूले दुई देशमा विकसित भएको याक्थुङ लिम्बु साहित्य र मुन्धुमबारे आफ्ना धारणाहरू राखे ।
गत शनिबार सालबारीस्थित क्याफे दी ट्विन्समा आयोजित ’भारत–नेपाल लिम्बु साहित्य र मुन्धुम विमर्श’मा बोल्दै कालिम्पोङका साहित्यकार डा. ज्ञानेन्द्र यक्सोले सिक्किम, दार्जिलिङ, कालिम्पोङका क्षेत्रबाट याक्थुङ भाषा, लिपि, साहित्य, सङ्गीतका क्षेत्रमा उल्लेख्य काम भएको बताए ।
‘खासगरी सिक्किम, कालिम्पोङ, दार्जिलिङबाट याक्थुङ भाषा, लिपि, साहित्यसँगै मुन्धुम सङ्कलनमा काम भएका छन् । पाठ्यक्रम बनेका छन् । सयौँ पुस्तकहरू छापिएका छन्,’ उनले भने,‘यसका अलावा साहित्यिक आन्दोलनहरूमा समुदायको साँस्कृतिक मान्यता समेत दर्ज भएका छन् ।’
उनले मुन्धुममा भएका विम्ब, चरित्र मात्रै नभएर कथाहरूलाई पनि विभिन्न विधामा उन्नुपर्ने धारणा राखे ।
डा. यक्सो ’दाहिने बाटो’ कविता कृतिका सर्जक र समावेशी साहित्यिक आन्दोलनका प्रवर्तक पनि हुन् ।
त्यस्तै, नेपालबाट वक्ताका रूपमा आएका कवि एवम् साँस्कृतिक अभियन्ता अमित थेबे ’मिहाङ’ले याक्थुङ भाषा, साहित्य र मुन्धुम विश्वकै सम्पदा भएको यसका लागि संकलन, अनुवादमा अझै काम गर्नुपर्ने बताए । उनले मुन्धुमलाई साहित्यमार्फत् ल्याउने सक्ने विश्वदृष्टिकोण, दर्शन निर्माण र समतामूलक समाज निर्माणमा योगदान पुग्नसक्ने विश्वास व्यक्त गरे ।
‘मुन्धुमले सम्पूर्णताको कुरा गर्छ । मानवसँगै प्रकृति र अन्य जीव, प्राणी, वनस्पतिहरूसँगको अन्तरसम्बन्धको वकालत गर्छ । यसले सहअस्तित्वको दर्शन बोकेको छ,’ उनले भने, ‘कम्तीमा सार्कस्तरमा हामीले याक्थुङ सौन्दर्यशास्त्र र मुन्धुमी साहित्यलाई अगाडि बढाएर दुई देशकै साहित्य समृद्ध हुने थियो ।’
गत वर्षका पहिचान साहित्य पुरस्कारका विजेता थेबेले पूर्वी नेपालसँगै दार्जिलिङ र आसपासका क्षेत्रहरू साहित्यमा सधैं नेतृत्वकारी भूमिकामा रहेको जनाए ।
लेखक थेबेले अर्जुनबाबुु माबुहाङसँग मिलेर ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिङ चेम्जोङको लेखोट’ समेत लेखेका छन् । जुन सिक्किम अल्पाइन विश्वविद्यालयको पाठ्यक्रममा समावेश भएको छ ।
त्यस्तै, ‘१९८६ बास हराए पछि’ पुस्तकका दार्जिलिङ निवासी लेखक बबिता मादेनले याक्थुङ भाषा र साहित्यले याक्थुङ लिम्बुहरूको पहिचान, समुदाय र निरन्तरताको भावना जगाउनमा महत्वपूर्ण भूमिका खेलेको जनाइन् ।
‘याक्थुङ समुदायको पहिचान र साझा भावना निर्माणमा साहित्यको भूमिका छ । यसका साथै कस्तो प्रकारको लेखनलाई लिम्बुको अंश मान्नेबारे पनि बहस हुनुपर्छ,’ उनले भनिन् ।
लेखक मादेनले सिरिजङ्गा लिपि र भाषामा बेलाबेला हुने तोडमोडको समेत आलोचना गर्दै लिपिको संरक्षण, विकास र प्रचारमा त्याग गर्नेहरूको अपमान गर्न नहुने राय व्यक्त गरिन् ।
प्यानल छलफललाई कवि पराजित पोमुले सहजीकरण गरेका थिए ।
पेरूङ्गो अर्धवार्षिक पत्रिका र हाम्रो किताब घरको संयुक्त आयोजनामा भएको विमर्शमा मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, चुदेन काबिमो, अमला सुब्बा, रत्न सुब्बा, विशाल नाल्वो, देविका मङ्ग्रान्ति, प्रणय शंकर, निरज थापा जस्ता भारतीय नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भाषा र साहित्यको माध्यमबाट आफ्नो मातृभाषाको संरक्षणका उपायहरू खोज्ने दिशामा यो छलफल महत्वपूर्ण कदम भएको आयोजक हाम्रो किताब घरका छेवाङ लामाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री