
काठमाडौँ । ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो ।
विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी पुस्तकमा समेटिएका छन् ।
परराष्ट्रमन्त्री साउदले नेपाली भाषामा अनुवाद गरेर पहिलो पटक आएको ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तकले पाठकलाई विश्वका १९५ ओटा राष्ट्रका बारेमा समेत बुझ्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्र गानबाट सम्बन्धित राष्ट्रको निर्माण, इतिहास, संस्कृति र सभ्यताका बारेमा समेत जानकारी पाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपाल वाङ्मय फाउन्डेनले नेपाली भाषामा अनुवाद गरेर १९५ ओटा राष्ट्रका राष्ट्रिय गानको पुस्तक प्रकाशन हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा परराष्ट्रविद् मधुरमण आचार्यले ‘विश्वका राष्ट्र गान’ पुस्तकका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले १९५ ओटा राष्ट्रका राष्ट्रिय गानलाई एउटै कृतिमा समेटेर ग्रन्थ निकाल्नु उल्लेखनीय कार्य भएको विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय गानको शीर्षक पनि राखेको भए सुनमा सुगन्ध थपिने बताउनुभयो । उहाँले राष्ट्र भनेको भूगोल मात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, सङ्गीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको बताउनुभयो ।
फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले विश्वका १९५ ओटा राष्ट्रका राष्ट्रिय गानले ती राष्ट्रको गाथा झल्काउने धारणा राख्नुभयो ।
फाउन्डेसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउन्डेसनका तर्फबाट सम्मान अर्पण गरिएको थियो भने अनुवादक प्रदीप निरौला, प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ र तेन्जी शेर्पा कदरपत्र सम्मानपत्र अर्पण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण कवि तथा गीतकार मुकुन्दराज शर्माले गर्नुभएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’