
जमिनमा बिहानीको मिरमिरे उज्यालो खस्छ । बेलायतको हिउँदे महिना । जाडो बढेर खपिनसक्नु छ । बेलाबेलामा आफ्नो कान छाम्छु । किनभने जाडोले आफ्नो कानहरु हराएको जस्तै आभास हुन्छ । अझै घर बाहिरको मौसमको कुरो गर्ने हो भने खपिनसक्नुको जाडो छ । जताततै हिउँ परेर सेताम्मे देखिन्छ । हुनत नोभेम्बरको महिना हो । त्यसैले यस महिनामा जाडो हुनु र हिउँ पर्नुलाई कुनै नौलो कुरो भने मान्न पर्दैन । तर त्यसरी हिउँ पर्दा मलाई त्यसै त्यसै मनमा त्रास उत्पन्न हुने गर्छ । त्यसपछि अनायसै झोक्राउने गर्छु । अनि टाउको भारी हुन्छ । र, रिङ्टा लागेको जस्तो भान पर्छ ।
हुन त म एकजना परदेशी मानिस हुँ । त्यसैले परदेशलाई कर्मभूमि बनाएर बसिरहेको छु । मेरो परदेश बसाइको समय निक्कै लामो भइसकेको छ । पक्कापक्का भन्ने हो भने समयको काल चक्रले चार दशक पार गर्न लागिसकेको छ । तर परदेशको बसाई जतिसुकै लामो भएतापनि त्यति सजिलो चाहिँ छैन जति गाउँघरमा हुन्छ । आखिर जाबो मानिसको जिन्दगी न हो । कति लामो आयु हुन्छ र ? निश्चय पनि त्यति लामो हुँदै हुदैन । तैपनि मानो नसकिन्जेलसम्म जिन्दगीलाई यता र उता धकेलिरहनु पर्ने बाध्यताहरु छन् । त्यसैले मेरो बसाइँसराइजारी नै छ । यसरी बसाईँ सर्ने क्रममा फेरि मेरो घरको ठेगाना परिवर्तन भएको छ ।
बानबरी – अक्सफोर्डसायर ।
बानबरी इङल्याण्डको मध्य पूर्वमा रहेको अङ्ग्रेजहरुको एउटा सानो गाउँ हो । विगत पाँच वर्षदेखि म तिनै नयाँ बस्तीमा बस्दै आएको छु । र, मेरो जिन्दगीको हलोलाई जोत्न छाडेर केही समयदेखि मेलो बिसाइरहेको छु । हुनत त्यस घरमा पहिले हामी चार जनाको परिवार बस्थ्यौं । अहिले छोराछोरीले गुँड छाडेर गएपछि फेरि हामी बुढाबुढी दुईजनामा झरेका छौ । अनि दुवै जना शारिरीक रुपमा अलिक बृध्द अवस्थामा लागेका छौं, तैपनि मानसिक रुपमा चाहिँ अलिक अब्बल नै छौं । छोराछोरी बढेर हुर्केपछि घर छाडेर हिँड्नु प्रकृतिको नियम नै हो । यसलाई अन्यथा मान्नु हुँदैन । हामीले पनि मानेको छैनौं ।
११ नोभेम्बर २०२२ को दिन । बिहानी पखको समय छ । टेलिभिजनको पर्दामा बीबीसी सेवाले सैनिक कवाज पप्पी परेडको प्रत्यक्ष प्रशारण गरिरहेको छ । पप्पी एक प्रकारको रातो फूल्ने जङ्गली फूल हो । जुन फूल युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको चिहानमा हरेक वर्ष फुल्ने गरेका छन् । तिनै फूलको नामदेखि सुरु गरिएको पप्पी परेडलाई बीबीसी टेलिभिजनका समाचार वाचक ह्यु इडवार्डले मच्चीमच्ची बोलिरहेको टेलिभिजनको पर्दामा देख्न सकिन्छ । ह्युलाई म अलिक राम्रोसँग चिन्छु । किनभने मैले मेरो जिन्दगीलाई दक्षिण वेल्सको क्लेनेथ्ली भन्ने गाउँमा दश वर्ष जति बिताएको थिएँ । उनी पनि सोही गाउँमा जन्मेर हुर्केका हुन् । त्यसैले समय समयमा उनी आफ्नो गाउँ आउने गर्दथे । त्यसबेला मैले उनलाई देख्ने गर्थें ।
हरेक वर्ष हुने त्यस कवाजमा उनैले प्रत्यक्ष प्रशारण गर्ने गरेका छन् । अझै उनको आकर्षक प्रस्तुतिले धेरै बेलायतीहरुको हृदय छुन सकेका छन् । हुन त उनको प्रस्तुति गर्ने तरिका मात्र नभएर त्यो सैनिक कवाज बेलायतीहरुको वार्षिक पात्रोमा पर्ने एउटा प्रतिष्ठित कवाज पनि हो । अनि कवाजमा प्रथम र द्वितिय विश्व युद्धमा वीरता प्रदर्शन गरेर शहादत प्राप्त गर्ने बेलायती सैनिकहरुलाई सम्झने दिन हो । यसरी सम्झने क्रममा, “तपाइँहरुले हिजो गर्नु भएको कर्तव्यको लागि आज हामीले सम्झिरहेका छौं,” भनेर हरेक वर्ष सम्झना गर्ने गरिन्छ । अझै उनीहरुलाई सम्झँदै उच्च सम्मान दिनको लागि कवाजमा बेलायतको महारानीलगायत राजपरिवारको अन्य सदस्यहरुको पनि सवारी भएको छ ।
यसरी नै हरेक वर्षको ११ महिनाको ११ बजेर ११ मिनेट ११ सेकेण्ड जाँदा पूर्व सैनिकहरुलाई आकाश, जमिन र पानीमा रहेका बेलायती मानिसहरुले उनीहरुको सम्झना गरेर दुई मिनेट मौन धारण गर्ने गरिन्छ । म आफैँ पनि पूर्व बेलायती गोर्खा सैनिक भएको नाताले त्यस कवाजमा मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसैले त्यस कवाजले मेरो जिन्दगीमा निक्कै महत्वपुर्ण भूमिका खेल्छ भनेर मैले राम्रैसँग बुझेको छु । अझै अन्य दिनहरुभन्दा म त्यसदिन त्यसैले निक्कै भावुक हुने गर्दछु ।
मध्यान्हको १२ बजे कवाज सकिन्छ । त्यसपछि मलाई फुर्सत हुन्छ । टेलिभिजनलाई बन्द गर्छु र बैठक कोठादेखि सुस्तरी बाहिर निस्कन्छु । तर त्यसरी बाहिर निस्कँदै गर्दा एकचोटी सर्लक्क आङ तन्काउछु । किनभने मैले सोफामा निक्कै लामो समय व्यतित गरेको थिएँ । एकचोटी आङ तन्काइ सकेपछि मूल ढोका खोलेर दुई/चार कदम चाल्छु र भर्याङको नजिकै पुग्छु ।
मलाई भान्सा कोठाभित्र छिर्न पटक्क मन लाग्दैन । हुन त एकाबिहानै उठेर बिहानीको खाजा कुखुराको मासुदेखि बनेको ससेज, होल मिल ब्रेड अथवा पाउरोटी, उसिनेको अण्डा र हरियो चिया आफैँ बनाएर ढाडिन्जेलसम्म खाएको छु । त्यसरी खाएपछि अब अरु के चाहियो र ? अझै त्यो दिन आइतबारको दिन छ । जिसस क्राइष्टले त आराम गर्ने दिन हो भनेर गर्विलो भएकी तारा अबेलासम्म बिस्तारामा तन्किरहेकी छिन् भनेर एकछिन सोच्छु । तर उनी उठेर पनि के गर्ने र ? मास्टर बेडरुमदेखि सौचालयभित्र छिरी हाल्छिन् । अनि निक्कै लामो समयसम्म त्यतै हराउँछिन् । धित मरिन्जेलसम्म साफ सफाइ गर्छिन् अनि मात्र बाहिर निस्कन्छिन् ।
प्रायः हरेक दिन जसो उनी कोठाबाट निस्कँदै गर्दा, “यस घरमा बिस्तारा बनाउनु, सौचालय सफा गर्नु, खाना पकाउनु र जुठोभाँडा गर्नु मात्र मेरो काम होइन ?” बेस्सरी कराएर भन्छिन् । अझै त्यतिमा मात्र उनी रोकिँदैनन्, “मैले अरु पनि काम गर्नु पर्छ, मलाई अन्याय भएको छ तर कसलाई सुनाउँ ?” सँधै उनको मुख यसरी नै खोलिन्छ ।
उनले त्यसरी छाडेको आवाजलाई म केही वास्ता गर्दिनँ । मैले वास्ता नगरेपछि उनको आवाज एकचोटी कोठाको भित्तामा पुगेर ठोकिन्छ अनि त्यसै त्यसै हावामा बिलाउँछ । त्यति भनिसकेपछि पनि उनी के मान्थिन र ? फेरि थप्छिन,“हे भगवान ! मलाई यस घरमा हत्ते भएको छ ।” यसचोटी उनी अलिक ठूलो स्वरमा बास्छिन् । तर म पनि के कमको छु र ? भगवान भन्ने शब्द जोडेपछि सायद भगवानलाई होला मलाई होइन होला भनेर झन् अटेर गर्छु । त्यसैले उनको भनाइलाई भुसुनाले छाडेको सानो आवाज जति पनि महत्व दिन्न ।
अ… भर्याङ नजिक पुगेपछि आकाका भन्दै भर्याङ चढ्छु । पहिले सैनिकमा छँदा सिएफटी, बिएफटी र ढाक्रे तालिम गर्दा आधा मन भारी बोकेर तालिम गरेको हुनाले जिउ घरिघरि अहिलेसम्म दुख्छ । त्यसैले भर्याङमा सुस्तरी पाईला चाल्दै चढेर माथिलो तलामा पुग्छु । माथिलो तलामा चारवटा कोठाहरु र तीनवटा सौचालयहरु रहेका छन् । तारालाई ती कोठाहरु सफा गर्न कमसेकम आधा दिन समय लाग्छ । अझै सबैभन्दा बढी समय त यताको सामान उता र उताको सामान यता गर्दा नै उनको दिन जान्छ ।
अन्य सबै कोठाहरु छाडेर बिच भागमा चाहिँ एउटा सानो कोठा छ । मैले त्यो सानो कोठालाई घरको निजी कार्यालय बनाएको छु । त्यो कोठाको भुइँतिर केही पुराना पुस्तकहरु छरपष्ट भएर रहेका छन् । तारालाई, “बरु मेरो पुस्तकहरु यस्तै लिसिङ फिसिङ र लथालिङ्ग नै होस् है, तिमीले नछुनु,” भनेको छु । उनले मलाई, “बुझेँ हजुर ! बुझेँ,” भनेर कतिचोटी दोहोर्याएकी छिन् । म पुस्तकलाई अति नै प्रेम गर्छु । मेरो यो बानी म सानो छँदादेखिको नै हो । तर पुस्तकहरुको विषयमा उनको बिचार मेरोभन्दा ठीक विपरीत छन् । हो, अरु सबै कुरोमा हाम्रो विचार मिल्छ । र, हामी त्यसरी नै जिन्दगी चलाइरहेको छौं । तर हाम्रो मतभेद त्यसैमा मात्र छ । म पुस्तकप्रेमी र उनी पुस्तकको ठ्याक्कै दुश्मन ।
त्यसबेला कोठामा म एक्लै छु । उनी मास्टर बेडरुमतिर नै छन् । उनको अनुहार मेरो सामु नभएपनि घरिघरि उनलाई सम्झेर, “पुरानो कोट लगाउ र नयाँ पुस्तक किन,” अस्टिन फेल्प्सको मार्मिक भनाइलाई घरिघरि स्मरण गर्छु । आखिर उनी उठेपछि उतैतिरको काम सिध्याएर मात्र यता आउँछिन् भन्ने कुरोमा म विश्वस्त छु । त्यसपछि मलाई थाहा छ । यता आएर मेरो यो सानो कोठा पनि सफा गर्छिन् । बरु उनले यो कोठा सफा गर्दा वा भ्याकुम क्लिनर चलाउँदा स-साना पुस्तकहरु तान्ने हुन् कि भनेर झस्किने गर्छु । तर अहिलेसम्म त्यस्तो घटना चाहिँ घटिहालेको छैन् ।
भलै मेरा कुनैकुनै पुस्तकहरु अलिक पुराना र घिनलाग्दा भइसकेका छन् । तैपनि म त्यसको इज्जत गर्छु । चिकित्सक छोराले समय समयमा घर आउँदा, “अब यो थोत्रो पुस्तकहरु सबै मिल्काउनोस् है । यो जमाना भनेको कागज बिना (पेपर लेस) को जमाना हो र हामीले त्यस्तो समाजको निर्माण गर्नु पर्छ । किनभने कागजले वातावरणलाई असर पार्छ,” हकुम बर्साउँछ । तर छोरीले चाहिँ पुस्तकहरु मिल्काइ हाल्नोस् भनिहालेकी छैनन् । “ड्याडी ! मेरो पनि क्रिमिनल, कम्पनी, सिभिल, फेमिली, पब्लिक, इम्प्लोयमेन्ट र मानव अधिकारसम्बन्धी कानुनको किताबहरु छन् । मलाई अब ती पुस्तकहरुको आवश्यक्त्ता पर्दैन । बरु कुनै कुनैबेला तपाइँले नै पढदा हुन्छ,” भनेको सम्झन्छु ।
आखिर बाबु न परें । म पनि के कम छु र ? अलिक ढिट नै छु । उनीहरुले भनेको सबैकुरो के मानिहाल्थेँ र ? बरु दुवैजनाको भनाइलाई वास्ता गर्दिनँ । मेरा पुस्तकहरुको नजिकै बाजेको पालामा बनेको एउटा थोत्रो कुर्सी छ । जुन कुर्सीलाई मैले बेलायती आइतबारे हटियादेखि खरिद गरेर ल्याएको बर्षौ भइसकेको छ । र, त्यस कुर्सीको मुख्य काम भनेको नजिकै रहेको बुढो कम्प्युटरलाई पर्खनु हो ।
त्यो कम्प्युटरलाई पर्खनुबाहेक म बेलाबेलामा त्यसै कुर्सीमा मज्जाले बसेर आराम गर्छु । अनि त्यहीँ बसेर कम्प्युटरलाई चलाउँछु । हुन त आजभोलि डेस्कटपको होइन, ल्यापटपको जमाना आइसकेको छ । मसँग त्यो पनि छ र कम्प्युटरभन्दा अलिक नयाँ अनुहारको छ । अनि स्टिभ जब्सले एकपटक गड्म्मै टोकेर एक चोक्टा खाइसकेको स्याउको लोगो त्यसको ठीक पछाडि टालिएको छ । हो, म त्यो ल्यापटपलाई बच्चा कम्युटर भन्छु । त्यो पनि प्रायःजसो त्यस कोठामा बाबु कम्प्युटरको नजिकै हार मिलाएर बसिरहेको छ ।
सुस्तरी तला माथि चढेपछि म बिल्कुल फुर्सतमा छु । अब केही काम भएन त्यसैले समय कटाउने उपाय सोच्छु । अल्छी मान्दै मान्दै बुढो कम्प्युटरमा हात पुर्याउँछु र स्वीचलाई टक्क अन गर्छु । त्यसपछि नेपाली अनलाईनका खबरहरु हेर्न थाल्छु । म फुर्सतको समयमा यसरी नै नेपाली समाचारहरु हेर्ने गर्छु । किनभने मलाई नेपाली समाचार हेर्न औधी मन पर्छ ।
वास्तवमा भन्ने हो भने नेपालमा राजनैतिक तरलता छ । राज्य संयन्त्र गतिलो छैन र देश प्रणालीमा चलेको छैन । अब देश नै प्रणालीमा नचलेपछि हरेक क्षणक्षणमा राजनैतिक उथलपुथल हुनु स्वभाविकै हो । त्यस्तो खेल हेर्न मलाई एकदम रमाइलो लाग्छ । आफ्नो क्षणिक स्वार्थ र फाइदाको लागि फरक फरक मुद्दा बोक्ने राजनैतिक दलहरुले पनि समय समयमा नैतिक वा अनैतिक गठबन्धन गर्छन् र सोझा साझा जनतालाई झुक्याउँछन् । त्यसपछि सानोसानो स्वार्थको लागि पनि दलहरु फुट्छन् र घरिघरि जुट्छन् ।
राजनीति धुर्तहरुको शतरन्ज खेल होइन । तैपनि नेपाली नेताहरुले हुँदै नहुने काम गरेर राजनीतिमा असम्भव भन्ने चिज हुँदै हुदैन भन्छन् । त्यसबेला मलाई आधुनिक राजनीति शास्त्रका पिता निकोला म्याकाभिली सम्झेर रुन मन लाग्छ । हुन त म राजनीतिशास्त्रको बिद्यार्थी भने होइन । जुङ्गाको रेखी बस्ता नबस्तै बन्दुक समाउने रहर गरेको मानिस । अथवा वर्षौ वर्ष बन्दुक खेलाएर हुर्केको एकजना बुढो सिपाहीँ वा बन्दुके हुँ ।
अहिले पनि मेरो हस्तरेखाहरुमा बेलायती राईफल सफा गर्दा लागेका राईफलको तेल घरिघरि देखा परिरहन्छ र मज्जाले घाम लागेको बेला टलक्क टल्कने गर्छ । तर म तेललाई कोट्याउने प्रयत्न गर्दिनँ । किनभने मलाई असाध्यै पिडा हुन्छ । दशकौंदेखि त्यहाँ मेरो जीवनभरीको दुःखकष्ट लुकेर बसिरहेको छ । सम्भवत तिनै बन्दुके भएको नाताले म नेपाली राजनीति त्यति बुझ्दिनँ । तर घरिघरि सरकार परिवर्तन भइँरहदा को को मन्त्री वा प्रधानमन्त्री भयो होला भनेर कौतुहल लाग्ने गर्छ । त्यसैले समय समयमा समाचार हेर्ने गर्छु ।
जस्तो कि हामी सबैलाई ज्ञान भएकै कुरो हो । तैपनि मैले यहाँ सरम नमानि एउटा कुरोको उत्खनन नै गर्नु पर्छ । संसारभरिका अन्य देशहरु विकाशको क्रममा तीव्र गतिमा उकाली चढिरहेका छन् । तर त्यसको ठीक उल्टो हामी निरन्तर ओराली झरिरहेका छौं । तर भाग्यले साथ दिएर होला वा कसोकसो अहिलेसम्म संसारको एक नम्बर गरिब राष्ट्र चाहिँ बनि हालेको छैनौं । भनौ, राष्ट्रले त्यो ताज पहिरिने अवसर पाइहालेको छैन् । त्यो बाहेक अन्य कुरोमा भने हामी नेपालीहरुले के कति दुःख पाइरहेका छौं भनेर जान्नको लागि जिन्दगीलाई एकचोटी अरेबियन भूमितिर लगेर एक फन्को घुमाउनु पर्छ । त्यसपछि सबैकुरो मध्यान्हको घाम झै छर्लङ्गै चाल पाउन सकिन्छ ।
तर रोजगारीको लागि देश बाहिर गएकाहरुले देश भित्रको मानिसहरुलाई सक्दो सहयोग चाहिँ गरेका छन् है भन्ने कुरोमा हामी सबै सहमत हुनुपर्छ । नत्रभने अहिलेसम्म देशको हालत के हुन्थ्यो होला भनेर कल्पना गर्न पनि मुस्किल पर्छ । त्यसैमा हामीलाई सन्तोष छ । वास्तवमा हामी छौ र पो त उहाँहरु हुनुहुन्छ । आमा, बाबा, दाजुभाइ र दिदीबहिनीहरु । अझै सबैभन्दा बढी फाइदा त सालासालीहरुलाई भएको छ, लाहुरेहरुका ।
एकछिनपछि आफ्नो मानिसलाई सहयोग गर्ने कुरो यतै थन्क्याउँछु । त्यसपछि घर बाहिरको वातावरणलाई मज्जाले अध्ययन गर्छु । सिमलका भुवा झैं फुरुरू उडिरहेका हिउँका स-साना कणहरु झ्यालको सिसामा आउँदै ठोक्किँदै गरेको दृश्य रमाईलो मान्दै हेरिरहन्छु । हिउँ पानीमा परिणत भैरहँदा यो मन चन्चल भइरहेको महसुस हुन्छ । खै किन हो किन ? तिनै हिउँका कणहरुसँग मेरो दिल बेस्सरी बहकिन्छ । त्यसैले केहीबेर रमिता हेरेर आनन्दित हुन्छु । तर किन हो किन विदेशमा बस्नुको पिडा मनभरी छचल्किरहन्छ ।
मध्यान्हको मौसम एकदम नरमाईलो छ । त्यस्तो मौसममा मलाई घर बाहिर निस्कन पटक्कै मन लाग्दैन । लामो समयसम्म घर बाहिरको मौसमलाई नियालिसकेपछि नरमाइलो मान्दै मुन्टो कोठाभित्र नै फर्काउँछु र कोठाको भित्तामा पुर्याएर नजर ठोकाउँछु । चिसिदै गरेको हातलाई नजिकै रहेको पानी हिटरमा लगेर आराम दिन्छु । बिहानीपखदेखि एक रफ्तारले चलेको पानी हिटरले कोठा राम्रैसँग तताइरहेको भएतापनि यो दुखियाको अभागी कर्म भनेर एकचोटी गाली गर्छु । किनभने ग्याँसको भाउ बढेर सगरमाथाभन्दा अग्लो भइसकेपछि जति धेरै हिटर चल्छ, त्योभन्दा धेरै हृदयको गति चल्ने रहेछ ।
गत रातदेखि मौसम झन्झन् बिग्रँदै आएको छ । राति घर बाहिरको तापक्रम माइनस ७ डिग्री भएको थियो । बिहानी पख माइनस २ वा ३ डिग्रीमा झरेको छ । एकछिनसम्म कोठाको भित्तामा मुसुक्क हाँसिरहेको तर सैनिक वर्दीमा सजिएको आफ्नै पोट्रेटलाई एकछिन हेरेर थइया अभागी कर्म भन्छु । त्यसपछि मेरो ध्यानलाई एकाग्र गरेर कम्युटरको स्क्रिनसम्म पुर्याउँछु । कम्प्युटरदेखि मधुरो स्वरमा आइरहेको ‘मिलियन माइल्ज अवे’ अङ्ग्रेजी गीतलाई एकपटक राम्ररी सुन्छु । साँच्चै अङ्ग्रेजी गीतले भनेझैँ मेरो जन्मभूमि मिलियन माइल टाढा छ है भनेर भावनामा बहन थाल्छु । अनि परदेश पनि घरदेश जस्तो कहिले हुन्छ होला भनेर मनमनै कल्पना गर्छु ।
एकछिनसम्म दाहिने हातका औंलाहरु कम्प्युटरको मुसामा यता र उता दगुराइरहन्छु । तर देब्रे हातलाई थपक्कै चिउँडोमा पुर्याउँछु, अनि मज्जाले विश्राम गराउँछु । त्यसपछि विगत ३७-३८ वर्षदेखि आफ्नो देशभन्दा हजारौं माईल टाढा बसेर व्यतित गरिरहेको दुःखिया जीवनलाई एकचोटी मनमनै गाली गर्छु । त्यसपछि हृदय छियाछिया बनाइरहेको तिनै अङ्ग्रेजी गीतलाई झन् मज्जाले सुन्छु । तिनै गीतको लयमा मदहोस भइरहेको बेला अचानक ढोकादेखि घन्द्रङ्गै आवाज आउँछ । अकस्मात् त्यसरी आएको आवाजतिर हत्तपत्त मुन्टो फर्काइहाल्छु ।
“महाशय ! खाना खाने होइन र ? कि दाल चामल आफै पाक्छ हँ ?” तिरिरि मतिर हेरेर ताराले अनायासै प्रश्न गर्छिन् ।
“हुन्छ – हुन्छ, तर तिमीसँग एउटा सल्लाह गर्नु थियो ?” बिरालोले जस्तै सानो स्वर निकालेर बोल्छु ।
“के हो र ?” छुचुन्द्रोको आवाज झैँ रूखो जवाफ फर्किन्छ ।
“नोभेम्वरको महिना छ । जाडोले हात खुट्टाहरु कठङ्ग्रिन थालेका छन् । क्रुज होलिडे गएर ज्याकुजीमा तातिन्जेल बस्नु पर्छ कि के हो ?” थोरै कम्पनसहित मेरो मुख खोलिन्छ ।
“मलाई थाहा छ, तपाइँलाई रातमा निन्द्रा किन नलागेको हो भनेर,” त्यसै त खस्रो स्वर थियो झन्झन् बढ्दै जान्छ ।
समयले नेटो काटिरहेको थियो । त्यस्तै दिउँसोको १२ बजेको हुनुपर्छ । मैले घडी हेर्ने चेष्टा त गरिनँ । उनी विस्तारादेखि उठेर उतै उतै के के गरेर अहिले मेरो छेउमा आएकी हुन् । उनी आउने बितिक्कै मैले छुट्टीको कुरो गर्दा ड्याम्मै ढोका लगाएर हिँडिहालिन् । उनले कोठा छाडेर हिँडेकी भएपनि मैले त्यसलाई सकरात्मक नै ठानें । किनभने म नकारात्मक विचार लिन्न र यथार्थको धरातलमा जिउन चाहने मानिस हुँ । उनले कोठा छाडेर गएपछि मैले नेपाली समाचार हेर्न छाडिदिएँ । त्यसपछि पानीजहाजको यात्रा सम्बन्धि वेवसाइटहरु सरर हेर्न थालें ।
मलाई पानीजहाजको यात्रा असाध्यै मन पर्छ । किनभने पानीजहाज यात्रामा निक्कै धेरै देशहरुको भ्रमण एक्कैचोटी गर्न मिल्छ । नत्रभने हरेक देशहरु छाड्दा हवाईजहाजहरु र होटलहरु फेरिरहन पर्छ । त्यो पानीजहाजमा पर्दैन । अझै पानीजहाजको सबैभन्दा राम्रो पक्ष के छ भने हरेक बेलुकी एउटा सहरलाई छाड्दै सुत्यो र भोलि बिहान उठ्दा अर्को नयाँ सहरमा उठ्यो ।
अझै यति रमाइलो जिन्दगीमा जीवन सङ्गिनीको साथमा एक-एक गिलास बोलिन्जर या मोयट एन्ड चन्डन सेम्पेन हातमा लिएर पानीजहाजको सत्रौं तलादेखि रङ्गीचङ्गी बत्तीले बनाएको झिलिमिली सहरहरु हङकङ, सिङ्गापुर, दुबई र न्युयोर्क छाड्दै गर्दा देखिने दृश्य सम्भवत स्वर्गीय दृश्य हुन सक्छन् । तिनै आनन्दको अनुभूति गर्दै हरेक दिन एउटा अर्को सहरमा पुगेपछि दिनभरि घुमेर थाकेपछि बेलुकी आफ्नै कोठामा सुत्न सकिन्छ । यतिका धेरै आनन्द मिल्ने पानीजहाज क्षणिक छुट्टीको लागि मात्र नभएर विश्व भ्रमण गर्नको लागि सायद सबैभन्दा उपयुक्त्त साधन हो कि भन्ने मेरो ठहर रहेको छ ।
हुन त रेल, हवाईजहाज र गाडीहरुबाट पनि निक्कै स्थान पुगेको मसँग अनुभव छ । तर रोमान्चक यात्राको लागि सम्भवत पानीजहाज नै उपयुक्त्त हो भन्ने कुरोमा म शतप्रतिशत विश्वास गर्छु । त्यसैले पानीजहाज यात्रालाई नै म पहिलो प्राथमिकता दिने गर्छु । त्यसरी यात्रा गर्ने क्रममा कुन कुन स्थानमा पुगियो वा पुगिएन त्यसको छुट्टै पाटो हुन सक्छ । र, त्यो सबै व्यक्तिको रहरमा भर पर्ने कुरोहरु हुन् । जिन्दगी जिउने क्रममा सबैभन्दा ठूलो कुरो त जिन्दगीलाई सन्तुलनमा राख्नु नै हो । तर जिन्दगीलाई कसरी सन्तुलनमा राख्ने त्यो निजी छनोटको विषय भयो ।
तारा भान्सा कोठातिर लाग्ने बितिक्कै कोठामा शान्ति छाएको छ । उनी गएपछि मैले क्रुज किङ, इग्लु क्रुज, भर्जिन होलिडे, थोम्पसन, सेलेब्रिटी, रोयल क्यारेबियन, कोस्टा, पिएण्डओ, कार्निभल, प्रिन्सेस, कुनार्ड, डिजनी, होलेण्ड अमेरिकन, नर्वेजियन र एमएसी कम्पनिका वेवसाइटहरुलाई पटकपटक हेर्न थाल्छु ।
मेरो जिन्दगीको इतिहासलाई सरर एकसर्को पल्टाउने हो भने पनि हाम्रो सबैभन्दा पहिलो क्रुज ‘आइल्याण्ड एस्केप’ हो । जुन क्रुज होलिडेमा हामी छोराछोरीसँग चारै जना गएका थियौं । र, त्यो जुलाई, २००८ साल तिरको कुरो हो । हामीले त्यसबेला भूमध्यसागरको वरिपरि इटाली, फ्रान्स, स्पेन, मोनाको र बलेरिक दीपहरुको यात्रा गरेका थियौं । जनवरी १९८२ देखि क्रमशः सेवा प्रदान गरिरहेको आइल्याण्ड एस्केपको सन् २०१० मा पूरै मर्मतसम्भार गरियो । त्यसपछि सन् २०१५ मा आइल्याण्ड एस्केपको नाम परिवर्तन गरेर ‘ओसन गाला’ राखिएको थियो । त्यतिका धेरै वर्ष सेवा प्रदान गरेको उक्त्त पानीजहाजलाई अप्रिल २०१८ मा पानीजहाज कवाडी बनाउने स्थान अलाङ, भारतमा लगेर टुक्राटुक्रा बनाएर नष्ट गरिसकिएको इतिहास छ ।
आइल्याण्ड एस्केपको क्रुजिङपछि, “म आमा बाबुसँग हिड्न अलिक बुढो भएँ, किनभने मेरो साथीहरुले मलाई जिस्क्याउँछन्,” भनेर छोराले हामीसँग पानीजहाज यात्रा क्रुजिङ जान सधैँको लागि बिदा गरिदिएको छ । अब छोराको कुरो सुनेर छोरी केही दिन धर्मसंकटमा परेर बसिन् । बाबु आमासँग जाउँ भने दाजुले जिस्क्याउनुहुन्छ, नजाउँ भने बिभिन्न देशहरु हेर्ने अवसरदेखि बन्चित भइन्छ कि भन्ने उनले सोच्न थालिन् । अर्कोचोटी पानीजहाजमा हामी द नेदरल्याण्ड, नर्वे, स्वेडन, डेनमार्क, फिनल्याण्ड र रुस जाँदै थियौं । त्यसबेला उनले दाजुको कुरो भुलेर हामीसँग क्रुजिङको लागि आइन् र भरपूर मनोरन्जन लिइन् ।
आइल्याण्ड एस्केपपछि हामीले अहिलेसम्म १२ चोटी पानीजहाजहरुदेखि यात्रा गरिसकेका छौं । गत वर्षमात्र हामी ‘एमएसी म्याग्नाफिका’ देखि उत्तरी फ्रान्स, हल्याण्ड, बेल्जियम र जर्मनी पुगेको थियौं । त्यसको ६ महिना अगाडीमात्र रोयल क्यारेबियन क्रुजको ‘जेवेल अफ द सी’ देखि दुबइ, सर बनि एस टापु, आबुधाबी र दोहा पुगेका थियौं । हुन त त्यस यात्राको क्रममा पानीजहाज बहराइनमा पनि रोकिने योजना थियो । तर अमेरिका र इरानको झगडाले बहराइनको रोकाइ अन्तिम समयमा आएर रद्द भएको थियो । मैले लगभग तीस वर्ष अगाडि बहराइनको यात्रा गरेको थिएँ । अब तीस वर्षपछि फेरि दोश्रोचोटी बहराइन पुग्ने अवसर जुर्दै गर्दा यो मन एकदम आतुर थियो । तर अभागी रहेछु । दुर्भाग्यवश त्यो रहर पूरा हुन सक्त्तै सकेन ।
कुरो के पनि हुन्छ भने पानीजहाज यात्रामा यस्तो घटनालाई एकदम सामान्य कुरो मानिन्छ । पहिले एकचोटी पोर्ट सेड, इजिप्ट जादै गर्दा नागरिक युद्धले हेराकलियन, क्रेट टापु पुगेर जैतुन खेतितिर तारासँग बरालिएका थियौ । इजिप्टको पिरामिड हेर्ने रहर एकचोटी होइन दुई/ दुईचोटी मरेको छ । त्यो पनि दुवै पटक साइप्रसदेखि । अझै एकचोटी फिडेल काष्ट्रोको देशको बिजोक हेर्न क्युबा हिँडेको मान्छे । जमैकादेखि क्युबा जाँदै गर्दा मौसमको कारणले कार्टाहना, कोलम्बिया पुगेका छौं । हुन त कुनै कुनैबेला फरक देशमा नपुगे पनि पानीजहाजदेखि बिहानीपख ओर्लनु पर्ने मानिस दिउँसो ओर्लन पर्ने स्थिति पनि आउन सक्छ ।
त्यसको ज्वलन्त उदाहरण भिल्लाफ्रान्स, फ्रान्समा घटेको छ । त्यसबेला पानीजहाज टेन्डर हुन निक्कै समय लगाएर ढिला न ढिला उत्रन बाध्य भएका थियौं । साधरणतय पानीजहाजको भाषामा टेन्डर भन्नाले के बुझिन्छ भने कुनै कुनै बन्दरगाहमा पानीजहाज रोक्ने सुविधा हुँदैन वा पानीको गहिराइ एकदम थोरै हुन्छ । त्यस्तो स्थानमा जमिनभन्दा अलिक टाढा अथवा पानीको बिच भागमा पानीजहाज एङ्कर लगाएर रोक्ने गरिन्छ र सानो डुङ्गादेखि मान्छे जमिनमा ओसारिन्छ ।
डेढवर्ष अगाडि बेलायती पानीजहाज ‘क्रुज ब्रिटानिया’ देखि हामी नर्वे गएका थियौं । धन्न भाग्यले साथ दिएर नर्वेजियन फियोर्डको त्यो यात्रामा पानीजहाज अन्य स्थानमा लगेर रोक्न आवश्यकता परेन । पहिले नै योजना बनाएको स्थानदेखि अन्त कतै लगेर रोकिएको भए विश्वको सबैभन्दा सिनिक यात्राहरु छुटने थियो । यदी त्यो छुटेको भए हामीलाई जिन्दगीभरि खल्लो लागिरहने थियो ।
यिनै विविध कुरोलाई सम्झँदै गर्दा, –
“खाना पाकी सक्यो, खाना खान झर्ने होइन र ?” भान्सा कोठादेखि ताराको मधुरो आवाज आएको सुनिन्छ ।
क्रमशः

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो