एनआरएन भित्रको विवादले राष्ट्रिय खेलकुद प्रतियोगिताबाट वञ्चित भए बेलायतका ५४ खेलाडी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फितलो व्यवस्थापनका कारण प्रशिक्षण लिइसकेका बेलायतस्थित ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन वञ्चित भएका छन् ।

एनआरएनए आईसीसी र यूके समितिबीच विवाद हुँदा गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन बेलायतका ५४ नेपाली खेलाडी वञ्चित भएका हुन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्‍ (आईसीसी) ले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी बेलायतका खेलाडीलाई झण्डै ५ महिनाअघिदेखि प्रशिक्षण समेत गर्न लगाएर हाल बिचल्ली पारेको खेलाडीहरूको आरोप छ । एनआरएनएको गैरजिम्मेवारीले आफ्नो व्यस्त समय खेर गएको, प्रशिक्षणमा पैसा खर्च भएको र अपमानित समेत हुनुपरेको खेलाडीले गुनासो गरेका छन् ।

नेपाल जाने तयारीमा रहेका खेलाडीले पत्रकार सम्मेलन गरी मातृभूमिमा खेल्ने आफूहरूको सपना चकनाचुर भएकोमा आपत्ति प्रकट गर्दै एनआरएनएले प्रशिक्षणमा भएको खर्चसहित क्षतिपूर्ति र क्षमायाचना गर्नुपर्ने माग राखेका छन् । ब्रिटीश आर्मीमा रहेका लङ टेनिस खेलाडी कृष्ण थापाले खेलमा सहभागी हुन एनआरएनएले निमन्त्रणा पत्र नै पठाएर आउने जाने हवाइ टिकट, खाने बस्ने लगायत सम्पूर्ण खर्च बेहोर्ने भनेपछि तालिम सुरु गरिएको बताए ।

‘तालिम भइरहँदा एनआरएनए स्पोर्टस एकेडेमी संयोजक तथा नवौं राष्ट्रिय खेलकुद टिम तयारी समितिका जीवन सेन र सदस्यसचिव धर्मराज गिरीसँग नियमित सम्पर्क थियो’, उनले भने, ‘तर खेलमा सहभागिता हुने समय नजिकिँदै गर्दा उहाँहरू सम्पर्कविहीन हुनुभयो । लामो प्रयासपछि उहाँहरूसँग सम्पर्क हुँदा खर्च आफैं व्यवस्थापन गर्नु भन्नुभयो ।’

ब्रिगेड ब्वाइज क्लव यूकेका उपाध्यक्ष सुरेश गुरुङले एनआरएनएबाट ८ अगस्टमा आधिकारिक पत्र आएपछि बेलायतका विभिन्न चार लोकेसनमा फ्रेण्ड्ली म्याच र तालिम सुरु गरिएको बताए ।

‘तीन हप्ता बाँकी रहँदा हामीले फ्लाइटको कन्फर्मेसन दिनु भन्यौं । तर उहाँहरू आलटाल गर्दै सम्पर्कविहीन नै हुनुभयो । लामो समयको प्रयासपछि उहाँहरूले केही पनि गर्न सक्दैनौं भन्नुभयो’, उनले गुनासो गरे, ‘अन्तिम समयमा यस्तो व्यवहार हुँदा हाम्रो क्लव र विश्वसनियतामाथि ठूलो आघात पुगेको छ । इन्धन महँगीमा टाढाबाट खेलाडीहरू प्रशिक्षणमा आउँदा खानेबस्ने समेत व्यवस्थापन गर्नुपर्‍यो । महिनौंदेखि तालिम गर्दाको समय खेर गयो र अन्य खर्च भएकाले हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’

बेलायतबाट फुटबलका लागि १५ जना खेलाडी र ३ जना अफिसियल तथा मलेसियाबाट केही थप खेलाडी सहभागी गराउने बीबीसीको योजना थियो ।

नेपाल बास्केटबल संघ यूकेका अध्यक्ष रुपक गुरुङको गुनासो र माग पनि उही छ । ‘व्यतस्ता बावजुद समय मिलाएर हामीले तालिम गरिरहेका थियौं । महँगो खर्चमा तालिम सहज थिएन । हामीले फ्लाइटको मिति फिक्स गर्नु भन्यौं । उहाँहरूले हुन्छ भन्नुभयो तर गर्नुभएन, त्यसपछि सम्पर्क हुनै सकेन । अन्तिममा केही गर्न सक्दैनौं भन्नुभयो’, उनले भने ।

महँगो खर्च गरेर गरिएको तयारी निरर्थक भएको उनको गुनासो छ । उनले क्षतिपूर्ति आफूहरूको जोडदार माग रहेको बताए ।

नेपाल बास्केटबल यूकेकै सचिव भुवन लिम्बुले नेपाल गएर खेल्ने सपना चकनाचुर हुँदा युवा खेलाडीको मनोवल गिरेको र विक्षिप्त बनाएको बताए ।

अर्का खेलाडी विशाल गुरुङले एनआरएनएले आफूहरूको राहदानी प्रति र ठेगाना विवरण लगेकाले यसको दुरुपयोग र पारिवारिक सुरक्षामा खतरा हुनेतर्फ को जिम्मेवार हुन्छ भन्दै प्रश्न गरेका छन् ।

एनआरएनए यूके स्पोर्टस् कोअर्डिनेशन काउन्सिलका प्रमुख सल्लाहकार राष्ट्र राईले एनआरएनए आईसीसीले खेलाडीहरू दर्ता गरेर राखेपसँग आफैं पैसा दाबी गरी घोटाला गर्ने प्रपञ्च गरेको आशंका व्यक्त गरे ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले खेलकुदमा प्रतिस्पर्धा गर्न ब्रीटीश गोर्खा सैनिक, विद्यार्थी, जागिरे र हाइप्रोफाइल राष्ट्रिय स्तरका खेलाडी गरी ५४ जना तयारी अवस्थामा रहेका बेला आईसीसीले धोका दिएको बताए । खेलाडीलाई आवश्यक क्षतिपूर्ति दिइनुपर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री