शीर्ष नेताहरुले कहाँ कहाँबाट गरे उम्मेदवारी दर्ता ?

देउवाको मनोनयनपत्र दर्ता गराउनुहुँदै उहाँका धर्मपत्नी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवा ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।
उहाँका तर्फबाट उहाँका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो ।
वारिसनामामार्फत डा आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेल्धुरा पुग्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उहाँले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रस्तावक रहनुभएको छ भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समर्थक रहनुभएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिबार नै झापा आइपुग्नुभएको थियो ।
झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल हुनुहुन्छ ।
यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहनुभएको छ ।
जसपा अध्यक्ष यादवको सप्तरी–२ बाट उम्मेदवारी दर्ता
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राजविराजको मुख्य निर्वाचन कार्यालयमा आज उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यादव विसं २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
रौतहट क्षेत्र नं १ बाट एकीकृत समाजवादीका अध्यक्ष नेपालको उम्मेदवारी


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृह जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं १ बाट उहाँले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको हो । पाँचदलीय गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पहिलो नम्बरमा मनोनयन दर्ता गाराउनुभएको हो ।
गौर नगरपालिकाका प्रमुख एवं नेकपा (एकीकृत समाजवादी) रौतहटका नेता शम्भु साहको प्रस्ताव तथा राजदेवी नगरपालिकाका प्रमुख एवं कम्युनिष्ट नेता भिखारीप्रसाद यादवको समर्थनमा पूर्व प्रधानमन्त्री नेपालले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री