विदेशी घरआँगन चम्काउने नेपालीले के नेपाललाई सफा पार्न सक्दैनन् ?

खेम शर्मा

काठमाडौँ । “हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घरआँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्मा भन्नुहुन्छ ।
यही जनशक्तिले विदेशी संरचना टल्काउँछन्, तर हाम्रा संरचना किन सफा हुन सक्दैनन् त ? हाम्रा होटल, अस्पताल, सडक या सम्पदा विदेशीका जस्ता सफा बनाउन किन सकिँदैन ? शर्माको जवाफ छ, “यहाँ तालिमको राम्रो व्यवस्था छैन । स्थान र विषयबमोजिम आवश्यक उपकरण, केमिकल या सामग्री उपलब्ध छैनन् । ती वस्तु त बजारमा उपलब्ध होलान् तर तिनको प्रयोग गर्नसक्ने गरी जनशक्तिलाई तालिम छैन । मुख्य कुरा त यहाँ कामको अनुगमन छैन । त्यसैले हामीले जसरी सफा गर्न या राख्न सक्थ्यौँ त्यो स्वरुपमा गर्न सकिरहेका छैनौँ ।
खेम शर्मा सरसफाइ क्षेत्रका विज्ञ हुनुहुन्छ । उहाँको नेतृत्वमा पाँच वर्षअघि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ नेपालको सफाइ क्षेत्रकै एक नमूना भएर रहेको छ । सो विमानस्थलको सफाइको गुणस्तर कायम राख्ने प्रयास त्यसयता सरकारले जारी राखेको भएपनि सोही रुपमा भने पछिल्लो समयमा सम्भव भएको देखिँदैन । अष्ट्रेलियामा सफाइसम्बन्धी कम्पनी स्थापना गरी यस क्षेत्रमा विज्ञता हासिल गरेका शर्मा विगतका केही वर्षदेखि नेपालको सफाई क्षेत्रमा संलग्न रही आउनुभएको छ ।
“त्यतिबेला गैरआवासीय नेपाली सङ्घको आह्वान र आग्रहमा मैले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइको एउटा नमूना पेश गरको थिएँ । मलाई लाग्छ, त्यस समयको हाम्रो कामलाई राम्रो नठान्ने कोही थिएन । मैले पनि कामको जीवनमै नसोचेको प्रशंसा पाएँ । विमानस्थलजस्तो मुलुकको मुहार झल्किने स्थानमा भएको त्यो नमूना कामपछि के नेपाल नै यस्तो सफा गर्न सकिँदैन होला त भन्ने अनेकन जिज्ञासा उब्जिए । सामाजिक सञ्जालमा हजारौँ मानिसका यस्ता प्रतिक्रिया आए । मैले सोचेँ मप्रति धेरैको अपेक्षा रह्यो । त्यसैले अहिले पूरै नभए पनि धेरै नेपालमै समय दिएको छु” शर्मा भन्नुहुन्छ ।
पहिले नेपालमा स्वयंसेवीरुपमा सुरु गरेको यो सफाइको कामलाई उहाँले अहिले खेम्स क्वालिटीमार्फत् व्यवसायीकरण गर्नुभएको छ । विमानस्थलपछि पशुपति क्षेत्र, नागरिक उड्डयन प्राधिकरण, धुलिखेल अस्पताल, धनगढी विमानस्थल तथा धनगढी महानगरपालिकालगायतका स्थान र संरचनाको उहाँले सफाइ गर्नुका साथै त्यहाँका सफाई कर्मचारीलाई तालिम दिनुभएको छ । नेपालका सबै विमानस्थललाई गुणस्तरीय सफाइ गर्नुपर्छ भनी उहाँले ती विमानस्थलहरुको सफाइ ‘अडिट’ पनि गरिरहनुभएको छ ।
उहाँको नेतृत्वमा अहिले सफाइका कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरका उपकरण एवं प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरकै सफाइ तालिम दिने गरिएको छ । उहाँसँग यस्तो तालिमका लागि आवश्यकता अनुसारका जनशक्ति छन् । उहाँ अस्पताल सफाइका लागि तालिम दिने चिकित्सक नै रहेको बताउनुहुन्छ । उहाँले हालै मात्र वीर, कान्ति बाल, ट्रमा र थापाथली प्रसूति अस्पतालको सरसफाइसम्बन्धी अनुगमन गरेर सरकारलाई रिपोर्ट बुझाउनुभएको र केही समयपछि ती अस्पतालका जनशक्तिलाई पनि तालिमको तयारी गरिएको बताउनुभयो । उहाँलाई केही समयअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइको गुणस्तरलाई कायम राख्नका लागि अनुगमन गरी सफाइका कर्मचारीलाई तालिमका लागि अनुरोध गरेको थियो । अहिले पनि उहाँलाई स्वास्थ्य मन्त्रालयले अस्पतालका साथै अन्य मन्त्रालयले कार्यालय तथा विभिन्न संरचनाको सफाइका लागि आग्रह गरेका उहाँले बताउनुभयो ।
सफाइ क्षेत्रमा काम गर्ने कर्मचारी आफ्ना अभिभावक ठान्छन् उहाँलाई । शर्मा काम गर्दा होस् या तालिमका समयमा, मजदुरसँगै बसेर काम गर्नुहुन्छ । सफाइको काम जसरी समाजले अहिले तल्लोस्तरका मानिसले गर्ने काम भनेर तुलना गरेको छ, त्यस्तो होइन भन्ने कुराको सन्देश र प्रेरणा दिनुपर्ने उहाँ ठान्नुहुन्छ । त्यसैले उहाँले तालिम दिएका सबैजसो कार्यालय तथा स्थानका सफाइ कर्मचारीले सफा गर्न मात्र सिकेको नभई आफूले गरेको पेसालाई समाजले जसरी लिएको छ त्यस्तो नभएर कामको सम्मान गर्नुपर्ने पेसाका रुपमा बुझ्न सकेको बताउने गर्दछन् ।
“पहिले पहिले सरसफाइ कुनै काम नै होइनजस्तो लाग्थ्यो । घर होस् या कार्यालयको, त्यति प्राथमिकतामा पर्दैनथ्यो । अड्डामा कुनै एक/दुई जना कार्यालय सहयोगीले सफाइ गर्थे भने घरमा यसको खास जिम्मेवारीमा कोही हुँदैनथ्यो । तर अहिले यो सोचमा परिवर्तन हुदैछ । अहिले मानिस पहिलो प्राथमिकता सफाइ हो भन्ने सोच्न थालेका छन् । हालैमात्र धनगढी उपमहानगरपालिकाका अध्यक्ष गोपी हमालले मिडियाबाटै हाम्रो कामबारे थाहा पाएर बोलाएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “हामी त्यहाँ गयौँ र धनगढी उपमहानगरपालिकाका सफाइकर्मीलाई तालिम दिएर आयौँ । ”
सिटीइभिटीमा अरु धेरै विषयका पाठ्यक्रम र तालिम दिने व्यवस्था भए पनि सरसफाइसम्बन्धी नभएकाले उहाँको ‘टिम’ले यससम्बन्धी एक व्यावसायिक पाठ्यक्रम बनाएर सिटीइभिटीलाई दिएको छ । सरसफाइलाई अन्य व्यावसायिक ‘कोर्ष’ जस्तै पाठ्यक्रममा राखेर पठनपाठन गराउनुपर्ने उहाँको सुझाव छ । त्यसो भयोभने यस क्षेत्रमा विकसित पछिल्लो प्रविधि भित्र्याउन, यसका सीपहरुको व्यवसायिक विकास गर्न र सफाइको कामलाई पनि प्राथमिकतामा राख्न सजिलो हुने उहाँको भनाइ छ । उहाँले अहिले पछिल्लो छ महिनामा नेपाल फर्किएपछि विभिन्न स्थानका गरी पाँच सय सफाइकर्मीलाई तालिम दिनुभएको छ ।
यो तालिमले के फरक पारेको छ ? उहाँ भन्नुहुन्छ, “जनशक्ति दक्ष बन्यो । उनीहरुलाई औजार तथा विश्वमा विकसित पछिल्लो प्रविधि कसरी चलाउने र केमिकलको प्रयोग कसरी गर्ने भन्ने ज्ञान पनि भयो । आफ्नो क्षेत्रमा आफूले गरेका कामका लागि यसका जनशक्तिलाई थप आत्मबल बढायो । उनीहरु विदेश नै जानुपर्दा पनि हातमा सीप लिएर जाने भए र जसका कारण कमाइ पनि बढी गर्ने भए । यस्ता अरु पनि धेरै फाइदा छन् हामीले व्यवसायिक रुपमा यसको विकास गर्न सक्यौँ भने ।”
शर्मा कुनै बाह्य वस्तुको सफाइ गर्नुअघि सफाइको काम लगाउने र गर्ने मानिसका मनको विकार सफा गर्नुपर्ने सुझाव दिनुहुन्छ । एकातिर काम लगाउनेले सफाइको कामलाई काम ठानेको छैन भने अर्कातर्फ काम गर्नेहरुको मनमा पनि समाजले आफूलाई हेय भावले हेर्छ भन्ने बसेको छ भन्नुहुन्छ उहाँ । यी दुवै मानसिकतामा परिवर्तन गरी यहाँ पनि सफाई क्षेत्रमा विकास भएका पछिल्ला औजार, प्रविधि र सामग्रीको प्रयोग गर्न सकिएमा यही जनशक्तिले विदेशजस्तै नेपाललाई टल्काउन सक्छ भन्नहुन्छ उहाँ । अहिले जसरी आफूलाई सफाइकर्मीले आफ्ना अभिभावकका रुपमा लिएर प्रेरणा पाएका छन्, यसलाई थप केही वर्ष निरन्तरता दिन सुझाउनुहुन्छ उहाँ । पहिले आफ्नो मन र घर सफा भएपछि मात्र समाज र देश सफा हुने भएकाले सफाइ अभियान सबैभन्दा पहिला हरेक व्यक्तिले आफूबाट थाल्नुपर्ने उहाँको सुझाव छ ।
%5C202210%5C202210031125-6cbfbd52-4a86-41fa-b7f8-e0b9858f87a8.jpg

प्रतिक्रिया

सम्बन्धित सामाग्री