विदेशका नेपालीलाई मत दिने व्यवस्था गर्न माग

महामन्त्रीद्वय शर्मा र थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराउनुभएको हो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्नेबारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन निर्माणमा अग्रसरताका लागि विभिन्न राजनीतिक दल र सरकारसँग सहयोगमा अगाडि बढ्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिनुभयो ।
”विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट पनि प्रयोगमा ल्याउनका लागि हामीहरुले पार्टीका तर्फबाट निर्वाचन आयोगको ध्यानाकर्षण गरेका हौँ”, महामन्त्री शर्माले भन्नुभयो । निर्वाचन आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली सङ्कलन कार्य अगाडि बढाएकाले मतदाता सङ्कलनको क्रममा देखिएको भीडलाई कम गरी सबै स्थानीय तहमा मतदाता नामावली सङ्कलन केन्द्र स्थापना गर्न माग गरेको अर्को महामन्त्री थापाले बताउनुभयो ।
”काठमाडौँमा रहेका देशभरका मतदाताको नामावली सङ्कलन काठमाडौँबाट गर्न मिल्ने व्यवस्था भएको छ, यो राम्रो कार्य हो, काठमाडौँमा भएको भीडभाडलाई कम गर्न काठमाडौँको अलग्गै र काठमाडौँ बाहिरका व्यक्तिको अलग्गै नामावली सङ्कलन गर्ने वातावरण निर्माण गर्न हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष अनुरोध गरेका छौँ”, महामन्त्री थापाले भन्नुभयो । यस्तै, भेटमा निर्वाचनलाई कसरी स्वच्छ, पारदर्शी, मितव्यायी र कम खर्चिलो बनाउने भन्ने बारेमा समेत छलफल भएको महामन्त्रीद्धयले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री