नेपालमा कार्यरत बेलायती एनजीओहरुको सम्मेलन

लण्डन । नेपाली दुताबास लण्डन र नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाहरुको सञ्जालले संयुक्तरुपमा एक सम्मेलनको आयोजना गरेको छ ।
लण्डन दुताबासमा विहीबार आयोजित ‘नेपालको रुपान्तरणमा गैरसरकारी संस्थाको भूमिकाः कोभिड १९ को प्रभाव र आगामी बाटो’ विषयक सो सम्मेलनमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सबै गैरसरकारी संस्थाहरु, विकासका साझेदारहरु र बेलायती जनतालाई कल्याणकारी कार्यका लागि धन्यवाद दिएका थिए ।
उनले गैरसरकारी संस्थाहरु नेपालको विकास र प्रगतिका लागि मुख्य साझेदार रहेको बताए । राजदुत आचार्यले नेपालको द्रुत, समावेशी र दीगो विकासका लागि समग्र र बहुपक्षीय दृष्टिकोणको आवश्यकता उहाँले औँल्याए । उनले आगामी दिनमा सामाजिक विकास र महिला तथा पिछडिएका समुदायको आयस्ता बढाउने कार्यको बीचमा सन्तुलन कायम गर्नु महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपालमा कार्यरत विभिन्न गैरसरकारी संस्था र बेलायतको विदेश मन्त्रालयका अधिकारीहरुले पनि बोलेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्थाहरुको तर्फबाट किडासाका प्रमुख कार्यकारी निर्देशक जेनिस मिलर, युनिभर्सिटी अफ हडर्सफिल्डका प्राध्यापक पदम सिम्खडा, टिच फर नेपालका स्वस्तिका श्रेष्ठ, चाइल्ड रेस्क्यु नेपालका जोअना बेगा लगायतले बोल्नुभएको थियो ।
ब्रिटिश दुताबास नेपालका विकास निर्देशक नाथानियल वेभन, बेलायतको विदेश मन्त्रालयका भारत तथा हिन्द महासागरीय निर्र्देशनालयका उपनिर्देशक कमिला सुग्डेनले बेलायतको नेपालमा सहकार्यको लक्ष्य, बेलायतको विकासका प्राथमिकताहरु, अलिकम विकसित देशहरुको सूचीबाट नेपाल बाहिर निस्किएपछिको अवस्थाका बारेमा बताएका थिए ।
सम्मेलनको सञ्चालन सञ्जालका अध्यक्ष निक हिल्टनले गरेका थिए भने कार्यक्रमलाई दुई सत्रमा विभाजन गरिएको थियो । जसमा स्वास्थ्य सत्रको अध्यक्ष निक हिल्टनले गरेका थिए भने शिक्षा सत्रको सेरा म्याकानेसले गरेका थिइन् ।
सन् २०१८ मा नेपालमा कार्यरत अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संस्थाका रुपमा ब्रिटेन नेपाल गैरसरकारी संस्थाको सञ्जाल गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री