लण्डन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् ।
ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन् ।
बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित (बालबालिका) र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन् ।
सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन् । उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।
उनी सुरेन्द्र श्रेष्ठ र मिनु शाक्य श्रेष्ठकी छोरी हुन् । उनका पिता सुरेन्द्र श्रेष्ठ पनि अधिवक्ता हुन् । तर सुरेन्द्र आफूले कहिल्यै छोरीलाई वकिल बन्न सुझाव र दबाब नदिएको बताउँछन् । ‘नर्सरीदेखि स्नातकोत्तरसम्मको पढाइमा कहिल्यै प्रत्यक्ष रुपमा सहयोग गरेको सम्झना छैन’ उनले भने ।बरु मिनुले छोरीलाई सधैँ राम्रो पढ्नुपर्छ भनेर आवश्यक वातावरण मिलाउने गर्थिन् ।
बेलायतमा अध्ययनरत रहँदा शैक्षिक भ्रमणका क्रममा आफ्नो इमिग्रेसन स्टाटसकै कारण फ्रान्स जानबाट वन्चित हुनु परेपछि उनी कानुन विषयप्रति आकर्षित भएकी हुन् । त्यतिबेला उनलाई उनका पिताले ‘के गर्ने यहाँको कानुनै यस्तै छ’ भनेका थिए रे । कानुन विषय अध्ययनका क्रममा नेपालका विभिन्न अधिकारवादी संस्थाहरु तथा अफ्रिकामा काम गर्दा कानुनसित मानिसको जीवनमा सुधार ल्याउने कति शक्ति हुँदो रहेछ भन्ने थाहा पाएपछि उनी अझै कानुनी पेशामा प्रतिवद्ध भएकी थिइन् ।
प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन् । धेरै लामो समयको अध्ययन र कठोर तालिम पछि ब्यारिष्टर हुन पाएको र यसक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन् । ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । बेलायतमा नेपाली मूलका ब्यारिष्टरहरु अत्यन्तै कम रहेकोले यस पेशामा प्रवेश गर्न चाहने नेपालीहरुलाई सहयोग गर्न आफू सदैव तत्पर रहने पनि उनले बताइन् ।
बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ । कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ । तत्पश्चात प्युपिलेज तालिम गर्नुपर्छ । औसतमा प्युपिलेज पाउन बार स्कुल सकेपछि तीन वर्षको समयावधी लाग्छ । स्कुल सकेको पाँच वर्षभित्र प्युपिलेज नपाएमा फेरि तालिम गर्नुपर्ने हुन्छ ।
”यो पेशाका लागि जस्तोसुकै बाधा व्यवधान आए पनि सफल गरेरै छाड्छु भन्ने प्रतिवद्धता र स्वअनुशासन चाहिन्छ । लगन धैर्यता, दृढता, लचकता आवश्यक पर्छ र त्यस्तो क्षमता नभएको मानिस बारबाट बाहिर निस्कनु पर्ने हुन्छ,” उनले भनिन् ।
बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ । ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन् । कानुन विषयमा डिग्री हासिल गरेपछि ब्यारिष्टर हुन चाहनेले बार प्रोफेसनल ट्रेनिङ कोर्स (बीपीटिसी) तालिम लिनुपर्छ । ब्यारिष्टरहरु चेम्बर्समा काम गर्छन् । यस्तै, सोलिसिटर हुन चाहनेले लिगल प्राक्टिस कोर्स (एलपीसी) तालिम गर्ने गर्छन् र सामान्यत ल फर्ममा काम गर्छन् ।
बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । जसमध्ये नेपाली मूलका तीनजना प्रा. डा. सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन् ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ