ओझेलमा परेका भारतीय राष्ट्रिय धुनका सर्जक गोरखा सैनिक रामसिंह ठकुरी

महात्मा गान्धीलाई भ्वायलिन सुनाउँदै रामसिंह ठकुरी । तस्वीर लेखकबाट

प्रारम्भः
कप्तान रामसिंह ठकुरी हिमाञ्चल प्रदेशका अनमोल रत्न, प्रख्यात सङ्गीतकार, गीत सङ्गीतका धुन निर्माता, सङ्गीत सर्जक, स्वतन्त्रता सेनानी र आजाद हिन्द फौजका वीर सिपाहीँ थिए । उनी भारतीय गोर्खा समाजका गौरवशाली, प्रतिभा सम्पन्न एवम् महान व्यक्तित्व थिए । काँगडा जिल्ला भाग्सू धर्मशालाको सानो, रमणीय एवम् सुन्दर पर्वतीय गाऊँ खन्यारका मूल निवासी थिए । देशभक्ति एवम् राष्ट्रिय भावनासँग ओतप्रोत गीत एवम् सङ्गीतका धुन निर्माता तथा सङ्गीत सर्जकका रुपमा विश्व प्रसिद्ध थिए ।

सैन्य संगीतमा योगदानः
१. भारत स्वतन्त्र हुनुभन्दा अघि (सन् १९४७, १५ अगस्त) ब्रिटिसको साम्राज्यवादी तथा उपनिवेशिक शासनकालमा सैन्य संगीत एवं सैन्य ब्याण्डबाजा आकेस्ट्रा समूहको एक मात्र उद्देश्य सेना तथा सैनिकहरूको दिल बहलाउनु, मनोविनोद एवम् मनोरञ्जन गर्नु गराउनु थियो । प्राय सैनिक परेड, मार्चपास, बिटिङ दी रिट्रीट, राजकीय समारोह, गार्ड अफ अनर, सैनिक क्लब तथा सैनिक डान्स पार्टीहरुमा रोमाञ्चक, रमाइलो एवम् सांगीतिक वातावरणहरु तयार पार्नु मात्र हुन्थ्यो । सैनिकहरुलाई प्रसन्न एवं प्रफूल्लित पार्न मात्र सैन्य संगीत वा ब्याण्ड समूह आकेस्ट्राको प्रयोग गर्ने चलन थियो । यसैकारणले गर्दा आफ्नो पल्टनको साथमा ब्याण्डबाजा आकेस्ट्रा समूहलाई युद्धको रणभूमि वा युद्ध स्थलमा लैजाने चलन थियो।

२. सन् १९४३ मा राम सिंह ठकुरीलाई आजाद हिन्द फौज (आइएनए) को अस्थायी सरकारमा संगीत विभागको निर्देशक पदमा नियुक्ति गरियो । त्यसपछि उनले भारतीय सैन्य संगीतको क्षेत्रमा पहिलोपटक क. युद्ध संगीत (War Music) तथा ख. सामरिक
संगीत (Martial Music) को नयाँ अवधारणा विकसित गरे । सो अनुसार आजादीको युद्धमा सैन्य संगीत (ब्याण्ड बाजा) वा आकेस्ट्रा समूहलाई शत्रुको बिपक्षमा एउटा सांगीतिक शास्त्र (Martial Music) को रुपमा प्रयोग गर्न सकिन्छ भन्ने धारणा प्रस्तुत गरे ।

३. सैन्य संगीतलाई केवल सैनिक एवम् सेनाको मनोविनोद र मनोरञ्जन गर्नुमा मात्र सीमित गर्नुहुँदैन । रणस्थलमा स्थलमा शत्रु पक्षमाथि बहादुरीसाथ भीषण आक्रमण, हमला गर्न अदम्य उत्साह, जोश एवम् तरङ्गको भाव उत्पन्न गर्न गराउन पर्दछ । शत्रु पक्षमाथि अत्यन्त कठोरता एवम् निर्ममतापूर्वक जाइ लाग्नु (चार्ज गर्नु) साहसको भावलाई प्रोत्साहित गर्नु गराउनु पर्दछ । सैन्य सङ्गीत व्याण्ड बाजाका प्रभावकारी धुन, शक्तिशाली संगीत तथा कठोर ध्वनीका माध्यमबाट शत्रुपक्षको विरुद्ध सैनिक, नागरिक एवम् युवा समूहलाई ऐक्यवद्ध, एकता, सङ्गठित एवम् आन्दोलित गर्ने गराउने प्रयास हुनु पर्दछ भन्ने उहाँको चिन्तन थियो ।

आईएनएको रेडियो स्टेशनः
१. आजाद हिन्द फौजका अस्थायी सरकारले सिङ्गापुरको कैथे भवनमा शक्तिशाली रेडियो स्टेशन स्थापित गरेको थियो । यसको रिले स्टेशनहरू म्यानमार, मलेशिया, इन्फाल आदि विभिन्न ठाउँहरूमा खडा गरिएको थियो । त्यसबेला दक्षिण पूर्वी एशियाली मुलुकहरूमा प्रायः रेडियो नै सञ्चारको प्रमुख माध्यम थियो । दैनिक समाचार युद्धका घटना, आवश्यक सूचना, विज्ञापन, विज्ञप्तlहरू छिटो छरितो ढङ्गले जनताको घर दैलोसम्म पुर्याउनुमा रेडियो नै एक मात्र प्रमुख संचार साधन थियो । गीत संगीत, लेख, कथा, नाटक, आदिबाट मनोरञ्जन प्राप्त गर्न पनि रेडियो वा दमदिने ग्रामाफोन रिकर्ड वा डिस्क रेकर्ड नै माध्यम थियो ।

२. रामसिंह ठकुरीको निर्देशन एवम् संयोजनमा आजाद हिन्द फौजको अस्थायी सरकारको रेडियो स्टेशनबाट विविध कौमी तराना, देश भक्ति, राष्ट्र भक्ति तथा राष्ट्रिय गीत गायन, धुन एवम् संगीत प्रशारण शुरु भयो । स्वदेश एवम् विदेश दुवै स्थानहरूमा रामसिंह ठकुरीले संगीतबद्ध गरेका एवम् धुन भरेका गीत गायनहरू ज्यादै लोकप्रिय र जनप्रिय हुन थाल्यो । उनको सैन्य संगीतको प्रभाव सेना, सैनिक र जनमानसमा पर्न थाल्यो ।

भारतीय सेनाका फिल्डमार्शलसित कुरा गर्दै रामसिंह ठकुरी

सैन्य संगीतः
१.  भनिन्छ रामसिंह ठकुरीले संयोजन गरेका सैन्य संगीतको रेडियो प्रशारण सुनेर जापानी सेनाको युद्ध बन्दीगृहमा थुनिएका हजारौँ भारतीय युद्धबन्दीहरूले अंग्रेज शासनको विरोध गर्न थाले । स्वेच्छाले स्वय‌ंसेवकको रुपमा आजाद हिन्द फौजमा भर्ना हुन थाले । अंग्रेजी सेनाको विरुद्ध युद्ध लड्न तयार भए । युद्ध लड्न थाले । आजादीको आन्दोलनमा हजारौं सैनिक युद्धबन्दीहरू सम्मालित हुन थाले ।

२. त्यसबेला रामसिंह ठकुरीको संयोजन एवम् निर्देशनमा आजाद हिन्द रेडियोबाट प्रशारण हुने विविध देशभक्ति र राष्ट्रभक्तिका गीत गायन एवम् संगीत सुन्न गाऊँ घर, गल्ली, शहरको नुङ्कहरूमा जनताको अपार भीड जम्मा हुन्थ्यो । जोश एवम् प्रेरणाका भावले भरिएका गीत
संगीत सुनेर लाखौं युवाहरू स्वेच्छाले स्वंसेवकको रुपमा आजादीको आन्दोलनमा आफ्नो प्राणको आहुति दिन तयार हुन्थे । संगीत सुने पछि स्वतः स्फुर्त ढंगले “ईन्कलाब जिन्दाबाद”का नारा लगाउँथे । अंग्रेज सरकार डराएर युवाहरूलाई पक्राउ गर्ने, अश्रु ग्याँस, लाठीचार्ज, कर्फ्यू, निषेधआज्ञा तथा देशद्रोहको मुद्दा चलाएर उनीहरूको राष्ट्रप्रतिको उर्लिदो आस्था, निष्ठा एवम् भक्तिलाई नियन्त्रण गर्न असफल प्रयास गर्दथे ।

३. गीतकारले जति संवेशनशील, भावनात्मक र मन छुने गीत वा कविताको श्रृजना गरेता पनि त्यसलाई लोकप्रिय एवम् जनप्रिय बनाउनुमा कर्णप्रिय संगीतिक धुन, बाद्ययन्त्रको ध्वनी र प्रस्तुतीकरणको महत्वपूर्ण भूमिका रहन्छ । कप्तान रामसिंह ठकुरीले संगीतिक धुन भरेका
राष्ट्रिय गीतहरू प्रायः (त्यसबेला) हरेक युवाहरूको मुखारविन्दमा गुञ्जिन थालेको थियो । फलस्वरुप कलकत्तास्थित ब्रिट्रिश ग्रामाफोन रेकर्ड कम्पनीले उनका संगीतवद्ध गरेका गीतहरूको डिस्क रेकर्ड तयार गर्न थाल्यो । सो ग्रामाफोन डिस्क रेर्कडहरू अत्यधिक मात्रामा बिक्री हुन थाल्यो ।

४. घर–घर, परिवार, चिया पसल, पान दोकानहरू जतासुकै रामसिंह ठकुरीले सङ्गीतवद्ध गरेका कौमीतराना, एवम् देशभक्तिका रिकर्ड वा डिस्क रेकर्डहरू बज्न थाल्यो । बुढापाका, जवान, युवा र बच्चाहरू ती गीतहरूमा झुम्न थाले । अंग्रेज सरकारको विरुद्ध विरोध र आन्दोलन झन् चर्किन्छ भनेर ती रेकर्डको उत्पादनमा सन् १९४५ मा सरकारले पूर्णरुपमा रोक लगाई दियो । साथै डिस्क रेकर्ड उत्पादन गर्ने, बजाउने तथा सुन्ने तीनवटै पक्षमाथि देशद्रोहको सजायँ तोकियो ।
५. रामसिंह ठकुरीले आजादीको आन्दोलनमा सैन्य सङ्गीत, मार्शल सङ्गीत तथा युद्ध सङ्गीतका धुनहरूलाई साङ्गीतिक शस्त्रको रुपमा पहिलो पटक प्रयोग गरे । त्यसै कारणले होला रामसिंह ठकुरीको नेतृत्वमा रहेको आजाद हिन्द फौजको ब्याण्ड समूह आकेस्ट्रालाई भारतीय राष्ट्रनायकहरू महात्मा गान्धी, जवाहरलाल नेहरु, शुभाषचन्द्र बोस तथा सर्दार बल्लमभाई पटेलहरूले प्रशंसा, प्रोत्साहन एवम् सहयोग गरेका थिए ।

बन्दी गृहका कैदीजीवनः
१. सङ्गीतकार एवम् कलाकार कप्तान रासिंह ठकुरीलाई सन् १९४४–४५ मा अंग्रेज सेनाले सिङ्गापुरमा युद्धबन्दी (Prisoner of War) बनायो । अत्यन्त पीडा तथा दुःख यातना दियो । पहिले कलकताको बन्दीगृहमा राख्यो । पछि दिल्लीको क्याण्टमेन्ट काबुल लाईनको बन्दी गृहमा राख्यो । देशभक्ति तथा राष्ट्रभक्तीका गीत गायनमा रमाउने कलाकार र सङ्गीतकारहरू माथि पनि अंग्रेज सरकारले राष्ट्रद्रोहको मुद्दा चलाएर सकेसम्म मृत्युदण्ड वा कठोर सजाय दण्ड दिने प्रयास गरेको थियो ।
२. सन् १९४६, २० जुनमा राष्ट्रियता महात्मा गान्धी, जवाहरलाल नेहरु, तथा सर्दार बल्लम भाई पटेल आदिको एक दल दिल्ली क्याण्ट काबुल लाईनको बन्दीगृहमा आजाद हिन्द फौजका स्वतन्त्रता सेननी कैदीहरूसँग भेटघाट र वार्तालाप गर्न आई पुगेका थिए । त्यसैबेला अंग्रेज सेनाका जनरलको अनुमति प्राप्त गरेर महात्मा गान्धी, जवाहरलाल नेहरु तथा सर्दार पटेलको दलले रामसिंह ठकुरीद्वारा संगीतवद्ध गरिएका कौमी तराना, एवम् राष्ट्र भक्तीका गीतहरूका धुनहरू सुन्नु भयो । उहाँहरू अति प्रसन्न तथा प्रभावित हुनु भयो । तथा उनको साङ्गीतिक प्रतिभाको प्रशंसा गर्नुभयो ।
३. अंग्रेज सरकाले आजाद हिन्द फौजका स्वतन्त्रता सेनानीमाथि देशद्रोहको मुद्दा चलाएको थियो । तर सो मुद्दामा अंग्रेज सरकारको हार भयो । अनि राम सिंह ठकुरी र उनका साथी तथा अन्य सेनानीहरू जेलबाट अप्रेल १९४६ मा रिहा भए ।

४. भनिन्छ यसबेला सरदार वल्लभ भाई पटेलले रामसिंह ठकुरीलाई आजाद हिन्द फौजको आकेस्ट्रा समूह पुर्नगठन गर्न सुझाव दिनुभयो । साथै सो ब्याण्ड समूहलाई आवश्यक पर्ने बाद्य यन्त्रका लागि तुरुन्तै पाँच हजार रुपैयाँको सहयोग पनि प्रदान गर्नुभयो । यसबाट राम रामसिंह ठकुरीको राष्ट्रप्रतिको समर्पणको भावनाले झन् उर्जा, प्रोत्साहन र उत्प्रेरणा प्राप्त गर्यो । कैदी जीवनको पीडा, दु:ख, त्रास र नैराश्यतालाई बिर्सेर आफ्नो ब्याण्डबाजा आकृष्ट समूहलाई पुनः संगठित गर्न थाले ।

शुभ सुख चैनः
१. सन् १९४७, १५ अगस्तका दिनमा स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले दिल्लीको प्रसिद्ध लाल किल्लामा प्रथम पटक राष्ट्रिय ध्वजा फहराएका थिए । त्यस अवसरमा कप्तान रामसिंह ठकुरीको निर्देशनमा आजाद हिन्द फौजको आकेस्ट्रा समूहले (व्याण्डबाजा) “शुभ सुख चैनको वरखा वर्षे” राष्ट्रिय गानको सलामी धुन प्रस्तुत गरे । त्यससमयमा विश्वभरिका सम्पूर्ण भारतीय नागरिकहरूले आ–आफ्नो ठाउँ र स्थानहरूमा एकवद्ध, तथा एकसाथ राष्ट्रगानको साङ्गीतिक धुनमा आफ्नो स्वर मिलाएका थिए । वास्तवमा गोर्खा गौरव रामसिंह ठकुरीको यो अतुलनीय योगदान दियो ।
२. सन् १९४३ मा पण्डित वंशीधर शुक्लाले कौमीत राना “कदम कदम बढाएजा, खुशीके गीत गाएजा” गीतको संरचना गरेका थिए । सो कौमी तरानामा रामसिंह ठकुरीले साङ्गीतिक धुन भरेका थिए । सो साङ्गीतिक धुन भरेको झण्डै एक सय वर्ष पुग्न थाल्यो । यति लामो समय अवधिमा साङ्गीतिक धुनहरूमा धेरै परिवर्तन, विकास र आधुनिकीकरण भएको छ । कतिपय मनोरञ्जक तथा मन लोभ्याउने साङ्गीतिक धुनहरू विकसित हुँदैछन् ।
३. तैपनि रामसिंह ठकुरीले कौमी तराना “कदम कदम बढाएजा” गीतमा भरेका साङ्गीतिक धुन आजसम्म भारतीय सेनाका विभिन्न अंगहरूमा अत्यन्त लोकप्रिय र सबैको प्यारो रहेको छ । प्राय “कदम कदम बढाएजा”को धुनमा सैनिक र राजकीय समारोहरूमा सैनिकहरूलाई मार्चपास्ट गरेको देख्न सकिन्छ । वास्तवमा रामसिंह ठकुरीको सैन्य सङ्गीतमा यो अविस्मरणीय योगदान थियो ।
४. कप्तान रामसिंह ठकुरीद्वारा सङ्गीतवद्ध गरिएका राष्ट्रिय गीतका धुनहरू अत्यन्त शक्तिशाली, उत्साहवर्धक, प्रभावोत्पाहक, प्रेरणादायक तथा जनमानसमा उन्माद सृजना सक्ने प्रकृतिका छन् । त्यसै कारणले गर्दा उनले सङ्गीतवद्ध गरेका तथा धुन भरेका अधिकांश राष्ट्रिय गीतहरू त्यसबेला अत्यन्त कर्णप्रिय र जनप्रिय हुन गएको पाइन्छ । जस्तो “शुभ सुख चैनकी वर्षा”, “कौमी तराना”, “ “कदम कदम बढाएजा”, “सारे जहाँ से अच्छा”, “हम भारतकी लड्की” कोरस गीतहरू “आओ मिलकर गाएँ गीत”, “नेता जी की याद”, “हँसते हँसते जीना”, “रानी झाँसी”, “इन्कलाप जिन्दाबाद” र “आजाद जिर्य आजाद मरेगें” आदि । यसरी यी गीतहरू व्रिटिश शासनलाई भारतबाट मुक्त गर्नका लागि आईएनएको प्रभावकारी मार्शल साङ्गीतिक शस्त्र (Martial Musical Weapon) थियो । यस योगदानको चर्चा परिचर्चा हुन आवश्यक देखिन्छ ।

लेखक त्रिलोकसिंह थापामगर

रामसिंह ठकुरीको योगदान
१. सन् १९९६ मार्च २२ र सन् १९९६ मई १९ तारlखमा ईलहाबाद कोर्टको लखनउ बेन्चले उनका पक्षमा केही फैसला गरेको थियो । सो अनुसार अरु केही गर्न सकिँदैन भने कमसेकम उनलाई सम्म जीवन प्रदान गर्नु पर्दछ भन्ने सन्देश तत्कालीन राज्यसरकारलाई अदालतको फैसला दिएको थियो ।
२. साथै सन १९९७ सेक्टेम्बर ३ दिनांकमा ख्याति प्राप्त दैनिक पत्रिका “पंजाब केशरी”मा “राष्ट्रगान जन मन गणका धुन कप्तान रामसिंहने बनाई थी” शीर्षकको समाचार प्रकाशित गरेको थियो । त्यस्तै सन् १९९७, अगस्त ९ दिनांकमा ख्यातिप्राप्त दैनिक अंग्रेजी पत्रिका “दी ट्रिब्यून”का पत्रकार प्रतिमा चौधरीले “Janmangan composer is forgotten” शीर्षकबाट समाचार पनि छापेका थिए ।
३. सन् १९९७ जुलाई २७ तारिखामा आईएनए समिति धर्मशालाका अध्यक्ष होशियार सिंह थापाले तत्कालीन भारतीय प्रधानमन्त्री आईके गुजराललाई पत्र लेखेर निवेदन गरेका थिए । “आइएनएका पूर्व कप्तान राम सिंह ठकुरीलाई राष्ट्रिय स्तरको सम्मान प्रदान गर्नु पर्दछ ।” यसै क्रममा सन् २०१८ मा “हिमायल एण्ड पंजाव गोर्खा एसोसिएशन भाग्सू धर्मशालाका अध्यक्ष रविन्द्र राना, गोर्खा इतिहासका लेखक ज्योति मनि थापा, भाग्सू तथा अन्य प्रदेशका गोर्खा समाजसेवी र बुद्धिजीवीहरू क्याप्टेन भगवानसिंह गुरुङ्ग, अनिल गुरुङ्ग, शिवराज थापा, आजाद हिन्द फौजका स्वतन्त्रता सेनानी तथा अन्य भारतीय बुद्धिजीवीहरूको ठूलो समूहले राम सिंह ठकुरीको योगदानको सम्मान तथा राष्ट्रिय स्तरको श्रेय सरकारले प्रदान गर्नु पर्दछ भन्ने आवाज उठाएका थिए ।

कप्तान राम सिंह ठकुरीको जीवनी

१. कप्तान राम सिंह ठकुरी आफ्नो वचपन कालदेखि गोर्खा जाति तथा धर्मशालाका गद्दी जनजातिका लोकगीत, लोकधुन एवम् लोक संस्कृतिका ज्ञाता थिए । जानकार थिए । उनी शास्त्रीय सङ्गीतमा पोख्त र पारङ्गत थिए । पाश्चात्य सङ्गीतका विभिन्न विद्याका गहिरो प्रशिक्षण र अभ्यास गरेका थिए । यसरी सङ्गीतका विभिन्न विद्याहरूको मिश्रण र संगमको आधारमा आफ्नो साङ्गीतिक धुनको रचना र सृजना गर्दथे । त्यस्तै उनले धुन भरेका गीत गायनहरूमा एक प्रकारको अनौठो आनन्दको अनुभूति प्राप्त हुन्छ ।
२. उनले तयार गरेका धुनहरूमा अन्दाजी ३० भन्दा बढी देशभक्ति, राष्ट्रभक्ति र कौमी तरानाहरू अत्यन्त जनप्रिय एवम् हिट हुन गएको थियो । भजन, सुफी सङ्गीत, कब्बाली, गजल, सुगम सङ्गीत, क्रिशमश कीरोल, गुरुवाणी आदिमा पनि उनले तयार गरेका धुन र साङ्गीतिक रचनाहरू अत्यन्त कर्णप्रिय छन् । खन्यारा जस्तो सानो र रमाइलो गाऊँबाट हुर्केका रामसिंह ठकुरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा चर्चित सङ्गीतकार एवम् कलाकार थिए ।

व्यक्तिगत विवरणः
सन् १९१४, १५ अगस्टका दिन हिमाञ्चल प्रदेशको काँगडा जिल्ला भाग्सू धर्मशाला चिलधारी गाऊँ पेन्शन लाईनमा जन्मेका थिए । बुबा अवकास प्राप्त हवलदार दलीपसिंह ठकुरी र मुमा जानकी देवी ठकुरी भाग्सू धर्मशाला खन्यारा गाऊँमा बसोबास गर्द थिए । यिनका बाजे जमीनचन्द उत्तराखण्ड प्रदेश पिभौरागढ जनपथ, मुनाकोट गाऊँबाट सन् १८९० ई मा भाग्सू धर्मशालामा बसाई सरेका थिए ।
बाल्यकाल :

सानै उमेरदेखि यिनी गीत, सङ्गीत, नृत्य एवम् पहलवानीका शौखिन थिए । यिनको प्रतिभा, अभिरुची तथा चाहनालाई देखेर आफ्नो मावली तर्फका बाजे नत्युचन्द ठकुरीले शास्त्रीय सङ्गीत विद्यामा प्रशिक्षण लिन प्रोत्साहित गरे । शास्त्रीय सङ्गीतको प्रशिक्षणका साथै मिडिल स्कूल सम्मको शिक्षा पनि भाग्सु धर्मशालाको स्थानीय विद्यालयमा प्राप्त गरे ।
सैनिक जीवनः
कलिलो उमेर १४ वर्षमा सेकेण्ड फस्ट गोर्खा राईफल धर्मशाला छावनीमा ब्याण्डवाय (ब्याण्डबाजा केटा)मा भर्ना भए । प्रख्यात व्रिट्रिश ब्याण्ड मास्टर र सङ्गीतकार हैडसन र डैनिसबाट ब्रास बैण्ड, स्ट्रिगं बैण्ड तथा डान्स बैण्डमा तालिम प्राप्त गरे । साथै व्रिट्रिश सङ्गीतकार रोजसँग भायोलिन र सेक्सोफोनको पनि अभ्यास गरे । यसरी शास्त्रीय, पाश्चात्य एंव लोक सङ्गीतमा यिनी माहिर भए ।
सन १९३७ देखि १९३९ सम्म यिनी आफ्नो पल्टनको साथमा खैबर ख्वमा (नार्थ वेस्ट फ्रन्टियर) क्षेत्रमा कार्यरत थिए । आफ्नो अनवरत मेहनत, लगनशीलता तथा प्रतिभाका आधारमा सन् १९४१ सम्म कम्पनी हवलदार मेजरसम्म पदमा पदोन्नति प्राप्त गरे । साथै यसै समयमा मेजर शमशेर जंग ठकुरीकी सुपुत्री प्रेमकली देवीसँग विवाह सम्पन्न भयो ।
दोश्रो विश्वयुद्ध (सन १९३९–४५) युरोपदेखि प्रारम्भ भएको दोस्रो विश्वयुद्धले दक्षिणपूर्व एसियामा पनि विकराल रुप लिन थाल्यो । हवल्दार मेजर राम सिंह ठकुरीलाई पनि आफ्नो ब्याण्डबाजा आकेष्ट्राका साथ युद्ध स्थलमा सैनिकहरुलाई सांगीतिक मनोरञ्जन गर्न जानु आदेश प्राप्त भयो । सन १९४१ ई।मा द्वितीय विश्वयुद्धमा आफ्नो बटालियनका साथ मलेशिया र सिंगापुर पुगे । तर सन् १९४२, १५ फरवरीमा भारतीय सैनिकलाई जापानी सेनाले युद्धबन्दी बनायो । रामसिंह पनि पक्राउ परे । जापानी सेनाको बन्दी गृहमा युद्धबन्दीको हैसियतले बस्नु पर्यो ।
आजाद हिन्द फौजः
सन १९४२, १ सेप्टेम्वरमा राम विहारी वोस र १४ पंजाव रेजिमेन्टका जनरल मोहन सिंहको नेतृत्वमा आजाद हिन्द फौजको गठन भयो । सो फौजको उद्देश्य ब्रिट्रिश शासनबाट भारतलाई मुक्त गराउनु थियो । सन १९४३, जुलाई ३ तारिखमा नेताजी सुभाषचन्द्र वोसले आजाद हिन्द फौज आइएनएको कमाण्ड आफैँ सम्हाले । साथै २१अक्टोवर १९४३ मा सिंगापुरमा आजाद हिन्दको अस्थायी सरकारको विधिवत घोषणा गरे । हवल्दार मेजर राम सिंह ठकुरीले पनि शिक्षण स्वयंसेवकको हैसियतमा आजादीको आन्दोलनमा भाग लिन सो फौजमा प्रवेश गरे । त्यसैबेला उनलाई आजाद हिन्द फौजमा कप्तानको दर्जा तथा अस्थायी सरकारको सङ्गीत विभागको निर्देशक पदमा नियुक्तिका साथै नेताजी सुभाषचन्द्र बोसले आफ्नो व्यक्तिगत भायलिन पनि राम सिंह ठकुरीलाई उपहारमा दिएका थिए ।

देशद्रोहको मुद्दाः
सन १९४५ मा आजाद हिन्द फौजका सैनिकहरूलाई ब्रिट्रिश सरकारको सेनाले बन्दी बनाएर भारत वापस ल्याए । कप्तान रामसिंह ठकुरी पनि ब्रिट्रिश सेनाको कैदी भएर भारत वापस भए । देश द्रोहको मुद्दा चल्यो तर अंग्रेज सरकार सो मुद्दामा हार्यो । राम सिंह ठकुरी पनि जेलबाट रिहा भए । सन १९४८ उत्तर प्रदेश सरकारले उत्तर प्रदेश सरकारले प्राविस्यल आर्मड कस्टबुलेरी (पीएसी)को ब्याण्ड बाजाको प्रमुख पदमा उनलाई नियुक्ती दियो । सन् २००२, अप्रlल १५ तारीखमा उनको देहावसान भयो ।
पुरस्कारः
सन १९३७ ब्रिटिश सरकारले जर्ज छैठौं पदक, सन् १९४३ नेताजी स्वर्ण पदक आजाद हिन्द फौज, १९५६ उत्तर प्रदेश राज्यपाल स्वर्ण पदक, सन १९७९ यूपी संगीत नाटक अकादमी पुरस्कार, सन १९९१ मित्रसेन पुरस्कार, सिक्किम सरकार, सन १९९६ पश्चिम बंगाल सरकारको पहिलो आजाद हिन्द फौज पुरस्कार प्राप्त गरे ।
सम्मान र सम्झानाः
भाग्सु धर्मशाला खन्यारा गाउँका गोर्खा तथा गछी जनजातिका युवा एवं समाजसेवीहरूको प्रयासबाट सन २००६, अगस्त १५ तारिखदेखि “क्याप्टेन राम सिंह ठकुरी मेमोरियल फुटबल टुर्नामेन्ट”को शुभारम्भ गरिएको छ । सन १०१७ मा ख्यानारा गाउँको सरकारी विद्यालयको नाम उनको नाममा नामाकरण गरिएको छ । पश्चिम बंगालको दार्जिलिङ्ग जिल्लाको सकुना भन्ने ठाउँमा उनको सालिक स्थापना गरिएको छ । त्यहाँ सडकको नाम पनि उनको नाममा राखिएको छ । त्यस्तै सिलगुडीमा एउटा आदर्श गाउँको नाम उनको नाममा नामाकरण गरिएको छ । ठाऊँ ठाऊँमा कप्तान राम सिंह ठकुरीको सम्मान, सम्झना तथा श्रद्धाकालागि स्थानीय एंव जनस्तरमा प्रयास निरन्तर जारी छ ।
अन्त्यमाः
प्रख्यात सङ्गीतकार कप्तान राम सिंह ठकुरीले तयार गरेका राष्ट्रिय गीत, गायन तथा विशेष गरेर “शुभ सुख चैन”को साङ्गीतिक धुनहरूमाथि राजकीय सङ्गीत अकादमीले तुलनात्मक अध्ययन, विश्लेषण एवं विवेचना गरेर एउटा प्रतिवेदन तयार गर्नु पर्ने देखिन्छ।

त्रिलोकसिंह थापामगर

नेपाल सरका पूर्व सचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री