बेलायती प्रधानमन्त्री कार्यालयअघि १३ दिन आमरण अनसन बस्ने साहसी नेपाली महिला

Photo: Ghetty Images

एउटी महिला नेपालबाट आएर बेलायतस्थित प्रधानमन्त्री कार्यालयको अघिल्तिर खुला आकाशमुनी १३ दिन, १३ रात भोकभोकै सुतिन् । प्रहरीले कहिले पाल उठाए । कहिले छाता खोसे । हुँदाहुँदा ओढेको मजेत्रोसमेत लिएर गए । भोकले छट्पटिएर उठ्न नसक्ने भइन् उनी । बेलायती चिसो हावाले कठ्याग्रिंइन् । तर हार चैं मानिनन् । आमरण अनसन बसेका अरु दुई गोरखा सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङसँग शुरुवातदेखि अन्त्यसम्म अविचलित रही पुष्पा राणा घलेले गोरखा महिला पनि कमजोर छैनन् भन्ने साबित गरेकी छिन् ।
विश्वमै मानवअधिकारको जननी भनेर चिनिएको बेलायती भूमिमा समान अधिकार प्राप्तिका लागि एउटी महिलाले गर्नुपरेको यो संघर्षलाई केहीले बेलायतका लागि लज्जाको विषय भनेर व्याख्या पनि गरे । भूतपूर्व गोर्खा सैनिकले पनि बेलायती सैनिकले झैं समान अधिकार पाउनुपर्छ भनेर पुष्पा ३० वर्षदेखि यस्तै खाले विभिन्न आन्दोलनमा हिंडिरहेकी छिन् । अन्यायको अन्त्य हुनुपर्छ भन्दै उनी नेपालमा पनि पटकपटक आन्दोलनमा उत्रिरहने गर्थिन् । सरकार फेरिएपिच्छे न्याय चाहियो भन्दै उनी नयाँ सरकारको ढोका ढक्ढक्याउन पुग्थिन् । कहिले नेपालको माइतीघर सडकमा त कहिले मन्त्री, प्रधानमन्त्रीका निवास र कार्यालयमा धर्ना दिइरहन्थिन् । यस्तैमा उनको जीवन रुमल्लिरहेको छ ।
उनी भूतपूर्व गोर्खा सैनिककी श्रीमती हुन् । श्रीमान् ताराराज घले सैनिक हुँदाखेरि सँगसँगै हिँडेकी उनी अंग्रेजहरुले गोर्खा सैनिकहरुमाथि गरेको असमान व्यवहार र अन्यायकी साक्षी हुन् । ‘कुनै सरकारले हाम्रो माग नाजायज छ भनेनन्, सबैले न्याय दिन्छु नै भने’, उनले भनिन्, ‘वास्तवमा सबैले आश्वासन दिए तर न्याय भने कसैले दिएनन् ।’
आफ्नै जन्मभूमि नेपालबाट न्यायको आशा मरेपछि उनी बेलायतसम्म आइपुगेकी छिन् । नमरुन्जेल गोरखाहरुलाई समान अधिकारका लागि लड्छु भन्दै डटेर लागेकी छिन् । उनको श्रीमान् बितेको तीन दशक बित्यो तर गोर्खा सैनिक र उनका परिवारमाथि अब उस्तै खाले व्यवहार नदोहोरियोस् भनेर उनी आफू जस्तै कष्ट झेल्न पनि तत्पर छिन् ।
नेपालको पोखरामा जन्मिएकी पुष्पा आजभन्दा चार दशकअघि विवाह लगत्तै श्रीमानसँग हङकङ गइन् । त्यहाँ गोर्खा र अन्य सैनिकबीच हुने फरक व्यवहार उनलाई सुरुदेखि नै मन परेको थिएन । ‘हामीलाई दिने तलब र सेवासुविधामा विभेद थियो नै, साना–साना व्यवहारमा समेत हेप्थे’ उनी नोस्टाल्जिक भइन्, ‘सैनिकको क्वाटरमा हुने खानतलासीको नाउँमा हामीमाथि कडा शासन गरिन्थ्यो ।’
गोर्खा सैनिक या उनका परिवार भनेर गर्वभन्दा बढी आफू दास हुँ भन्ने महशुस हुन्थ्यो । अफिसरहरुको डरैडरमा बितेका ती हङकङ र ब्रुनाइको बसाई सम्झिँदा कोही नेपाली अब पल्टन नजाओस् झैं उनलाई लाग्थ्यो । त्यतिखेर अंग्रेजहरुले गोर्खा सैनिमाथि पटक–पटक गरिरहने मानसिक यातना देख्दा उनलाई मातृभूमि नेपालको स्वाभिमानको अपमान गरेको जस्तो लाग्थ्यो ।
‘ती हिंसा र यातना नेपालीले चुपचाप सहन्थे, असह्य भएपछि म कहिलेकाँही बोल्थेँ,’ उनी भनिदिन्थिइन्, ‘म तिमीहरुको नोकर होइन, खरिद गरेर ल्याएको दास पनि होइन हामीलाई यस्तो व्यवहार नगर ।’ चाहेको जसरी बोल्न नपाउने, मन परको कपडा लगाउन नपाउने जस्ता अनावश्यक नियममा बाँधेर राख्ने अंग्रेजहरुले गरेको हरेक व्यवहारले उनलाई मानवअधिकारको हनन भइरहेझैं लाग्थ्यो । तिनै व्यवहारले उनीभित्र विद्रोहको आगो सल्किदैं गइरहेको थियो । भित्रभित्रै विद्रोहीपन हुर्कियो तर असमानता विरुद्ध बोल्ने, आवाज उठाउने बाटो भने भेटिएन । किनकी अफिसरले आलुलाई ढुंगा हो भन्दा होइन आलु नै हो भन्ने आँट मात्रै गरेपनि कडा सजायँको भागिदार बन्नुपर्ने अवस्था थियो । हकअधिकारको लागि आवाज निकाल्ने विषय टाढाको कुरा थियो, गोर्खा सैनिकका लागि ।
‘अंग्रेजको दास बन्नुभन्दा आफ्नै देश फर्किएर दुःखसुख गरौं’ भनेर उनले श्रीमानलाई भनिरन्थिइन् । ‘लड्न नसक्ने सैनिक’ को आक्षेप लाग्ने डरका कारण ताराराज घले नेपाल फर्किन मानेनन् । सैनिक सेवामा १५ वर्ष बिताएर अवकाश पाएपछि भने घले परिवार नेपाल फर्कियो । उतिखेर सैनिक पेन्सन भनेर उनीहरुले मासिक १२ सय रुपैंया पाउँथे । जीवनको उर्जाशील समय बेलायतको रक्षाका लागि बिताएवापत् मासिक १२ सय रुपियाँ हात पर्दा उनलाई अपमानमाथि थप अपमान गरेको महशुस भयो ।
‘त्यति पैसाले बिहान बेलुकाको छाक टार्न पुग्दैन थियो । त्यहीमाथि चार जना छोराछोरी कसरी पढाउनु कसरी ?’, उनले भनिन्, ‘अंग्रेज सैनिकका बच्चाहरुलार्ई भने बेलायती सरकारले लालनपालन र पढाउने खर्च समेत व्यहोथ्र्याे ।’
पेन्सनबाट गुजारा नचलेपछि ताराराज फेरि दोस्रो रोजगारीका लागि हङकङ फर्किए । बेलायती सैनिकलाई झैं समान पेन्सन र सेवासुविधा दिएको भए परिवारबाट टाढिएर बस्नुपर्ने थिएन भन्ने पुष्पालाई लाग्छ । बेलायतले गोर्खा सैनिकमाथि गरेको व्यवहारका कारण पुष्पाले आत्सम्मान मात्रै गुमाइनन्, जीवनको सहारा श्रीमान् नै गुमाइन् । आर्थिक अवस्था सुधार्न भनेर वि.सं. २०५१ सालतिर हङकङ छिरेका ताराराज फेरि कहिल्यै नेपाल फर्किएनन् । उनी कता गए, जिउँदै छन् या संसार छाडिसके पुष्पालाई अझै थाहा छैन । ‘हामीले उहाँलाई धेर वर्षसम्म खोज्यौं तर भेटेनौँ’, उनले भनिन्, ‘भएन अनि अब उहाँले संसार नै छाड्नु भयो होला भनेर मैले आफूलाई विधवा घोषित गरिसकें ।’
पुष्पाको अध्ययन र बुझाइअनुसार तत्कालिन प्रधानमन्त्री पदमसम्शेर राणाले नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धीमा ब्रिटिश आर्मीमा भर्ती हुने सबैले सामान, तलब, सेवासुविधा र पेन्सन पाउने भनी हस्ताक्षर भएको छ । कागजै सीमित भएको अधिकार र न्यायलाई व्यवहारमा उतार्नुपर्छ भनेर पुष्पाले आजीवन आन्दोलनमा होमिन्छु भनेर अठोट लिएकी छिन् ।
‘कसैको प्रभाव या दबाबले मभित्र जलिरहेको विद्रोहको आगो निभाउन सक्दैन’, उनले भनिन्, ‘हाम्रो माग पूरा हुन्छ भनेर आश्वासन दिएका छन् । धेरैपटक धोका भइसक्यो, अझै पनि म ढुक्क भने छैन ।’

आमरण अनसनमा बसेका धनबहादुर गुरुङ र ज्ञानराज राईसंग पुस्पा

अनसन तोडिएपछि प्रसन्न मुद्रामा पुस्पा (बिचमा ), धन गुरुङ र ज्ञान राई

पुस्पा राना घले

प्रतिक्रिया

सम्बन्धित सामाग्री