साफ हारे मेरो गल्ती : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आगामी असोजमा हुने साफमा नेपाल हारे वा उपाधिविहीन भए त्यसको गल्ती आफूले लिने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको अन्तर्वार्तामा प्रशिक्षक अल्मुताइरीले १३औं संस्करणको साफ च्याम्पियनसिप जिते त्यसको श्रेय खेलाडीलाई र उपाधिविहीन भए त्यसको जिम्मा आफूले लिने बताएका हुन् ।

‘नेपालले हालसम्म साफ जित्न सकेको छैन । साफ हाम्रो लागि धेरै महत्वपूर्ण छ । यदि साफ हार्‍यौँ भने मेरो गल्ती हुनेछ । जित्यौँ भने त्यसको श्रेय खेलाडीलाई जानेछ’,  प्रशिक्षक अल्मुताइरीले एन्फा मिडियासँग कुरा गर्दै भनेका छन् ।

यस्तै प्रशिक्षकले साफ अघि खेलाडीलाई दबाब नदिन बताइरहेका छन् । यसअघिसमेत विभिन्न कुराकानीमा खेलाडीलाई दबाब नदिन आग्रह गरेका अल्मुताइरीले यसपटकसमेत सोही आग्रह दोहोर्‍याएका हुन् ।  ‘साफ धेरै महत्वपूर्ण छ । तर, खेलाडीलाई दबाब नदिऔं’, गत चैतमा नेपाल झरेका प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीले भने ।

यतिबेला नेपाली टिम पर्यटकीय शहर पोखरामा तयारी गरिरहेको छ । १५ दिन पोखरामा तयारी गर्न पुगेको टोलीबाट प्रशिक्षक अल्मुताइरीले टोलीसंख्या २८ मा झारेका छन् । उनले पोखरा पुगेसँगै युवा गोलरक्षक विशाल सुनारसहित अनुभवी डिफेण्डर रन्जित धिमाल, विक्रम लामा, स्ट्राइकर भरत खवास, जर्ज प्रिन्स कार्कीसँगै रन्दिप पौडेल, राजिव लोप्चान, संजोक राई, त्रिदेभ गुरुङ, सेसेहाङ आङ्देम्बेसहित १० जना बाहिर राखेका छन् ।

आगामी साफ माल्दिभ्समा आयोजना हुने पक्का भएको छ । यस अघि बंगलादेशले कोरोनाभाइरस, मुख्य प्रायोजकलगायत समस्याबाट गुज्रिएसँगै आयोजनाबाट नाम फिर्ता लिएको थियो । त्यसपछि नेपाल र माल्दिभ्सले प्रतियोगिता आयोजनाको लागि नाम पठाउँदा दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्सलाई स्वीकृति दिएको हो ।

१३औं संस्करणको साफ अक्टोबर १ बाट १३ अर्थात असोज १५ बाट २५ गतेसम्म आयोजना हुनेछ  । माल्दिभ्सको मालेमा हुने उद्घाटन खेलमा माल्दिभ्स र नेपाल भिड्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेल असोज १७ गते श्रीलंका, तेस्रो खेल असोज २२ गते भारत र अन्तिम खेल असोज २५ गते बंगलादेशसँग खेल्नेछ । पाकिस्तान र भुटान यसपटक साफमा सहभागी हुने छैनन् । पाकिस्तान फिफा प्रतिबन्धमा रहेको छ भने भुटानले कोरोनाभाइरसको कारण प्रतियोगिताबाट नाम फिर्ता लिएको हो ।

पाँच टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । समूहको शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघि नेपालले भदौ १७ र २० मा भारतीय राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रिपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अल्मुताइरीले साफको लागि यो मैत्रिपूर्णले राम्रो तयारी हुनेसमेत बताए ।

प्रशिक्षक अल्मुताइरीले पहिलो खेल माल्दिभ्ससँग रहेको र पहिलो खेल सधैँ गाह्रो हुनेसमेत बताएका छन् । ‘यो खेल निकै गाह्रो हुन्छ । हामी पहिलो खेल नै आयोजकसँग खेल्दैछौं । ऊ साविक विजेतासमेत हो’, प्रशिक्षक अल्मुताइरीले भने । यस्तै प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणसँगै खेलाडीलाई आगामी दिनमा प्रशिक्षक लाईसेन्सको लागि पोख्त बनाइरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री