इजिप्ट। स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् ।
नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भने पनि विस्तृत विवरण भने दिएका छैनन् ।
म्यारिन–ट्राफिक डट कमले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा एक किनारामा धस्सिएको जहाजलाई जलमार्गतर्फ धकेल्न सफलता प्राप्त भएको देखिएको छ ।
झण्डै एक साताअघि विशाल आकारको एभर गिभेन नामको कार्गो पानीजहाज स्वेज नहरको आवातजावत नै रोक्ने गरी नहरको एक किनारालाई छोएर अड्किएको थियो । यसबाट नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो । एक अनुमान अनुसार विश्वको कूल व्यापारको झण्डै ९ अर्ब डलर बराबरको सामान यही नहरको मार्ग हुँदै दैनिक आवातजावत हुने गर्दछ ।
यस नहरको जलमार्गबाट दैनिक कम्तीमा ३६७ वटा कार्गो पानीजहाज ओहोरदोहोर गर्दछन् । यसमा कच्चा तेलदेखि गाईवस्तु समेतका सामानको ढुवानी हुने गर्दछ । यो जलमार्ग बन्द भएपछि अन्य जहाजहरु अफ्रिकाको दक्षिणी भेगहुँदै घुमाउरो जलमार्ग प्रयोग गर्न बाध्य भएका थिए ।
एभर गिभेनलाई सोझो बनाउन १० वटा टगबोट प्रयोग गरिएको लेह एजेन्सीजले जनाएको छ । एजेन्सीजले पानीको सतहलाई पनि बढाएर दिनरात काम गरेको थियो ।
स्वेज क्यानल अथोरिथीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले जहाजलाई मूल जलमार्गमा ल्याउन धेरै ठूलो सफलता हासिल गरेको पुष्टि गर्नुभयो । गएराति जहाज धस्सिएको ठाउँको वरिपरिको माटो निकाल्न ड्रेजरहरु प्रयोग गरिएका थिए । तिनीहरुले करिब २७ हजार घनमिटर बालुवा र माटो हटाएका थिए ।
जहाजको सञ्चालक शोई किसेन कैसा लिमिटेडले जहाजमा कुनै क्षति नपुगेको र इन्जिनले राम्रोसँग काम गरिरहेको जनाएको छ । पनामाको झण्डा राखेको तर जापानीको स्वामित्वमा रहेको यस जहाजले एसियाबाट युरोपका लागि सामान लैजाँदै थियो ।
तैपनि नहरको जलक्षेत्र कहिले खुल्छ भन्ने स्पष्ट भइसकेको छैन । यस मार्गबाट विश्वको कूल व्यापारको झण्डै १० प्रतिशत ओहोरदोहोर हुने गरेको छ । यही मार्गहुँदै विश्वको कूल तेलको ७ प्रतिशत ढुवानी हुने गरेको छ ।
लाखौं ब्यारेल तेल र ग्याँस यही मार्ग हुँदै पर्सियाली खाडी क्षेत्रबाट युरोप र उत्तर अमेरिका पुग्ने गरेको छ । चीनमा निर्माण भएका सामानहरु जस्तै फर्निचर, लत्ताकपडा, सुपरमार्केटका सामान यही बाटोबाट युरोप जान्छन् । यो मार्ग प्रयोग नगरेको अवस्थामा जहाजहरुले अफ्रिकी महादेशको घुमाउरो मार्ग हुँदै अर्थात् करिब ५ हजार किलोमिटर दूरी यात्रा गर्नु पर्दछ ।
विशाल पानीजहाज एभर गिभेन करिब ४०० मिटर लामो छ भने यो दुई लाख २० हजार टन वजनको छ । यस जहाजलाई जलक्षेत्रमा पुनः फर्काउन जहाजमा रहेका करिब २० हजार कन्टेनर झिक्नु परेको थियो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा