बिहीबार, असार १० २०७८ | Thu, June 24, 2021
नेपालको समय: ०६:०८ | UK Time: 01:23

नेपाली संगीताकाशमा प्रवासबाट स्थापित एक नारी हस्ताक्षर

मुकेश राई
२०७७ फागुन २१ गते २०:२८

गीतकार निलम आङबुहाङ

मान्छेको परिस्थिति र परिवेशअनुसार मन र जीवनलाई भोगिरहेको समयले जसरी प्रभाव पारिरहेको हुन्छ त्यसरी नै संगीतको माधुर्यताले पनि भूमिका खेलिरहेको हुन्छ । चाहे कुनै कुशल वाध्यवादकले आफ्नो कलाकौशलताले बजाएको धून होस् वा प्रकृतिमा स्वस्फूर्त गुन्जिरहेको ध्वनीहरु । त्यसले मान्छेलाई प्रभाव पारिरहेको हुन्छ । यसैले त भनिन्छ सुखमा संगीत, दु:खमा संगीत, जीवन जगतका प्रत्येक आयाममा संगीत ।            ऐतिहासिक रुपमा नेपाली गीतको शुरुवात वि.सं १९६० सालपछि नेपाली आधुनिक संगीत यात्रा सेतुराम श्रेष्ठबाट सुरु भएको देखिन्छ । सानै उमेरदेखि गायनमा रुची राख्ने सेतुरामले  वि.सं १९६५ सालमा पहिलोपल्ट राष्ट्रिय विभूति मोतीराम भट्टले रचेका “यता हेर्यो यतै मेरो नजर” बोलको गजल रेकर्डिङ गरेका थिए । यस गीतको लय र संगीत पनि उनी आफैँले गरेका थिए ।

डायस्पोराबाट नेपाली गीत संगीतमा पहिलो शुरुवात गर्ने स्रस्टामा मास्टर मित्रसेन थापामगरको नाम आउँछ । भारतको हिमान्चल प्रदेशको भाग्सुमा अवस्थित ब्रिटिस छाउनी धाराखोलामा हवल्दार मानविर सिंह थापामगर र आमा राधा थापामगरको कोखबाट सन् २९ डिसेम्बर १८९५ सालमा जन्मिएका मित्रसेन थापामगरले “लाहुरेको रेलिमाई फेसनै राम्रो”, “अब त जाउँ कान्छी घर”, “मलाई खुत्रुकै पर्‍यो जेठान तिम्रो बहिनीले” जस्ता लोक भाका र सैन्य गीतहरु गाएर शुरु गरेका थिए ।

यसरी नेपाली संगीतको दायरा फराकिलो बन्दै जाने क्रममा अनेकौं परिवर्तनहरु आए र गए । यसरी नेपाली संगीत आकाशमा मास्टर रत्नदास प्रकाश, कोईली देवी, मेलवा देवी, नातीकाजी, अम्बर गुरुङ, नारायण गोपाल, तारादेवी, गोपाल योन्जन, भक्तराज आचार्य, दिव्य खालिङ, अरुणा लामा जस्ता जाज्वल्यमान नक्षत्रहरुको उदय हुँदै गयो ।

नेपाली गीत, संगीतमा महिला गतिकारमा पहिलो को भन्ने कुरा कतै प्रष्टरुपमा भेटिदैन । यस सम्बन्धी गायक, संगीतकार तथा अनुसन्धानकर्ता बुलु मुकारुङका अनुसार पहिले नेपाली गीतहरुमा गीतकारको नाम हुँदैन्थ्यो । मेलवादेवी, पञ्चवाला दासी, जोनी सिंह आदिले गाएका नेपाली गीतहरुमा पनि गीतकार त के संगीतकारको सम्म पनि नाम उल्लेख भएको पाइँदैन ।

रेडियो नेपालको स्थापनासँगै गीतकारहरुको नाम उल्लेख हुने गरेको पाइन्छ । यसमा पनि नारी हस्ताक्षरको संख्या भने निकै कम रहेको छ । गीतकार चाँदनी शाह, कोइली देवी, छिन्नलता, उवर्शी केशरी, उन्नति बोहरा शीला, शितल कादाम्बिनी, ललिता कुँवर, गायत्री थापा, गीता त्रिपाठी, उषा शेरचन, शोभा केसी लगायतका पछिल्लो पुस्ताका नारी हस्ताक्षरहरु हुन् ।

यही क्रममा मास्टर मित्रसेन थापामगरको पाईलाहरु पच्छ्याउँदै थुप्रै प्रवासी लाहुरे स्रस्टाहरुले नेपाली गीत संगीतमा आफ्नो दक्षता अनुसार योगदान दिँदै आएका छन् । अहिले गीत, संगीत अनि चलचित्रको सबै विधामा गोर्खा सैनिक र उनीहरुका परिवारहरुबाट दरिलो हस्तक्षेप भइसकेको छ र सशक्त पहिचान बनिसकेको छन् ।

यसैगरी बेलायतको लाहुरे समुदायबाट नेपाली कला र साहित्य र संगीतका अन्य विधाहरुमा जस्तै आफ्नो सशक्त गीति लेखनद्वारा गीतिकारितामा सशक्त सहभागी जनाउने नारी गीतकारहरुको थुप्रै छन् । जसमध्ये निलम आङ्बुहाङ राईको नाम अग्रपंक्तिमा आउँछ । लेखन मात्रै नभएर उनको नाम व्यावसायिक रुपमा नेपाली गीति लेखनबाट गीति एल्बम निर्माण गर्ने लाहुरे समुदायको नारी हस्ताक्षरको रुपमा पनि उनी पहिलो हुन् । वि. सं २०६२ सालमा सार्वजनिक भएको “जुनी जुनी” गीति एल्बमले निलम आङ्बुहाङ राईलाई स्वदेश अनि विदेशमा गीतकारको रुपमा स्थापित गरायो । उक्त एल्बम त्यो बेलाको परिस्थितिअनुसार नेपालमा सर्वाधिक बिक्री भएको गीति एल्बमको रुपमा चिनायो । अहिले गीत एल्बममा खर्च गर्नु भनेको बालुवामा पानी हाल्नुसरह बनिसकेको अवस्था छ ।

लेखक मुकेश राई

इलामको शान्त प्रकृतिको काखमा जन्म लिएकी निलम आफैँ पनि शान्त र सौम्य भावनामा रम्न रुचाउँछिन् । एकान्त वातावरणमा एकाग्र चित्तले साधनारत रहेर फरक फरक भावहरुका गीत रचना गर्छिन् । यद्यपि उनको नाँचु नाँचु लाग्ने, उसै उसै मन रमाउने प्रेमिल भावका गीतहरुले नै आफ्ना श्रोता र शुभचिन्तकहरुको प्रिय बन्छिन् ।

मन्दिरको ईश्वर सधैं मौन बसिदिन्छन्

मस्जित गुम्बा चर्च सबै चुपचाप हेर्छन्

नारी हिंसा अत्याचार किन सधैं यहाँ हुन्छ

दु:ख पीडा आँशु केवल नारीलाई मिल्छ ।

एल्बम:- निलम

स्वर:- रिमा गुरुङ

संगीत:- शान्तिराम राई

निभी जाने दीप होइन ओईली झर्ने फूल होइन

सृष्टिको भगवान हो माया अल्लारेको भुल होइन  । 

एल्बम:- जुनी जुनी-२

श्वर :- संजीवनी

संगीत:- सुरेश अधिकारी

निलमको भगवानको प्रति कति आस्था छ, मलाई थाहा छैन। यो उनको निजत्व हो तर यी गीतका हरफहरु सुनेपछि भने उनको निम्ती माया नै भगवान हो र माया नै सर्वश्व हो भन्ने बुझिन्छ । आफ्नो गीतहरुबाट नै उनी अहिले समाजमा घटिरहेको नारी उत्पीडन र अत्याचारको नमीठो खबरहरुले आक्रान्त भएको मनका मर्म र भावनाहरुलाई गुनासोको रुपमा अभिव्यक्त गर्छिन । ती पिडा र उत्पीडनमा भगवान होइन आफ्नै चेतना र बौद्धिक क्षमताले पार पाउनु पर्छ भन्ने सन्देश दिन चाहन्छिन् । कहिले फेरि अहिले डिजिटल संसारमा सामाजिक संजालबाट भइरहेको विकृति र मायालाई सस्तो खेल सम्झने बैंशालुहरुलाई माया भन्ने कुरो अल्लारे बैंशमा गर्ने गल्ती र भुल होइन भन्ने सन्देश दिन खोज्छिन् । मायालाई नै भगवान हो भनेर आफ्नो अभिव्यक्ति दिने निलमको पारिवारिक तर्फ नियाल्ने हो भने हाल आफ्नो श्रीमान लेखराज राई अनि दुई सुपुत्रीहरु लरिन र लेनिस्कासँग बेलायतको अल्डरशटमा सुखद अनि सफल वैवाहिक जीवन बिताईरहेकी छिन् ।

तिमीलाई देखुँ तिमीलाई भेटुँ हर साँझ बिहानी

मरेछु भने शिरमा रहोस तिम्रो हात सिरानी ।

एल्बम:- जुनी जुनी-२

स्वर:- संजीवनी

संगीत:- सुरेश अधिकारी

आफ्नो जीवनसाथी लेखराजप्रति समर्पित हुन्छिन् । उनलाई सर्वश्व ठान्छिन् । गीतकै हरफहरुमा आफ्नो प्यारी छोरीहरुको निम्ती आफ्नो ममता पोख्छिन् ।

सुन्दर कोमल कोपिला तिमी, जीवनको मीठो बहार तिमी

संसारकै राम्री परी तिमी, बाँची रहनु जूनझैं तिमी

यही नै हाम्रो एउटा चाहना 

एल्बम:- जुनी जुनी-२

स्वर:- रजिना रिमाल

संगीत:- सुरेश अधिकारी

लोकप्रिय गीत, गजलकार शित्तल कादम्बिनीको अभिव्यक्ति “नारी गीतकारको संख्या नेपाली संगीताकाशमा धेरै नै भए पनि सबैले निरन्तरता दिने निकै कम छन्” यही कथनलाई मनन गर्दा यहाँ बेलायतमा पनि नारी गीतकारहरु धेरै भएता पनि निरन्तर लागीपर्ने थोरै मात्र देखिन्छ । यसका कारणहरु गीति निर्माणसँगै अहिले भिडियो पनि बनाउनु पर्ने महङ्गो आर्थिक भार, दैनिक कामको  ब्यस्तता, पारिवारिक तथा अन्य कारणले यस्तो भएको हुन सक्छ । तर यस्ता सबै बाधा अप्ट्याराहरुसित जुध्दै निलमले सांगीतिक यात्रालाई मीठो मीठो गीत र भिडियोहरु आफ्न श्रोता र दर्शकहरुलाई पस्किरहेकै छिन् ।

इतिहास अमर राख्नु तिमीले

विचलित त्यहाँ कहिल्यै नहुनु

वीर गोर्खाको नासो हौ तिमी

दु:खमा कहिल्यै न आत्तिनु

कर्तव्य सधैं कठोर हुन्छ

साहस गरी अगाडी बढ्नु 

गीति सङ्ग्रह ”अन्तर्मनको तरङ”

 शायद यस्तै मनोभावनाले उनलाई सधैं जोश जाँगरको साथ लेखिरहने उर्जा दिन्छ र निरन्तर लेखनमा जागरुक रहिन्छिन् । उनको यो हरफहरुले मलाई अतीतको घटना सम्झेँ । सानो तर गम्भीर कुरो के भने करिब १०/ १२ वर्ष अघिको कुरो हो मैले निकै आदरभावको साथमा हेर्ने एकजना लाहुरे परिवेशकै अग्रज मानिने स्रस्टा दाजु (नाम खुलाउन चाहिन) ले मलाई “भाइ, हामीले आफ्नो परिचय दिदाँ लाहुरे भनेर भन्नु हुँदैन है, अरुले गन्दैन” भन्नुभएको थियो । म उहाँलाई राम्रो रचनाहरु गर्नसक्ने अग्रजको रुपमा सम्मान गर्थेँ, गरी नै रहने छु तर म उहाँको त्यस विचारमा सहमत थिइनँ र कदापी हुने पनि छैन । किनकी रहरले होस वा बाध्यताले मलाई कर्म दिएको बाँच्न सिकाएको र जीवनसङ्ग साक्षात्कार हुन सिकाएको यही लाहुरे कर्मले हो । यसकारण मलाई आफूले गरेको र भोगेको जीवनको कर्म, कर्तव्यप्रति कुनै हीनताबोध छैन । यो त मेरो जीवनको चिनारीसँगै जोडिएको महत्वपूर्ण पक्ष हो । यदि कसैले मेरो कर्म र वैव्यक्तिक जीवनलाई सिर्जनासँग जोडेर हेर्छन् भने मलाई भन्नु केही छैन । त्यो उनीहरुको अस्वस्थ्य संकीर्ण सोच मात्रै हो । बस ! जेहोस् निलमको माथिका हरफहरुले उनी आफैलाई र आफूसँगै गोर्खाली हुनु र इमान्दारितापूर्वक कर्तव्य पथमा अगाडी बढ्नुलाई गर्वले आत्मसात गरेकी छिन् र आफ्नो अनुभूतिलाई लयात्मक अभिव्यक्त गरेकी छिन् ।

विश्वमा जहाँ जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ आफ्नो कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको जर्गेना गरेका छन् । प्रवासमा रहेका नेपाली महिलाहरुको पनि विभिन्न साहित्यिक सिर्जनामा उल्लेखनीय स्थान रहेको पाइन्छ । कहिलेकाही निलम आफ्नो धारणामा बेलायतमा रहेर अन्य साहित्यिक विधाहरुमा जस्तै धेरै महिला, पुरुषहरुको गीत, संगीतका सबै विधा जस्तो, गायन, लय, संगीत, रेकर्डिङ र लेखनमा सघन रुपमा उपस्थित भएको र यसले पनि नेपाली गीत, सङ्गीतमा नयाँपन, नौलो आयाम थपिएको र नेपाली संगीतसँग जोडिएका कलाकार, वाध्यबादक र प्रविधिकहरुलाई पनि आर्थिक टेवा पुगेको सकरात्मक विचार व्यक्त गर्छिन् ।

इलामको समालबुङमा बुवा खड्गबहादुर आङबुहाङ र आमा रुक्मिणीदेवी आङबुहाङ्गको कोखबाट साउन ६ गते जन्मिएकी निलमको कर्मघर पनि माई पोखरी,  इलाम नै हो । आफ्नो थातथलोलाई सदैव माया गर्ने उनको गीति लेखनमा पनि धेरैपटक आफ्नो गाउँघर झल्किएको भेटिन्छ । स्वदेशको माया र टाढा हुनुको वियोगको जलन भेटिन्छन् । उनको यो अर्ग्यानिक कोमल अभिव्यक्तिले कसको मन नछोला र ?

पानी मीठो मेरो हजुर इलाम बजारको

माया मिठो मेरो हजुर त्यो मनभित्रको 

त्यसै गरेर डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ

छाती भित्र मुटु पनि तिमीलाई बोलाउँछ …

जस्ता रुमानी शब्द संयोजन होस् वा “ओच्छ्यानै पो परिन कि त दमकी रोगी आमा, बाबा छन् कि विपत्तसमा आङमा छैन घाम” जस्ता मन छुने हरफ निलमले हरेक शब्दमा आफ्नो कौशलता प्रदर्शन गररै श्रोताको मनमा बस्न सफल बनेकी छिन् ।

यदाकदा उनलाई हिन्दी गायक गायिकासँग मात्रै धेरै काम गरेको मित्थ्या आरोप पनि लाग्ने गरेको छ तर यो सत्य होइन । उनले नेपालका अधिकांश नयाँ, पुराना गायक गायिकाहरुसँग काम गरेकी छिन् । कुनै समय बीएफबीएस गोर्खा रेडियोको अन्तर्वार्तामा निलमले भनेकी थिइन नेपाली चलचित्र “मनमन्दिर”को ”लौ है माया सुटुक्कै आउनु है” भन्ने बोलको गीत सुनेर गायिका संजीवनीको स्वरबाट अत्यन्तै प्रभावित भएकी थिइन् । संजोगवस संगीतकार सुरेश अधिकारीसँग काम गर्ने क्रममा उनको प्रिय गायिकासँग आफ्नो पहिलो एल्बम निम्ती गीतहरु रेकर्ड गर्ने अवसर मिलेको बताएकी थिइन् ।

त्यो पहिलो एल्बमको लोकार्पणपछि उनले कहिले पछि फर्केर हेर्नु परेन । एउटा प्रवासी नारी स्रस्टाले पाएको यो पहिलो ब्यापक सफलता थियो । उक्त जुनी जुनी एल्बमको एक से एक गीतहरुले चर्चा पायो । कुमार सानु र संजीवनीको स्वर अनि सुरेश अधिकारीको संगीत रहेको “पुरानो हुँदैन माया” त हरेक संगीत पारखीको मनमा बस्यो ।

उनको हालसम्म प्रकाशित भएका कृतिहरु “इलामे चेलीका रचनाहरु” (संयुक्त कविता सङ्रह), “मेची किनार साहित्यिक त्रैमासिक” “प्रकाशन र व्यवस्थापन), “जुनी जुनी- भाग १ र २” (गीती एल्बम), “निलम”  (गीती एल्बम), नेपाली चलचित्र “हँसिया”मा गीतकारको हैसियतले काम गरेपश्चात हालसम्म निरन्तर रुपमा गीत र कविताहरु सिर्जना गरिरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक