प्रतिनिधि सभाको पुनःस्थापनाले नेकपालाई दिएको अवसर 

पृष्ठभूमि

 विश्वका धेरै मुलुकहरूले भौतिक विकासमा अपार सफलता हासिल गरिरहँदा हजारौं वर्षको गौरवशाली इतिहास भएको नेपालले भने राज्यसत्ता सम्हाल्ने अवसर पाएका शासकहरुको अकर्मन्यता,अदूरदर्शिता र अज्ञानताका कारण अझै आशातीत सफलता हासिल गर्न सकेको छैन। राजनीतिक अधिकारका लागी ७० वर्षभन्दा बढी ब्यतित भइसकेको यस अवधिभित्र घटित राजनीतिक घटनाक्रमहरू विसं २०१५ सालको  राजा महेन्द्रको कु, विसं २०४८ मा गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार हुँदाहुँदै  संसद विघटनले निम्त्याएको दुष्परिणामहरूको गहन विश्लेषण गरी पुनः उक्त गल्तीको पुनरावृत्ति हुन नदिनेतर्फ सचेत हुनुको सट्टा शासन सत्ता सम्हाल्ने अवसर पाएका नेतृत्वका आ-आफ्ना ब्यक्तिगत तथा सामूहिक स्वार्थ, घमण्ड र कुन्ठाले गर्दा पुनः नेपाल र हरेक नेपालीको मनलाई गहिरो पीडा पुर्याएको छ।

पार्टी एकीकरण 

वि. सं २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कालखण्डहरूमा बेहोर्नुपरेको असफलताबाट पाठ सिक्दै एकीकृत कम्युनिस्ट पार्टी बिना नेपाल र नेपाली जनताले अपेक्षा गरेका सपनाहरु पूरा गर्न नसकिने निष्कर्षका साथ वि.सं २०७४ मा चुनावी तालमेलबाट सुरु भएको एकीकरणले नेपाली जनताहरुमा नयाँ जोस,जाँगर र आसाको बिजारोपण हुन पुग्यो। परिणामस्वरूप गत आमनिर्वाचनबाट झन्डै दुई तिहाई मत प्राप्त केपी वलीको नेतृत्वमा नेकपाको सरकार निर्माण भएपछि स्थायित्व, विकास र सुशासनमा उल्लेख्य  सुधारको अपेक्षा गरिएको थियो। सरकारको मात्रै परिवर्तन नभई शासन ब्यवस्थामा नै परिवर्तन भएकोले आशातीत सफलता पाउन केही वर्ष प्रतीक्षा गर्नु परेपनि “बिहानीले दिनको संकेत गर्छ ” भने झैं सुरूका केही महिनामा नै ठूलो आर्थिक भार बिनानै सुशासनको क्षेत्रमा जनताले अनुभूति गर्ने गरी उल्लेख्य सुधार गर्न सरकार चुकेकै हो। अर्कोतर्फ पार्टी प्रमुखको हैसियतले आफ्नै पार्टीका सहकर्मी साथीहरुलाई विश्वासमा लिएर सत्ता संचालन गर्न असफल हुनु पनि के पी वलीको ठूलो कमजोरी हो। विकासका केही कामहरु हुनु त एउटा निरन्तरता मात्रै हो यसलाई नै सफलताको मापनको रूपमा हेरिनु हुँदैन । पार्टीबाट पनि निर्वाचनका समय घोषणापत्रमार्फत जनतासमक्ष कबुल गरेका वाचाहरु पूरा गराउन सरकारलाई सल्लाह, सुझाव र दबाब दिनुको सट्टा आफू र आफ्नालाई पद, प्रतिष्ठा र अवसरकै सौदाबाजीमा विगत तीन वर्ष बितेको यथार्थता हामी सबैसामू घामजस्तै उज्यालो छ।

षड्यन्त्रको सिद्दान्तको शिकार

नेकपा एमाले र नेकपा माओवादी एकीकरणको क्रममा स्थायित्व, विकास, नेपाली जनताको हितलाई प्राथमिकता दिइएको भनिएता पनि विशेषत के पी वली, माधवकुमार नेपाल, प्रचण्डका मनमा रहेका अब्यक्त षड्यन्त्रहरूको उच्चतम रूपले नै नेकपालाई अन्त्येष्टिको संघारमा उभ्याएको छ ।नेपाली कांग्रेससंग सहकार्यमा रहेका प्रचन्डलाई थुतेर प्रमुख प्रतिद्वन्द्वी काँग्रेसलाई कमजोर बनाई बहुमत प्राप्त गरी सत्तामा पुग्ने के पी वलीको सपना थियो । नेकपा एमालेको पार्टी सत्ता गुमाएर घायल भएका माधवकुमार नेपाल प्रचन्डसंग मिलेर के पी वलीलाई कमजोर बनाई सक्ति आर्जन गर्ने दिवा सपनामा थिए । प्रचन्डको नेकपा एमाले भित्रका असन्तुष्ट गुटको उपयोग गरी नेतृत्व हत्याउने महत्वकांक्षी षड्यन्त्रहरु नै नेकपाको एकीकरण सम्पन्न नभई बिघटन हुनुका मुख्य कारणहरु हुन् ।

नेकपाका समितिहरुमा रहेको संख्याको दुष्परिणाम 

नेकपा गठनको चरणमा विद्यमान नेताहरुको समूहलाई नवगठित पार्टीमा अपनत्व हुनेगरी सामेल गराउने उद्देश्यले सबै समितिहरूमा समानुपातिक हिसाबले संख्या बाँडफाँड गरियो। बाँडफाँडमा नेकपा एमालेको नेतृत्वमा रहेका के पी वलीले उदार र चौंडा छाती बनाएको देखिन्छ। यसबाट उनी नेपाल र नेपाली जनताको हितमा काम गर्ने सफा मनसायले पार्टी एकीकरणको लागी मन्जुर भएको पुष्टि हुन्छ । तर बिडम्बना पार्टी समितिहरुमा रहेका यी संख्याहरूलाई माधवकुमार नेपाल र प्रचण्डले पद, प्रतिष्ठा र अवसरको सौदाबाजीको हतियारको रूपमा उपयोग गर्ने मनसाय ब्यक्त भईरहँदा नेकपाको एकीकरण अन्धकारमा फस्न गयो । यिनै संख्याको आडमा मातिएका प्रचन्डले आफ्नै पार्टी अध्यक्षलाई संगीन फौजदारी अभियोग पत्र दर्ज गर्न समेत उद्वेलित भए। उक्त अभियोगपत्र फिर्ता गरी पार्टी बचाउन के पी वलीले देखाएका अन्तिम प्रयासहरु समेत असफल भई नैतिक सिमाको हदैसम्म उल्लघंन गरी आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याई पदबाट अपदस्थ गर्ने योजना ज्ञात भएपश्चात बाध्य भई पौष ५ गते प्रतिनिधि सभाको विघटनको लागी राष्टपतिसमक्ष सिफारिस गरे र उसै दिन प्रतिनिधि सभाको विघटन भयो ।

के पी वली र माधव- प्रचन्ड समूहमा को शक्तिशाली ?

प्रतिनिधि सभाको विघटनपश्चात विगत दुई महिनाको राजनीतिक कृयाकलापहरुको विश्लेषण गर्दा के पी वलीले नेतृत्व गरेको समूह माधव-प्रचन्डले कल्पना गरेकोभन्दा धेरै शक्तिशाली पुष्टि भएको छ। नेकपा संसदीय दलमा सुरु देखि नै के पी बहुमतमा नै थिए भने पार्टीका समितिहरुमा भागबण्डाका कारण केही कमजोर देखिएका हुन् । स्थानीय तहका सबै निकायहरुमा  के पी वली पक्ष पचास प्रतिशतभन्दा बढी हुनु,पार्टीका तल्लो समितिहरुमा राम्रो पकड हुनु, देशभर आयोजित राजनीतिक जनसभाहहरूमा विशाल सहभागिता हुनुले सम्मानित सर्वोच्च अदालतबाट के पी वलीले चालेको कदमलाई असंवैधानिक ठहर गरेतापनि राजनीतिक रूपमा उनले चालेको कदमलाई ब्यापक जनसमर्थन रहेको भान हुन्छ । यसबाट के पी वलीले चालेको राजनीतिक यात्रामा ठेस लागेतापनि यसबाट शिक्षा लिंदै नेपाल र नेपाली जनताको हितमा अझै ससक्त ढंगबाट अगाडी बढेमा उनको जितलाई कुनै पनि शक्तिले रोक्ने सक्ने छैन ।

नेकपा पुनः एकीकृत हुन सक्छ ?

राजनीतिमा केही पनि असम्भव नहुने हुनाले नेकपाको नेतृत्वमा रहेका शीर्ष नेताहरूले विगत तीन वर्षमा आ-आफ्ना तर्फबाट भएका कमीकमजोरीको यथार्थ र सही विश्लेषण गर्नु पर्ने देखिन्छ। तल्लो तहका नेता तथा कार्यकर्ताहरूले पनि आफ्ना निहित ब्यक्तिगत स्वार्थभन्दा माथि उठी सही र गलतलाई छुट्याउन कन्जुस्याइँ गर्नु हुँदैन । के सम्मानित अदालतबाट प्रतिनिधि सभाको विघटन लाई सदर गरी नेकपा यही हालतमा फुटेर निर्वाचनमा गएको भए सकारात्मक परिणाम आउँथ्यो ? पक्कै पनि आउने थिएन। अझै कानूनी रूपमा नेकपा फुटी नसकेकोले भविष्यमा यस पार्टीका समूहहरुको नेतृत्वको चेतमा बादल लागी पार्टी कानूनीरूपमा फुटी कुनै एक समूह सरकारमा जाँदा आगामी दुईवर्ष पछी हुने आम निर्वाचनमा फुटेका दुई पार्टीमध्ये एकले आशातीत सफलता पाउलान् ?  माधव- प्रचन्ड समूह नेपाली कांग्रेसका शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाई सरकारमा गए भने यो भन्दा बढी आत्माघाती उनीहरुको लागी केही हुने छैन । के पी वलीको जनसमर्थन देखेर यही साल चुनावमा जान साहस गर्न नसक्नेहरु दुई वर्षपछि झन् आफ्नै पार्टी फुटाएर सरकार अपदस्थ गरी नेपाली कांग्रेसको पोल्टामा सत्ता  सुम्पेको तीतो सत्यले कहिलै उठ्न नसक्ने गरी थचारिदिने छ। के पी वलीको समूहले पाएको जनसमर्थनमा माधव-प्रचन्ड समूहमा रहेका पूर्व नेकपा एमालेका सबैजसो सच्चा जबजका अनुयायीहरू थपिंदै जानेछन् । के पी वली प्रतिनिधि सभामा पेश भएको अविश्वासको प्रस्तावलाई असफल गराई सत्तालाई निरन्तरता दिन सफल भएर विगतका कमीकमजोरीबाट पाठ सिक्दै जनताका अपेक्षाअनुरुप काम गर्दै पार्टीको संगठनात्मक शक्तिलाई अझै सुदृढ गर्न पाएको अवसरलाई उचित ढंगबाट सदुपयोग गरेमा आगामी निर्वाचनमा सके बहुमत नभए सबैभन्दा ठूलो दल हुनबाट कुनै पनि शक्तिले रोक्नसक्ने छैन ।

भविष्यमा हुने यस यथार्थ अवस्थाको पूर्वानुमान गरी वैधानिक रूपमा नेकपा नफुट्दै नेतृत्वले विगतमा भएका आ-आफ्ना गल्तीहरूको आत्माआलोचना गरी नेपाल र नेपाली जनताको चाहनाअनुरुप नयाँ ढंगबाट चल्ने आँट गरेमा समग्रमा नेकपा नेतृत्व, देश र नेपाली जनताको हितमा हुनेछ । यसको लागी एक पक्षले अर्कोलाई कहिल्यै उठ्न नसक्ने गरी भित्तामा पुर्याउने असफल कुचेष्टा गर्नुभन्दा विद्यमान सबैको शक्तिको सम्मान गर्दै एकता प्रयास गर्नुमा नै सबैको हितकर छ। विगतमा भनिंदै आएको एक नेतृत्व एक पदको सिद्धान्तलाई आत्मसात गरी माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अवसर दिई एकता हुँदाकै भावनाअनुरूप आगामी महाधिवेशनसम्म के पी वली र प्रचन्डले नेकपाको अध्यक्षता गरी एकीकरणका बाँकी काम  सम्पन्न गरेमा उनीहरुले हालसम्म आर्जन गरेका सम्मानमा कमी नआई राजनीतिक जीवनबाट सफल बिदा हुने अवसर पाउनेछन्।

विगतका कमजोरीबाट पाठ सिक्ने

झन्डै दुई तिहाई मत प्राप्त सरकार र पार्टी बीच समझदारी नहुँदा बेहोर्नु परका सबै परिणामलाई मध्यनजर राखी सरकार र पार्टी  कामकारबाहीको स्पष्ट सीमा रेखा बनाई इमान्दारिताका साथ लागू गरेमा पुनः विगतका समस्याहरूको सामना गर्नु पर्ने छैन । बाँकी दुई वर्षमा नेकपाले निर्वाचन घोषणा पत्रमा बाचा गरेका कामहरु पूरा गर्न कोसिस गर्ने र पूरा गर्न नसकेका कामहरुका विषयमा समग्र पार्टी एकताबद्द हुँदै नेपाली जनतालाई बुझाउँदै आगामी आम निर्वाचनमा गएमा नेकपालाई दुई तिहाई प्राप्त गर्नबाट कुनै पनि शक्तिले रोक्न सक्ने छैन जसबाट नेकपा नेता कार्यकर्ता, नेपाल र समग्रमा नेपाली जनताको जीत हुनेछ ।

 

विदुर खत्री

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री