चार चरणमा बेलायतमा लकडाउन अन्त्य गर्ने योजना

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणको योजना अघि सारेका छन् ।

उनले बेलायतको संसदमा सोमबार बोल्दै पहिलो चरणमा मार्च ८ तारिखदेखि इङल्याण्डमा सबै तहका विद्यालयहरु खुला गर्ने र पार्कहरु जस्ता सार्वजनिक स्थलहरुमा फरक घरका दुई जनालाई कफी पिउन वा पिकनिक गर्न दिने घोषणा गरेका छन् । यस्तै, पहिलो चरण अन्तर्गत मार्च २९ तारिखदेखि घरबाहिर दुई फरक घरका ६ जनासम्मलाई भेट्न पाउने छन् । यस्तै, टेबलटेनिस, बास्केटबलजस्ता खेल पनि खेल्न सोही दिनदेखि दिइनेछ ।

माध्यमिक तहका विद्यार्थीहरुले कक्षाकोठा र करिडोरहरुमा मास्क लगाउनु पर्ने बताइएको छ ।

दोस्रो चरणमा अप्रिल १२ देखि अत्यावश्यक बाहेकका खुद्रा पसलहरु, कपाल काट्ने सैलुनहरु, पुस्तकालय र संग्रहालयहरु पनि खुला हुनेछन् । यस्तै, बियर गार्डेन, मदिराजन्य पेयपदार्थको टेकवे, थिम पार्कहरु र चिडियाखानाहरु पनि सो दिनदेखि सन्चालन हुन पाउने छन् । स्वीमिङ पुलहरु, जिमहरु पनि सोही दिनदेखि खुला हुनेछन् । आफैँले बन्दोबस्त गर्ने होलिडे होमहरु, क्याम्पसाइटहरु पनि सोही दिनदेखि शुरु हुनेछन् ।

तर फरक घरका मानिहरुबीच घरभित्र भेटघाट गर्न भने दोस्रो चरणमा पनि अनुमति दिइएको छैन ।

प्रधानमन्त्री जोन्सनले अन्तर्राष्ट्रिय होलिडेका बारेमा अप्रिल १२ मा बताउने जानकारी दिएका छन् ।

नयाँ घोषणामा पनि अन्तिम सँस्कारमा ३० जना र विवाहमा १५ जनाको हदबन्दी कायम नै छ ।

तेस्रो चरणमा मे १७ देखि स्थिति राम्रो भएमा ६ जनामात्र भेट्न पाउने सीमा खारेज गरी ३० जनासम्म भेट्न पाउने व्यवस्था गरिने छ । दुई घरका मानिसहरु घरभित्र भेट्न पाउने छन् तर पवहरुमा भने ६ जनासम्म मात्र भेट्न पाइने छ । सिनेमा, होटल, खेलकुद, गीत सङ्गीत, नाटक देखाउने स्थानहरु पनि सामाजिक दुरी कायम गरी खोल्न पाइनेछ । १० हजार जनासम्म दर्शक भएका खेल तथा अन्य स्थानहरु सोही मितिदेखि खोल्न पाइने छ । मे १७ देखि विवाह, अन्तिमसँस्कार आदिमा ३० जनासम्म सरिक हुन पाउने छन् ।

सरकारले चौथो चरण जुन २१ देखि सबै किसिमका बाध्यात्मक व्यवस्थाहरु हटाउने योजना बनाएको छ । तर सरकारले तय गरेका योजनाहरु लागू हुनका लागि चार वटा शर्तहरु पूरा हुनुपर्ने पनि प्रधानमन्त्री जोन्सनले प्रष्ट पारेका छन् । जसमा योजना गरिएमुताबिक खोप अभियान अघि बढेमा, खोपका कारण भारइसबाट मानिसहरुको मृत्यु दर घटेको वा अस्पताल भर्ना हुने दर घटेको देखिएमा, संक्रमण दरले अस्पताल भर्नामा वृद्धि नदेखाएमा र नयाँ प्रजातिका भाइरसले लकडाउन गर्न बाध्य नगराएमा छन् ।

प्रधानमन्त्री जोन्सनले आज साँझ आफ्नो कार्यालयमा एक पत्रकार सम्मेलन गरी नयाँ व्यवस्थाका बारेमा विस्तृतमा बताउने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री