आइतबार, फागुन १६ २०७७ | Sun, February 28, 2021
नेपालको समय: १९:३५ | UK Time: 13:50

बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?

वीनेपाली
२०७७ माघ ६ गते ८:०३

डा प्रिय‌ंवदा पौड्याल (बायाँ) र पर्चा (दायाँ)

लण्डन । अहिले बेलायतस्थित नेपाली समुदायका सदस्यहरुको मोबाइलमा कोरोना भाइरसका बारेमा नेपाली भाषामा चित्रसहितको पर्चा पुगेको छ ।
सरल भाषामा नेपाली सँस्कृतिसँग मिल्ने विभिन्न चित्रसहित बनाइएको २८ पेजको सो पर्चा शुरुमा लामो जस्तो लागे पनि सकिएको पत्तै हुँदैन ।
बेलायतमा कोरोना भाइरसको दोस्रो लहर उच्चतम विन्दुमा पुगेको बेलामा यो पर्चा कसले र किन निकाल्यो ? यसको विश्वसनीयता कति छ ? धेरैलाई जानकारी नहुन सक्छ । पर्चाको सिरानमा न्याशनल इन्स्टिच्यूट फर हेल्थ रिसर्च र ब्राइटन एउण्ड ससेक्स मेडिकल स्कुल लेखिएको छ । तर ती संस्थाहरुसित यो पर्चा बनाउनका लागि कसले र कसरी पहल गर्यो होला ? यिनै जिज्ञासाहरुलाई मेटाउनका लागि ब्राइटन एण्ड ससेक्स मेडिकल स्कुलकी जनस्वास्थ्य विषयकी सिनियर लेक्चरर तथा नेपाली र हिन्दी भाषामा सो पर्चा बनाउने परियोजनाका प्रोजेक्ट लिड डा. प्रियंवदा पौड्यालसित हामीले कुराकानी गरेका थियौँ । प्रस्तुत छ कुराकानीको सारसंक्षेप :

नेपाली समुदायका लागि कोभिडका बारेमा पर्चा बनाउनुपर्छ भन्ने आवश्यकता किन महसुस गर्नुभयो ?
कोरोना भाइरसले बेलायतमा जातिय अल्पसंख्यकहरुलाई धेरै नै असर पार्यो । संक्रमित हुने, अस्पताल भर्ना हुने र मृत्यु हुनेहरुमा जातिय अल्पसंख्यकहरुको हिस्सा उनीहरुको जनसंख्याको अनुपातमा धेरै नै देखियो । यसका पछाडि धेरै कारणहरु थिए । जस्तै, संयुक्त परिवारमा बसोबास, अत्यावश्यक सेवाका क्षेत्रमा कार्यरत हुनु आदि । त्यसमाथि जनस्वास्थ्यका विषयमा उनीहरुमा सूचनाको अभाव हुनु पनि एक प्रमुख कारण थियो । सूचनाको अभावका कारण परिरहेको समस्यालाई कम गर्न हामीले ती समुदायहरुको भाषा, सँस्कृति सुहाउँदो सूचना सामग्री बनाउनुपर्छ भनेर समुदायसित शुरुवातदेखि अन्त्यसम्ममै मिलेर काम गर्यौँ ।

एनएचएसले पनि नेपालीमा कोभिड १९ का बारेमा सूचना प्रकाशित त गरिरहेकै थियो नि ?
हामीले एनएचएस र अरु संस्थाहरुले पनि कोभिड १९ का बारेमा प्रकाशन गरेका सूचनाहरु समीक्षा गरेर हेर्यौँ । धेरैजसोमा दिइएको सन्देश जटिल छ । स्वास्थ्यसम्बन्धी अंग्रेजी शब्दहरुलाई नेपालीमा उल्था गरिएको छ । सरल भाषामा सर्वसाधारणले बुझ्न सक्ने गरी दिइएको छैन । सरल भाषामा सूचना दिने मात्र होइन सम्बन्धित समुदायको सँस्कृतिसित मिल्ने खालको सूचना उनीहरुसितै मिलेर बनाउँदा मात्र त्यस्तो सूचना उनीहरुले अपनाउने सम्भावना धेरै हुन्छ । त्यस्तो सूचनाले मात्र राम्रो प्रभाव पार्न सक्छ । त्यसैले अहिले हामीले बनाएको पर्चा सम्बन्धित समुदायकै सहभागितामा उनीहरुको भाषा, सँस्कृति झल्काउने, त्यहीअनुसारको चित्र राखेर बनाएका छौँ । जातिय अल्पसंख्यकको आफ्नै भाषामा यति सरल र आकर्षक पर्चा मैले धेरै देखेको छैन ।

यो पर्चा कसरी बनाउनु भयो ? कति समय लाग्यो ?
झट्ट हेर्दा अंग्रेजी भाषाको सूचनालाई नेपाली भाषामा अनुवाद गरे पुगिहाल्यो नि भन्ने धेरैलाई लाग्न सक्छ तर त्यस्तो होइन । हामीले यो पर्चा बनाउन धेरै चरणहरु पार गर्यौँ । समुदायका मानिसहरुलाई सूचना पाउनमा कस्तो समस्या छ, कस्तो किसिमको सूचना कुन माध्यमबाट चाहनुहुन्छ भनेर सोध्यौँ । उहाँहरुसित अन्तर्वार्ता गर्यौँ, उहाँहरुसितै तीनवटा कार्यशाला गर्यौँ । यसबाहेक जातीय अल्पसंख्यकहरुसित काम गरिरहेका विशेषज्ञहरु र स्वास्थ्यकर्मीहरुसित परामर्श गर्यौँ । त्यसपछि पर्चा डिजाइन गरेर फेरि समुदायसित समीक्षा गर्यौँ र प्रकाशनमा ल्यायौँ । यी सबै कार्य गर्न केही महिना लाग्यो ।

अझै प्रशस्त स्रोतसाधन भएको भए अरु सूचना सामग्री बनाउन सकिन्थ्यो कि ?
हामीले जसको लागि सूचना बनाइँदै छ उनीहरुलाई नै शुरुदेखि अन्त्यसम्म सहभागी गराएर पर्चा बनायौँ । यो अहिले धेरै क्षेत्रमा चलेको मोडल हो । यसलाई कोप्रोडक्सन भनिन्छ । हामीसित सीमित स्रोतसाधन भएकाले पर्चा मात्र बनाउन सक्यौँ । यदि प्रशस्त स्रोत भएको भए रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम पनि बनाउन सकिन्थ्यो । पर्चा पनि विभिन्न खालको बनाउन सकिन्थ्यो ।

कोभिडको महामारीबीच काम गर्न कत्तिको असजिलो भयो ?
अलिकति असर पर्यो । यदि सामान्य अवस्थामा भएको भए समुदायका सदस्यहरुसित आम्नेसाम्ने भएर अन्तर्वार्ता लिन पाएको भए, कुराकानी गर्न पाएको भए अझ प्रभावकारी हुन्थ्यो होला । भौतिक रुपमा भेट्न नपाएपछि प्रविधिको प्रयोग गरेर वृद्धवृद्धाहरुसित कुराकानी गर्नुपर्दा शुरुमा केही असजिलो भयो तर मैले यस परियोजनालाई चुनौतीभन्दा पनि अवसरका रुपमा लिएको छु ।

अन्त्यमा केही भन्नु छ कि ?
कोभिडले गर्दा बेलायतको स्वास्थ्य क्षेत्रमा भएको असमानता बाहिर आयो तर त्यस्तो असमानता स्वास्थ्य क्षेत्रमा पहिलेदेखि नै छ । त्यसैले कोभिडपछि पनि स्वास्थ्य सूचनालाई समुदायसित मिलेर बनाउँदा राम्रो हुन्छ । यही प्रोजेक्टलाई पनि नमूनाको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक