राजनीतिक परिवर्तनको आभाष

केही वृत्तान्त बोकेर आउँदै छु। यो आत्म-प्रवन्चनामा रमाउने आत्मा-वृत्तान्त होइन। यो वृत्तान्त हामीले छोडेर आएकी नेपालको हो। एउटा सन्तानले  जननीको सबै वृत्तान्त पनि त सुनाउन सक्दैन। तपाइँ हामी आफ्नाे आमाको बारेमा कति न भन्न सक्छौं ? एकजना सन्तानले उसको आमाको बारेमा  सुनाउने उसले देखेको र अनुभव गरे जति मात्र हो। त्यहाँ सुनाउनेको दृस्टी हुन्छ, उसको दृस्टिकोण हुन्छ। त्यसैले यो अपूर्ण वृत्तान्त हो, अपूर्ण कथा, सानो एउटा कालखण्डको। त्यसैले यो सम्पूर्ण सत्य होइन, तर असत्य त हुँदै होइन ।

यसले नेपालको सम्पूर्ण भूगोल समेट्दैन। ‘हामी’ ले विचरण गरेको नेपालको भूगोल सानो छ, ‘हामी’ पनि सानो छौं संख्यामा । सानो संख्यामा रहेको हामी, सधैं सत्ताको सार र रुपको निर्धारण गर्न पुग्यो, तर सत्ताको अंश भएन, कोही हुन् नपाएर, कोही हुन नचाहेर । त्यसैले यो वृत्तान्त मेरो एक्लो अनुभव पनि होइन, हामी सबैको हो । मैले पानाहरु भर्दै जाँदा ‘हामी’ मध्येका धेरै जनाले मलाई सच्याउन पनि सक्नु हुन्छ, मैले अघि नै भनि सकें, घटना, वस्तु हेर्दा मेरा दृस्टी कम भएको हुन सक्छ, र कहिलेकाहीं दृष्टिकोणले त्यसको फरक प्रस्तुति पनि गर्न सक्छ। सच्याउने कुनै प्रयत्नलाई म गुरुको आशिर्वादको रुपमा स्वीकार्छु, शारदाको कृपाको रुपमा ग्रहण गर्छु । म प्रारम्भमै नमन पनि गर्छु ।

आत्मा-वृत्तान्त नभए पनि बेला-बेलामा ‘म’ अवश्य आउँछ किनभने  यो वृत्तान्तको स्थान, घटना, र आवाजको साक्षी म पनि हो । एउटा नसोधिएको प्रश्नको उत्तर पछि मात्र वृत्तान्त शुरु गर्नु  उचित लागेको छ । यो पूर्ण सत्य होइन, सम्पूर्ण नेपाल पनि समेट्दैन भने, यो अपूर्ण कथाको आवश्यकता किन ?  यसमा मेरो दृष्टिकोण छ। हामीले सामाजिक र राजनैतिक इतिहास पढ्दा सिङ्गो देश वा क्षेत्र पढ्यौं, बृहत विवेचना (macro-analysis) मात्र । घटनाको अतल गर्तमा हुने स-साना घटनाहरु गर्भमै बिलाए, तर तिनै घटनाहरु नै ठूला घटनाहरुको कारक थिए । त्यसैले स-साना घटना परिघटनाहरु र तिनीहरुमाथि सुक्ष्म दृस्टी र विवेचना (micro-analysis ) जरुरी छ । यसले घटनाहरुको अन्तरवस्तु बुझ्न मद्दत गर्छ । त्यसैले “हामीले देखेको नेपाल” सुनाउने प्रयत्न गरियो ।

नेपाल अनन्तकालदेखि उपस्थित छ। समयको प्रवाहसंगै यसले आकार फेर्यो, सत्ता फेर्यो, सत्तारोहण हुनेहरुको भाषा फेर्यो । ‘हामीले देखेको नेपाल’ अनन्तकालदेखि होइन । मैले देख्दा यो एउटा ठूलो राजनैतिक आँधी-बेहरी भोगिसकेको थियो । आँधीले ल्याएको परिदृश्य जताततै प्रस्ट हुन्थ्यो । विद्यार्थीहरु खुल्ला बोल्न थालेका थिए, सभा सम्मेलन हुने गर्थे । घर घरमा राजनैतिक चर्चा हुन्थ्यो । जनमत संग्रह भैसकेको थियो, ‘सुधारिएको पंचायती व्यवस्था’ लाई विजयी घोषित गरिसकिएको थियो । बिस्तारै शत्रुता पंचायतसंग होइन, शत्रुता अखिल र नेविसंघको बिचमा होकी जस्तो भैसकेको थियो । त्यति मात्र होइन, अखिल पाँचौ र छैठौं त कीर्तिपुरको डाँडा बसेर एक अर्कालाई ढुंगा बर्साउने रमाइलो पनि गरिसकेका थिए । यो सबै २०३६ सालको बिद्यार्थी आन्दोलन पछिका परिदृश्य थियो । कारण अन्त कतै थियो । कारण लोकतन्त्रको अपहरण थियो । कारण पाकिस्तानको राजनीति थियो । नेपालका बिद्यार्थीहरु लोकतान्त्रिक प्रक्रियाबाट सत्तासिन जुल्फिकर अली भुट्टोको फाँसीको विरोधमा सडकमा आएका थिए ।  पंचायती दमनले बिद्यार्थीहरु आफ्नै देशमा बहुदलीय शासन प्रणालीको मागमा उत्रिएका थिए । त्यसभन्दा केही वर्ष अघि, नेपालकै पूर्वी सीमासंगै टाँसिएको नक्सलबाडीमा कम्युनिस्ट विद्रोह भएको थियो, वारिपट्टि नेपालको झापामा त्यसैको प्रभाव परेको थियो । २०२८ सालमा त्यहाँ पनि सानो सानो विद्रोह भयो । नक्सलवाडी र झापा दुवै आन्दोलन बृहत्तर परिवर्तनको लागि भनिए पनि व्यक्ति हत्याको रुपमा आयो ‘वर्ग शत्रु खतम अभियान’को नाममा । झापा र नक्सलवाडी दुवै विद्रोह दमन गरियो, नेताहरु समातिए । भारतमा चारु मजुमदारको नेतृत्वको पार्टी चिरा चिरा भए । तर नेपाल र भारतमा भित्रभित्रै गरिब बस्तीहरुमा र पढेलेखेको मानिसहरु बीच राजनैतिक प्रभाव विस्तार गर्ने काम भयो । २०३६ सालको बिद्यार्थी आन्दोलन हुँदा नेपालमा कम्युनिस्टहरुको यो धार बलियो भैसकेको थियो । २०३२ मै नेकपा कोअर्डिनेशन केन्द्र बनिसकेको थियो । चौथो महाधिवेशनको धार पनि उत्तिकै सशक्त अवस्थामा थियो । नेपाली कांग्रेस त झन् खुल्ला मंचहरु प्रयोग गरेर सर्वसाधारण बीच पुन: स्थापित भएको अवस्था थियो ।

२०३७ सालको श्रावणमा यो स्तम्भकार १५ वर्षको आसामको प्रवास र स्कुल सकेर जन्मस्थान फर्किने विचारले रेल चढ्दा यी सबै कुरा थाहा थिएन । झापा आएर मावली घरमा केही समय बस्दा २०३६ सालले ल्याएको परिवर्तन प्रस्ट देखिन्थ्यो । सबैमा देखिने गरि राजनैतिक रुपले आकर्षित गर्नु पर्छ भन्ने धारणा थियो । छेउमा को छ भन्ने आधारमा गीत गुनाइन्थ्यो । आएकै भोलिपल्ट प्रवासी लक्षित गरेर गीत सुने, जुन रामेश मन्जुल दाइहरुको टोलीले पछि पछि पनि मंचमा बृहत श्रोताको लागि गाएको सुनें । यसको उद्देश्य थियो प्रवासतिर

बसाई हिंड्नेको ताँतीले

बस्नेको मन रुवाउँदछ

लाखौँको लागि उजाड छ यो देश

मुट्ठीभरलाई त स्वर्ग छ  …

महिला विद्यार्थीहरुको बीचमा ‘आमा दिदी बैनी हो कत्ति बस्छौ, दासी भै’ भन्ने गीत सारै प्रचलित थियो । रामेश मन्जुलका कार्यक्रमहरुमा पनि त्यसबेला यौ गीत सारै मन पराइन्थ्यो । यस्ता गीतहरु पढेलेखेका हुन् वा खेतिकिसानी गरेर जीवन चलाएका हुन् सबैलाई राजनीति बुझाउने माध्यम बनेका थिए । त्यस्तै अर्को एउटा गीत थियो जो समसामयिक नेपालमा संगठन निर्माण गर्न अति महत्वपूर्ण साबित भयो ।

 “मानिस छुत अछुत म भन्दै भन्दिनँ

जाति र पाति छुट्याउने रित म मान्दै मान्दिनँ…

वर्णाश्रम प्रणालीमाथि गरिएको यो प्रहारले युवाहरु र दलितवर्गलाई राजनीतिमा तान्न प्रेरित गर्यो ।

यी थिए “जनवादी गीत” । दिउँसै गाउँथे, खुल्ला गाउँथे । मानिसहरुलाई आकर्षित गरेर संगठित गर्न प्रेरित गर्थे । बिद्यार्थी भए बिद्यार्थी संगठनमा, महिला भए महिला संगठनमा, दलित भए दलित संगठनमा । “क्रान्तिकारी” भूमिगत गीत बेलुका सुन्न पाइन्थ्यो । सम्पर्क दिन बेलुका आएर बेलुका भरि पढाउने ‘कमरेड’ हरु यस्ता गीत सुनाइ रहन्थे । भर्खर चीनमा सांस्कृतिक क्रान्ति, नक्सलबाडीको नक्सलवादी आन्दोलन र झापा आन्दोलन सकिए पछि, सांगठानिक रुपमा केही सुधार र राजनीतिक लाइन केही परिमार्जन गरे पनि  त्यसका प्रभाव गीतहरुमा थियो । त्यस्तै एउटा गीत थियो:

कामरेड, कामरेड, कामरेड

हामी एक्लो छैनौं है

विश्वक्रान्ति हाम्रै हो

साम्राज्यवादको ध्वंसको युगमा

माओत्सेतुङ्ग युगमा हामी छौं है

विजय हाम्रै हुन्छ ।

कामरेड, कामरेड, कामरेड……

त्यतिखेर भर्खर माओको तेस्रो विश्वसम्बन्धी धारणा आइरहेको थियो र चिनियाँहरु अझै पनि अन्तर-रास्ट्रिय सहयोग गरिरहेका थिए । यो गीत त्यसैले विश्वक्रान्ति को लाइनमा थियो ।

यस्ता गीतहरु त्यो कालमा निकै थियो । पार्टी एकतालाई प्रोत्साहित गर्ने गीतहरु पनि प्रशस्त गाइन्थे । यस्तै एउटा गीत थियो, अलि पछिको, तर रास्ट्रिय पार्टी बनाएको संदेश दिने खालको । झापाली र दंगाली कम्युनिस्टहरुको एकताको संदेशले देशब्यापी रुपमा संगठन बन्दैछ भनेर कार्यकर्तालाइ उत्साहित गर्ने काम गरिएको

शोषण जहाँ हुन्छ
त्यो ठाउँ झापा हुन्छ
शोषित मान्छे जो हुन्छ
त्यो झापाली हुन्छ…

लाल सलाम दङ्गालिलाइ
हामी झापालिको

दुरराज पहाडमा, अनौपचारिक शिक्षा नभएकाहरुको बिचमा पनि राजनीति यसरि नै पुगिसकेको थियो २०३७को पूर्वार्धमा । झापामा मावलीमा बस्दा बस्दै म मेरो जन्मस्थान इलाम गएँ । इलामबाट हिंडेर माइखोला माथिको बाँसको साँघु तरेर शिरिसे गाउँ पुगेर त्यहीं बसें केही हप्ता । पशुपति नगरबाट नजिक पर्ने त्यो गाउँ विचारको हिसाबले रातो भैसकेको थियो । तिनै गीत, तिनै ब्याख्या, तिनै उत्साह थियो मेरो बुवाभन्दा जेठा मेरो ठूलो बाको पनि । मेरो अठार वर्षे उमेरले समेत बुझ्यो, नेपाल परिवर्तन हुँदैछ ।

अझ इलाम त् किन परिवर्तन नहोस् ! यहाँ त रत्नकुमार वान्तवाजस्ता जिनियसहरुको श्रम र बुद्धि खर्चिएको थियो ।

क्रमश….

(डा. कृष्ण उपाध्यायको यो स्तम्भ अबदेखि हरेक आइतबार वीनेपालीमा प्रकाशन हुनेछ । सम्पादक)

प्रतिक्रिया

सम्बन्धित सामाग्री