मातृभूमिको प्रसव पिडा र राष्ट्रिय एकता 

हाल विश्वमा अस्तित्वमा रहेका विभिन्न देशहरु राष्ट्रिय एकताको परिणाम स्वरुपनै आफ्नो अस्तित्वको रक्षा गर्दै अगाडि बढिरहेका छन्। बाईसे र चौबिसे तथा अनेकौं राज्य रजौटाको रुपमा छरिएर एकआपसमा भिडन्तमा ब्यस्त साना साना टुक्राहरुलाई राष्ट्र निर्माता पृथ्वीनाराण शाहबाट एकीकृत नेपालको निर्माण नभएको भए सायद नेपाल विश्वको ईतिहासमा कहिले पनि कसैको गुलामी नस्विकारी स्वतन्त्र रहेका नौ राष्ट्रमध्ये एक स्वाभिमानी राष्ट्रको रूपमा सुनौला अक्षरले अकिंत हुन सफल हुने थिएन । हाम्रा महान बहादुर पुर्खाहरुले आफ्नो ज्यानको बाजी लगाएर नेपाल आमाको अस्मिता बचाई हामीलाई सुम्पिएको नासोमा बिस्तारवादी भारतको कुदृष्टिले विगत लामो समयदेखि हाम्रो ठूलो भूमि हडपिरहेको छ। यसबाट नेपाल तथा नेपाल बाहिर रहेका हामी सबै नेपालीहरुको मुटुमा तीर रोपेको पिडा भइरहेको छ।

 नेपालको गणतान्त्रिक स‌ंविधान २०७२ लाई संविधान सभाबाट पास गर्दा ९३ प्रतिशतले मात्र समर्थन गरेकोमा हाल भारतले अनधिकृत रूपमा कब्जा गरिरहेको भूभागलाई समेटेर नक्सा प्रकासित गर्नुका साथै संविधानको अनुसूची ३ मा रहेको निशाना छाप संसोधनको लागि संसदमा रहेको प्रस्ताव प्रतिनिधि सभाबाट एकमतले पारित हुनुले सबै नेपालीहरुलाई अत्यन्तै खुशी बनाएको छ। यसबाट राम्रो कामको थालनी गर्दा नेपाली जनता नेपाल सरकार र दलहरूको  प्रशंसा गर्न कन्जुस्याई गर्दा रहेछन् भन्ने तथ्य पनि उजागर भएको छ । सारा नेपाली जनता यथार्थमा आफ्नो भूभागको स्वामित्व छिटोभन्दा छिटो फिर्ता पाउनु पर्छ भनेर आ-आफ्नै ठाउँबाट आवाज बुलन्द पार्दैछन् र यो क्रम निरन्तर जारी रहोस्। सबै राजनीतिक दलहरुको नेपाल सरकारसँग आ-आफ्ना गुनासा र असन्तुष्टी भएतापनि राष्ट्रिय हितको लागि यसरी एकजुट रहेको सन्देस विश्वभर प्रवाह गर्न सक्नुले गिध्दे दृष्टी तन्काएर बसेका बिस्तारवादीलाई केही भए पनि झट्का लागेको छ। यस्तै झट्काको पूर्वानुमान गर्दै आफ्नो जासूस काठमाडौं पठाएर हाम्रा राजनीतिक दलहरुमा विभाजन ल्याउने कोसिस नभएको होइन।

लामो समयदेखि हाम्रो भूभाग भारतले हड्पिरहेको भएतापनि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेर गतवर्ष नयाँ नक्सा प्रकासित गरेपश्चात मात्रै आधुनिक प्रविधिको माध्यमबाट बहुसंख्यक नेपालीहरूले जानकारी पाउन सफल भएका हुन्। तत्पश्चात सबै नेपालीहरुले विभिन्न माध्यमबाट नेपाल सरकारलाई आवश्यक र उचित कदम चाल्न दिएको ससक्त दबाबको परिणामस्वरुप नै सबै राजनीतिक दलहरुको साथ प्राप्त गर्दै अगाडि बढ्न प्रेरित गरेको हो। यसबाट हामी सबै नेपाली जनताले मनन गर्नु पर्ने शिक्षा के हो भने यदि हामीले आफ्ना निहित स्वार्थहरूलाई पन्छाएर राष्ट्रिय हितको लागि एकजुट भएर नेपाल सरकार तथा सम्बन्धित निकायहरुलाई प्रभावकारी दबाब दिने हो भने सफल हुन सकिन्छ।

 गरिब र अविकसित देशको रूपमा अल्झिरहनुमा नेपालसंग साधन र स्रोतको अभावले नभई लामो समयदेखि सरकारभित्र तथा बाहिर रहेका राजनीतिक दलसंग आवद्ध विवेकहीन लालची नेता र कार्यकर्ताहरू राष्ट्रको हितमा भन्दा आफ्नो हितमा लिप्त हुनुले हो । के हामी सामान्य नागरिकले पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर एक जिम्मेवार नागरिकको हैसियतले सरकारको चयन गर्दा देखि उनीहरुको ताबेदारी निस्वार्थ भावनाले गरेका छौ त ? छातीमा हात राखेर मूल्यांकन गर्ने बेला भएन ? विगत लामो समयदेखि शासन ब्यवस्था र शासक वर्गलाई दोष थुपारेर उम्किन खोज्ने राजनीतिक नेतृत्वलाई कहिलेसम्म श‌काको सुविधा  दिने हो ?

भारतले रोटी बेटी तथा सांस्कृतिक, धार्मिक र आर्थिक रूपमा नेपालसंग विशेष सम्बन्ध छ भनी जतिसुकै फलाक्दै आएपनि नेपालको स्वाधीनता र विकासको मार्गमा अबरोध नै खडा गर्दै आइरहेको छ। बेलाबेलामा हामीमाथि  लगाएको नाकाबन्दी, हाम्रा प्राकृतिक स्रोतको  कब्जा र विभिन्न ब्यक्तिहरु तथा निकायहरुमार्फत हामी नेपाली बिचमा नै बेमेल सृजना गरी उसका स्वार्थहरू पूरा गर्ने कोसिस गरेको देखिन्छ।

हाल विश्वको महाशक्ति राष्ट्रको रूपमा स्थापित अमेरिका अस्तित्वमा नआउँदै विश्व सम्पदा सूचीमा सूचीकृत हुन सफल पाटन दरबार, हनुमानढोका दरवार, पशुपतिनाथ मन्दिर जस्ता अनेकौं ऐतिहासिक सम्पदा निर्माण गर्नसक्ने क्षमता भएको नेपालले समयअनुकूल विकासको गतिलाई पहिल्याउन नसक्दा आज गरिब राष्ट्रको श्रेणीमा रहिरहनु परेको छ। नेपाल सरकारले सन् २०३० सम्ममा अल्पविकसित राष्ट्रको रूपमा स्थानान्तर हुने लक्ष्य लिएको छ । नेपाली नेताहरु सबैले आ-आफ्ना कमीकमजोरीको मूल्यांकन गरी नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर काम गरेमा यो उद्देश्य पूरा हुन असम्भव छैन।

नेपालका सबै राजनीतिक दलहरु अब्राहम लिंकनले कल्पना गर्नु भएको प्रजातन्त्रको मर्म ,,”जनताको जनताको लागी र जनता द्वारा” भन्ने हो भने सोहीअनुरुप काम गर्न प्रतिवद्ध हुंदै  मुख्यतः नेपालको प्रगतिको घातक भ्रस्टचार विरुद्धमा नेपाली जनताको चाहनाअनुरुप एकतावद्ध हुनुपर्ने होईन ? यसको विपरित सरकारमा रहेको दलका प्राय: सबै नेता तथा कार्यकर्ताहरू मुखमा कुभिन्डो राखिरहेछन् भने सरकार बाहिर रहेका दलका नेता तथा कार्यकर्ताहरू के पाउँ कनिका बुक्याउँ भने झैँ सरकारका सबै कामहरूलाई एउटै डालीमा राखेर विरोध गरिरहेका छन्। सरकार बाहिर रहेका  सबै शक्तिहरू समस्त नेपाली जनताको चाहनाअनुरुप उनीहरुको आवाजलाई बुलन्द बनाई आफ्नो दलमा गोलबन्द गरी सत्ता प्राप्त गर्नुमा भन्दा सरकारलाई सशक्त आक्रमण गरेर सत्तारोहणको हतारोमा देखिन्छन् ।

एक्काईसौं सताब्दीमा नेपाली जनताको चेतनाको स्तरलाई सुक्ष्म विश्लेषण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले भ्रष्टचारको विरुद्दमा एकजुट हुंदै सरकारलाई कानुनी शासनको प्रत्याभूतिको लागि ससक्त दबाब दिई देश विकासमा एकताबद्द भएमा नेपालले केही वर्षमा नै उल्लेखनीय सफलता हासिल गर्नेछ। कोरोनाको कहरले विश्वभर सबै क्षेत्रमा ल्याएको हलचलले नेपाल पनि अछुतो रहन सम्भव छैन। प्रचुर प्राकृतिक स्रोतको धनी भएर पनि पचासौं लाख नेपाली युवा युवतीहरुको रगत र पसिनाले आर्जन गरेको रेमिट्यान्समा निर्भर नेपाली अर्थतन्त्रमा ठूलो धक्का लाग्ने निश्चित छ। समस्या नै प्रगतिको जननी हो भन्ने सिद्धान्तबाट निर्देशित हुंदै नेपालमा रहेका र विदेशबाट फर्किएका लाखौं युवा युवतीहरुलाई उत्पादनको क्षेत्रमा आकर्षित गरी राष्ट्रिय उत्पादनमा वृद्धि गर्न सकेमा खर्बौं नेपाली पुंजी बाहिरिनबाट रोक्न सकिन्छ।

नेपालका सबै राजनीतिक दलहरुमा ईमान्दार र स्वच्छ छवि भएका युवा नेताहरुको कमी छैन। उहाँहरुमा खाली अदम्य साहस र सारा नेपाली जनताहरुको मनोभावनाको प्रतिनिधित्व गर्दै आफू संलग्न रहेको दलका उच्च नेतृत्वलाई दबाब दिन सक्ने राजनीतिक कलाको खडेरी छ। यदि युवा नेताहरुले नेतृत्वको दौराको फेर समाएर मात्रै सत्तामा पुगी जनताको हितमा काम गर्न सकिन्छ भन्ने हीन भावनाबाट माथि उठेर प्रभावकारी तवरबाट नेपाल र नेपालीको उत्थानको लागि एकजुट भएमा पक्कै पनि नेपाल आमाले केही राहत महसुस गर्नेछिन् ।

 

विदुर खत्री

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री