सोमबार, जेठ १९ २०७७ | Mon, June 01, 2020
नेपालको समय: १९:१७ | UK Time: 14:32

कोरोना विरुद्ध बेलायत सरकारले लिएको नीति कमजोर : प्राध्यापक डा. पदम सिम्खडा

वीनेपाली
२०७७ जेठ ८ गते १०:०६

 

ब्रिटेनको युनिभर्सिटी अफ हडर्सफिल्डको स्कुल अफ ह्युमन एण्ड हेल्थ साइन्सेज़का एसोसियट डीन तथा विश्व स्वास्थ्य विषयका प्राध्यापक डा पदम सिम्खडाले नेपालको जनस्वास्थ्य विषयमा विभिन्न अनुसन्धान गरेका छन्।  उनीसंग हामीले कोरोना संकट, नेपाल तथा बेलायतमा यसको असर तथा यो महामारीबाट सम्भाव्य निकासका बारे कुराकानी गरेका थियौँ।  यो सामग्री  नेपाल पत्रकार महासंघ युके शाखाले सञ्चालन गरिरहेको कोरोनासम्बन्धी जनचेतना अभियानअन्तर्गत तयार  गरिएको हो।

बेलायतमा रहेका भूतपूर्व  वृद्धवृद्धा कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताइन्छ । उनीहरु उच्च जोखिममा हुनुको कारण के होला ?

यो अहिले ठूलो चासोको विषय हो । मैले विश्वविद्यालयबाट यस बारेमा अनुसन्धान हुनुपर्छ भनेर लागि परेको छु । हामीले यसको बारेमा अनसन्धान पनि गर्दछौ‌ं । अहिलेसम्म ६० जना नेपालीको निधन भएको समाचार आएको छ । ती मध्ये ११ जना महिला र अरु पुरुष । पुरुषमध्ये धेरै भूतपूर्व सैनिक भनेर आएको छ । जस्तो ५० जना पुरुषको निधन हुँदा त्यो नम्बर ठूलो हो कि अरु जनसंख्याका आधारमा हेर्दा समानुपातिक नम्बर हो त्यो हेर्न जरुरी छ । तुलना नगरी धेरै भन्न सकिंदैन ।  बेलायतमा गैरसैनिक बुढाबुढीको तुलनामा भूतपूर्व गोर्खा परिवारमा बुढाबुढी धेरै भएर निधन बढी भएको देखिएको हुन सक्छ । तर पनि शंका गर्ने ठाउँ भने छ । गैरसैनिक बुढाबुढीको संख्या भएपनि कम देखिन्छ । अहिले हामीले अनुसन्धान गरेर निकालेको निष्कर्षका केही कारण छन् । जसमा पुरानो अध्ययनले के देखाउँछ भने भूपू गोर्खाहरुमा भिडभाडयुक्त बसाईका कारणले छिटो संक्रमण फैलिएको देखिन्छ । जसका कारण उनीहरुको निधन बढी देखियो । यो चाहिं सबै जातीय अल्पसंख्यकमा लागू  हुन्छ ।दोस्रो, भूपू सैनिक बृद्धबृद्धामा पुराना रोगहरु धेरै भएको कुराहरु आएको छ । जसमा सुगर, मुटुको रोग, किड्नी समस्या आदि  ।
तेस्रो, भूपू गोर्खाका परिवार कोही न कोही एनएचएसको अग्रपैक्तिमा काम गर्नेछन् । जस्तो, डाक्टर, नर्स , क्लिनर, केयरर आदि  । उनीहरुको एक्सपोजर कारणले  इन्फेक्सन भएर निधन बढी भएको भन्ने छ । बेलायतको ओएनएसको तथ्यांकमा उच्च जोखिममा स्वास्थ्यकर्मीभन्दा पनि सुरक्षाकर्मी देखिएका छन् । धेरै जसो भूपू गोर्खाहरु सुरक्षाकर्मीका रुपमा काम गर्ने भएकाले त्यहाँबाट एक्स्पोजर भएको हो कि भन्ने छ । त्यसले गर्दा अहिलेसम्म यही कारणले भन्न गाह्रो छ । भीडभाडको बसाई, एक्स्पोजर यी कारणले बढी निधन भएको हुन सक्छ ।
अर्काे अध्ययनले के देखाएको छ भने उहाँहरु आर्मीमा रहंदा पोस्ट ट्राउमेट्रिक स्ट्रेस डिसअर्डर(पिटिएसडी) भएका हुनाले हर्माेनलका कारणले पनि सहन गर्न सक्ने मेकानिज्म दिमागमा कम हुन्छ । त्यो पनि अध्ययन गर्न जरुरी छ । त्यसपछि मात्र ठ्याक्कै भन्न सकिएला ।

एनएचएस, पव्लिक हेल्थ इंग्ल्याण्ड र व्रिटिश सांसदहरुले गोर्खाका जीवन जोखिमका बारेमा केही बोलेको देखिंदैन । त्यो चाहिँ हामीले उनीहरु समक्ष आफ्नो कुरा पुर्याउन नसकेर हो कि ?
एकदमै हो । ब्रिटेनमा झण्डै ४० हजार निधन हुँदा ४० जनाको निधनको कुरा ठूलो भएन । यदि डिसप्रोपोसनेटली चाहिं यी मान्छे मरेका हुन् भने हामीले कुरा बाहिर ल्याउनुपर्छ । तर कुनै पनि लविङ गर्न तथ्यांक चाहिन्छ । अनुसन्धान गर्न पर्छ । प्रारम्भिक तथ्यांक हामी छिटो ल्याउँछौं ।

भूतपूर्व गोर्खाहरुको जीवन जोगाउन नेपाली समुदायले के गर्नु पर्ला ?

यसमा थुप्रै कुरा छ । यहाँ केही साथीहरुले गोर्खाहरु बिमारी भएको बेला अस्पताल जाँदा भाषाअनुवाद गर्न मान्छे लान पाएनन् । अंग्रेजीमा सबै कुरा भन्न सकेनन् । त्यसकारण आपतकालीन अवस्थामा पनि अंग्रेजी भाषाअनुवाद गर्ने मानिसको सुविधा हुनु पर्छ भनेर केही साथीहरुले कुरा उठाउनु भएको थियो । त्यसले कति असर पारेको छ त्यो हेर्न जरुरी छ । ती सबै कुरालाई हेर्न सक्यौँ भने उनीहरुको अन्डरलाइंग हेल्थ कन्डिसन के हो, के कारणले उनीहरुमा यो समस्या आएको हो भनेर अलिकति कारण थाहा भयो भने यो कारणले बढी मृत्यु भएको छ भन्ने सकिन्छ । पूर्वगोर्खाका निधन अरु अल्पसंख्यक समुदायको तुलनामा बढी हो कि होइन भनेर स्थापित गर्न जरुरी छ । त्यो भएपछि हामीसंग प्रमाण हुन्छ । त्यो प्रमाणका आधारमा हामी बोल्न सक्छौं  ।

युके सरकारले कोरोना भाइरस नियन्त्रण गर्न लिएको नीतिलाई कसरी हेर्नु भएको छ ?

कोरोनाले ग्लोवल हेल्थ फिल्डमा नयाँ आयाम थपेको छ । नयाँ आयाम यो अर्थमा कि जनताको स्वास्थ्य राम्रो हुनलाई त्यो देश धनी हुनुपर्छ । पर्याप्त डाक्टर, अस्पताल, हेल्थ सिस्टम राम्रो हुनु पर्छ भनिन्थ्यो। त्यो सत्य हो । कोरोनाले त्यतिले मात्रले पुग्दो रहेनछ भन्ने देखाएको छ । यदि सरकारले आपतकालिन अवस्थामा लिने आपतकालिन नीति ठीक भएन भने ती सबै भएर पनि जनतालाई राम्रो स्वास्थ्य उपचार दिन सक्दो रहेनछौ । गाह्रो रहेछ भन्ने देखायो । म दुई वटा उदाहरण दिन्छु : संसारकैे धनी देश अमेरिका, जिडीपी धेरै भएको देश अमेरिका । त्यो देश धनी भएर पनि ८० हजार भन्दा बढी मानिसको निधन भैसक्यो । विश्व जनसंख्याको  तीन प्रतिशत मानिस बस्ने अमेरिकामा मृत्यु हुनेहरुमध्ये २५ प्रतिशत अमेरिकन रहेका छन् । जति धनी भएपनि समयमै नीति नियम बनाउन नसक्दा यस्तो भएको हो । अर्काे कुरा हेल्थ सिस्टम, हेल्थ वर्कर र स्किलको कुरा गर्नु हुन्छ भने बेलायतको एनएचएस विश्वभर बेस्ट हेल्थ केयर सिस्टम मानिन्छ । बेलायत संसारको पुरानो र हाइली सोफिस्टिकेटेड अस्पताल र टेक्नोलोजी भएको देश हो । बेलायतमा हाइली क्वालीफाइड डाक्टरहरु छन् । प्राय यही ट्रेन्ड भएका डाक्टरले विश्वभर अध्यापन गराउंछन् । हेल्थ सिस्टम, वर्कर, हस्पिटल लगायतका सबैकुरा हुंदा पनि युरोपमा सबैभन्दा बढी मानिस बेलायतमै मरेका छन् । अझै तथ्यांक तुलना गर्ने बेला भएको छैन । प्रारम्भिक तथ्यांकका आधारमा हेर्ने हो भने के देखाउंछ भने हेल्थ सिस्टमको चारवटा आधारभूत कुरा भएर पनि यदि हाम्रो आपतकालिन नीति राम्रो भएन भने मानिसलाई जोगाउन नसकिने रहेछ भन्ने देखियो ।

बेलायतमा कोरोनाविरुद्ध सरकारले लिएको नीतिमा केही कमी कमजोरी छ । सुरुदेखि नै म नकारात्मक सोचाईमा थिएँ । यदि १२ मार्चदेखि सरकारले लकडाउन गरी टेस्ट एण्ड ट्रेसिङ गरेको थियो भने अहिलेको मृत्यु हुने भन्दा आधाको मात्र मृत्यु हुने थियो । यो धेरै ढिला भयो । छिटो लकडाउन गरेको भए छिटो खोल्न पनि सक्थ्यो । मृत्युदरलाई कम गर्न सक्थ्यो । एक, लकडाउनमा ढिलाई भयो । दोस्रो, कुरो हर्ड इम्युनिटी कन्सेप्ट ल्याइयो । हर्ड इम्यूनीटीको कारणले मानिसहरु एक्सपोज भए भने पछि रिकभर हुन्छ । सबैलाई एकपटक एक्सपोज हुन दिऔं भने । तर यो रोगको सिभिरिटी र रोगले मार्न सक्ने स्थिति हेर्दा हर्ड इम्युनिटीको कन्सेप्ट गलत थियो । त्यसमा सबै मानिसले विरोध गरे । जुन रोगले लाखौँ मानिसलाई असर गर्न सक्छ । जुन रोगको म्याक्सिन छैन । त्यसमा हर्ड इम्युनिटीको कन्सेप्ट गलत हो । अर्काे कुरा कोरोना संक्रमणमा भएको कमजोर पक्ष भनेको के हो भने मानिसलाई अरु देशको तुलनामा यो रोगको सिभियारिटीलाई तीन तहमा बाँडन सक्छौं  । सुरुमा माइल्ड अवस्था :  सामान्य  लक्षण देखिने खालको ।
दोस्रोमा मोडरेट अवस्था (ज्वरो भएर वेडमै सुत्नु पर्ने अवस्था) । तेस्रोमा  एकदमै सिरियस अवस्था, जहाँ बोल्न पनि गाह्रो भएर अस्पताल भर्ना गर्नुपर्ने ।
अरु देशमा के देखिन्छ भने दोस्रो अवस्थामा इन्फेक्सनबाट जोगाएर मानिसलाई समयमा अस्पताल पुर्याएर उपचार गर्दा बाँच्ने रेट राम्रो छ । यहाँ चाहि त्यो गरिएन । मानिसलाई एकैपटक अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल आउनु भन्ने एडभाइस भयो । अहिले अलिकति परिवर्तन गरेको छ । जसले गर्दा मानिसहरु लास्ट स्टेजमा अस्पताल पुगे र बांच्ने दर कम भयो । क्लिनिकल उपचारमा मेकानिकल भेन्टिलेटर राखियो । मेकानिकल भेन्टिलेटरमा गएको मानिस मध्ये ५० प्रतिशत मात्र बांच्छन् । त्योभन्दा अघिल्लो स्टेजको उपचारलाई प्रभावकारी हुन्छ भन्ने कुरा अहिले आइरहेको छ । अन्तिम अवस्थामा बोलायो र मेकानिकल भेन्टिलेरमा राख्यो । अक्सिजन भेन्टिलेरमा होइन । त्यसले धेरै मृत्युदर बढायो ।
बेलायतमा हेर्ने हो भने गरीब, धेरै मानिस बस्ने ठाउँ र हाई रिस्क जागिर गर्ने मानिसमा मृत्युदर बढी छ । संरचनागत, अपर्याप्त स्वास्थ्यका फ्याक्टरहरु महत्वपूर्ण छ । त्यसले गर्दाे बेलायतले लिएको नीति गलत छ । सरकारको प्राथमिकता अहिले स्वास्थ्यलाई दिने कि अर्थतन्त्रलाई दिने भन्ने द्धिविधा छ । दुवैको व्यालेन्स कसरी गर्ने भन्ने महत्वपूर्ण कुरा हो । अर्थतन्त्र सकियो भने अर्काे नतीजा के हुन्छ  भनियो । तर, यो सरकारले चीनमा जनवरीमा कोरोनाको पोजेटिभ केस भएपछि मार्चसम्म तयारीको समय थियो । त्यो समयलाई सदुपयोग गर्न सकेन । लकडाउनमा ढिलाइ, विण्डो अवधिको समय सदुपयोग गर्न नसक्नु, अण्डरलाईन हेल्थ इनइक्वालिटीको समस्या थियो । त्यो समस्याले गर्दा दुर्भाग्यवस बेलायत धेरै मृत्यु हुने मुलुकमा पुग्यो ।

अहिले पनि कतिपय नीतिहरु पर्ख र हेरको अवस्थामा छन् । कोरोना भाइरस नयाँ भएकाले यही नै रोड म्याप हुन्छ भनेर दिन गाह्रो छ । बेस्ट डिल गरेका मुलुक जर्मन र न्यूजिल्याण्डलाई हेर्ने हो भने यो रोगलाई घटाउन सकिन्छ भन्ने देखाउँछ । अझै पनि यहाँको नीति नियममा म यही फिल्डको भएकाले नकारात्मक छु । जति गर्न  सकिन्थ्यो त्यति गर्न सकिएन भन्ने मेरो ठम्याई छ ।

अब नेपालको कुरा गरौँ। कोरोनालाई नियन्त्रण गर्न नेपालले के कस्तो तयारी गर्न पर्ला ?

नेपालीलाई कोरोना लाग्दैन, नेपालमा कोरोना आउँदैन, नेपालीमा बढी इम्युनिटी पावर छ, नेपालमा हुने कोरोना भाइरस अरु भन्दा फरक छ, त्यो भएर नेपालीलाई केही हुँदैन भन्ने कुरा भ्रम हो । हाम्रो भौगोलिक अवस्थालाई हेर्ने हो भने यो भाइरससँग लड्न सहज छ । जहाँ बढी स्पेस छ, उचित भ्यान्टिलेसन छ, जहाँ बढी हावा चल्छ, ती ठाउँमा भाइरसका प्रकोप कम छ । जहाँ मेट्रो छैन, जहाँ मानिस ओभर क्राउडेड भएर नाइट क्लव, पब छैनन् त्यहाँ भाइरस ढिलो फैलिएको छ । हाम्रोमा यस्ता अवस्था कम छ । त्यसैले यहाँको जस्तो स्थिति हुन्छ जस्तो मलाई लाग्दैन । तर स्थिति बिग्रियो भने बेलायत जस्तो मुलुकले कोप गर्न सकेन भने नेपाल जस्तो देशमा यसले भयावह  स्थिति ल्याउँछ । तर, नेपालको कोरोना संक्रमितहरुमध्ये ९० प्रतिशत भारतबाट आएका छन् । त्यसमा भारतमा केस बढेपछि मानिसहरु नाकामा आएर बसेका छन् । जुन तरिकाले मानिसलाई म्यानेज गर्याे । त्यो तरीकाले रोग नियन्त्रण गर्न सकिँदैन भन्ने कुरा एचआईभी र ड्र्रग युजरको समस्यामा देखिएको छ ।

हामीले के चाहिँ गर्नु पर्दथ्यो भने नाकामा आएको मानिसलाई इमरजेन्सी पिसिआर टेस्ट गर्ने, पोजेटिभ भएको मानिसलाई अस्पतालमा राख्ने, नेगेटिभ भएको मानिसलाई व्यवस्थित ढंगले क्वारेन्टाइनमा राख्ने र ‘लौ तिमीहरु खुला रुपमा आउ । तिमीहरु नभाग, यो तिम्रो लागि पनि हो । यो तिम्रो परिवारको लागि हो । तिम्रो समाजको लागि हो र देशको लागि हो’ भनेर गरेको भए राम्रो हुन्थ्यो । अहिले मानिसलाई खोला पारी थुन्ने गर्दा मानिसहरु खोला तरेर आउने, काँडेतार नाघेर आउने, रातिराति लुुकीलुकी आउने गरे । भागेर आएपछि उनीहरु लुक्न थाले । अनि खुला रुपमा टेस्ट गर्न जान वा भन्न सकेन । त्यसकारण यस्तो अवस्थामा एकदमै सतर्कता अपनाउनु पर्छ । जस्तो : थाइल्याण्डमा एचआईभी फैलिएपछि मानिसले सुरुमा के सोच्यो भने मानिस कण्डम लगाएर सेक्स वर्करकोमा जान्छ । यदि कण्डम नै व्याण्ड गर्दियो भने मानिस डरले जाँदैन भन्ने भएर कण्डममा रेस्टिक्सन थियो । त्यो कदमले झन् बढी मानिसहरुमा एचआईभी संक्रमण देखियो । मानिसहरु जाने नै रहेछ जे भएपनि भनेर रेड लाइट एरिया छुट्याउनेदेखि अत्यधिक मात्रामा कण्डमको प्रमोसन भयो । रेन्टुरेन्टकै नाम कण्डम एण्ड क्यावेज राख्नेदेखि सांसदलाई नै मिस्टर कण्डम भनेर चिन्ने अवस्थाको प्रचार प्रसार गरेर यो पार्ट अफ डेली लाइफ जस्तो बनाउँ भनेर मानिसमा भएको संकोच हटाएपछि ८५ प्रतिशत एचआईभी संक्रमण घटेर १५ प्रतिशतमा झरेको थियो । ड्रग युजरहरुको पनि त्यस्तै भएको थियो । पहिले ड्रग युजरले सिरिन्ज माग्दथे । सिरिन्ज शेयर गरेर धेरै एचआईभी सर्याे । पछि सिरिन्ज सजिलै पाइन थालेपछि र प्रयोग भएको सिरिन्ज एक्सचेन्ज कार्यक्रम राखि दिएपछि त्यो पनि घटेर गयो । यसको म्यासेज के हो भने जो मान्छे भल्नरेवल छ, ती मानिसहरुसँग हामीले समयमै खुला कुरा गरेर त्यो समस्यालाई समाधान गर्याे भनेदेखि यस्तो भाइरल रोग नियन्त्रण गर्न सजिलो हुन्छ ।

नेपाल सरकारले अपनाइरहेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) टेस्टको औचित्य थिएन । यसले अर्लि स्टेजमा हेल्प गर्छ । आरडिटी अहिलेका इन्फेक्सन देखाउने भन्दा पनि हिजो इन्फेक्सन थियो कि थिएन भनेर देखाउने हो । जुन देशमा इपिडेमिक प्रारम्भिक अवस्थामा भएको बेला हिजो थियो कि थिएन भनेर चेकजाँच गर्नु भन्दा अहिले चाहिँ कसलाई छ भनेर एक्टिभ केस डिटेक्ट गर्नु पर्ने जरुरी छ । त्यो काम आरडिटीले गर्दैन । त्यहाँ आरडिटी गरेर निगेटिभ वा पोजेटिभ गरेपनि फेरि पिसिआर नै गर्नुपर्छ । आरडिटीमा गर्ने खर्च पिसिआरमा लगाएको भए बढी उत्पादनशील हुन्छ । तैपनि कोरोना नियन्त्रण गर्न, ट्रेस गर्ने, टेस्ट गर्ने, ट्रयाक गर्न महत्वपूर्ण छ । भारत र बाहिर भएका नेपालीहरुलाई नेपाल आउने मानिसलाई व्यवस्थित ढंगले आउने वातावरण मिलाएर उनीहरुलाई राम्रो सँग चेक, क्वारेन्टाइन र रिहाविलिटेसनको जुन तीन वटा प्रोसेस छ, त्यो गर्याे भने हामीले डिल गर्न सक्छौं। नत्र, म त के देख्छु भने विश्व स्वास्थ्य संगठनले अल्पविकसित मुलुकमा यसको वेभ अलि पछि आउँछ र यो झन सिरियस हुन्छ भनेर अनुमान गरेको छ । मलाई लाग्छ, नेपालमा कुनै हदसम्म समुदाय स्तरमै फैलिसकेको छ । नेपालमा कोरोनाको स्थिति सोचे भन्दा बढी सिरियस भए जस्तो लाग्छ मलाई पव्लिक हेल्थको विद्यार्थीको नाताले ।

अहिले सवैलाई घरमा बस्नु भनिएको छ । आइसोलेसनले कति प्रभाव पार्न सक्छ ?

अहिले अलिकति परिवर्तन भएको छ । यसमा पनि विवाद छ । स्कटल्याण्ड र वेल्सले स्टे होम भनिरहेको छ भने यहाँ स्टे अलर्ट भनिएको छ । अहिलेसम्म देखिएको प्रभावकारlता भनेको मानिसको कन्ट्याक्ट कम गराउने हो । आइसोलेसन र सामाजिक दुरी नै महत्वपूर्ण हो । मेरो विचारमा त्यसलाई नै प्राथमिकतामा राख्नु पर्छ । जर्मनी र साउथ कोरियाको उदाहरण हेर्ने हो भने दक्षिण कोरियाले खोलेका नाइट क्ववबाट संक्रमण फैलियो । त्यो कारण अहिले फेरि बन्द गर्याे । यो एकदम महत्वपूर्ण छ ।

विकसित र स्वास्थ्य पूर्वाधार राम्रो भएको ठानिएको देशहरुमा पनि मृत्युदर निकै उच्च देखिन्छ । के कारण हो ?

रोग लागि सकेपछि अस्पतालमा लगेर जतिसुकै राम्रो टेक्नोलोजी भएको ठाउँमा राखेपनि मेकानिकल भेन्टिलेटरमा राखेपछि मानिसको बाँच्ने रेट भनेको ५० प्रतिशत मात्र हो । १०० जना मेकानिकल भेन्टिलेटरमा राख्दा ५० जना मात्र बाँच्ने गरेका छन् । अझ यो बृद्धबृद्धाहरुमा आउटकम झन नराम्रो छ । वयस्कमा आउटकम राम्रो छ । यो रोगको नेचरले नै धेरै मानिसलाई असर गरेको छ ।

नेपाल जस्तो मुलुकहरुका लागि जनस्वास्थ्यमा लगानी बढाउन किन जरुरी छ ?

यसले स्पष्ट रुपमा देखाई दियो । सार्वजनिक स्वास्थ्यमा सुविधा भएको भए, समयमा ट्रेस, ट्रयाक र टेस्ट गर्ने अवस्था रहिदिएको भए, कतिपय रोगहरु यस्ता हुन्छन् ‘प्रिभेन्सन इज बेटर देन केयर’ पनि भनिन्छ । अर्काे कुरा सार्वजनिक स्वास्थ्यको लगानी चाहिं दीर्घकालिन फाइदा धेरै कुराले हुन्छ । बेलायत सरकारले गएको १० वर्षमा हेल्थ एण्ड केयरको लगानी घटाएको रहेछ । त्यसले गर्दा यो अवस्था आएको हो भनेर एउटा मिटिङमा तथ्यांक केलाउँदा थाहा भयो । हाम्रो जस्तो देशमा पनि र विकसित देशमा पनि राम्रो स्वास्थ्य सेवाको मेकानिज्म छ । त्यहाँ सावधानी अपनाउने,  शिक्षित गर्ने र ट्रयाक गर्ने, ट्र्रेसिङ गर्ने, जुन पनि रोग व्यवस्थापनमा जे कुरा चाहिन्छ त्यो सार्वजनिक स्वास्थ्य राम्रो भएको देशमा समयमा व्यवस्थापन गरिएको छ । आर्थिक अवस्था राम्रो नभएपनि राम्रो सार्वजनिक स्वास्थ्य सेवा, मेकानिज्म विकास गरेको छ भने रोग फैलिने क्रमलाई रोक्ने गरिएको छ । रोग फैलिन रोकेपछि अस्पताल जाने कम हुन्छन् । अस्पताल जाने कम भएपछि मृत्युदर कम हुन्छ । त्यसैले सार्वजनिक स्वास्थ्यको इन्भेष्टमेन्ट नै महत्वपूर्ण रहेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक