शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १६:१७ | UK Time: 11:32

गलत नम्बर

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ वैशाख ९ गते ९:५७

पूर्वकथा

भन्छन् गलत घडीले पनि २४ घण्टामा दुईपटक सही समय जनाउँछ । घडी पहिले पनि सूर्य, चन्द्रमा, तारा हेरेर वा आफ्नै छायाँको आँकलन गरेर समय बुझ्ने बुझाउने कालखण्ड पनि थियो । ती पूर्वजका दिनचर्यामा कसरी आधुनिक प्रविधि जोडियो र घडीको रुपमा नगरको चोकमा घण्टाघर बन्यो । चर्च, मन्दिरमा घण्ट बज्यो । दक्ष अनुसारका घरका भित्तामा, नाडीमा समय बस्यो ।

हामी त्यही समयको रुटीनमा चलिरहेका छौँ भनौं वा दास भएका छौं त्यो गहन तर्कको विषय हुन जाला । सही गलत भन्ने निर्णय पनि हामीले नै निर्धारण गर्यौं । तर हामीले मानेका कतिपय गलत मानकहरुले सही परिणाम पनि दिएका छन् । मेरो प्रयास त्यस्तै एक गलत फोन नम्बरका कारण सही जीवनयापन गरिरहेको परिवारको कथा हो । कथाहरुको रुमानी सञ्जाल हामीले बाँचेको समयमा टिकटिक गरी घुमिरहेको हुन्छ । कसैको घडीको आवाज र समय सूचना सबैले थाहा पाउछन् ती लेखक कहलाउँछन्, धेरैजसोको समय सुस्तता आफैँमा सीमित भइ आफैंलाई चलाइरहेको हुन्छ । तिनीहरु लेखक त बन्दैनन् तर उनीहरु कथानक जीवन बाँचिरहेका हुन्छन् । उनीहरुको समीपमा जाने, भोग्ने, सुन्नेले उनीहरुका जीवन्त कथा पढेका हुन्छन् ।

यस्तै भयो मेरो साक्षात्कार पनि कथाजस्तो जीवन व्यथित गरिरहेका उनी र उनको परिवारका बारेमा थाहा पाएपछि जानी नजानी उल्लेख गर्न मन लाग्यो । यो कथा भयो वा अकथा पाठकहरुको विचार तर मैले देखेको कुरा लेखेकोछु । बिश्रान्तियाम, फूर्सदमा समय कटाउने मेसो बनेर गलत नम्बरले हात लाएको सही तथ्य चित्रण यस्तो छ ।

कथा

भोजपुरको पहाडी गाउँमा जन्मिएका एक बालक ठूलो भएपछि ब्रिटिस आर्मी बन्ने सपना बोकेका राई लिम्बुहरुसँगै हुर्केबढेका थिए । छरछिमेकमा लाहुरेको मानसम्मान जति ठूलो अरु कुनै कुरा थिएन । स्कुलको संख्या एकदमै कम थियो, पढ्नेभन्दा पनि श्रमको महत्व बढी थियो । ०३५/३६ सालको आन्दोलनताका त गर्भमा पनि नआएका बालकहरु ०४५/ ४६ सालतिर भने बिद्यार्थी आन्दोलनमा समाहित भइसकेका थिए । समाज परिवर्तनको लहर जो चलेको थियो, त्यसले बालक बृद्ध सबैलाई समातेको थियो र अन्याय भएको छ त्यसको न्याय र अधिकारको लागि आवाज उठाउनुपर्छ भन्ने विचार प्रवाहित भएको थियो । प्रजातन्त्रको आवश्यकता मानेर उठेको आवाज आफ्नै रुपमा अघि बढेको थियो भने कम्युनिष्ट राजनीतिको सक्रियता अरुभन्दा उग्र थियो । त्यसैको राँकोमा ती बालकबाट युवामा उक्लन लागेका कर्मराज खड्का पनि जोडिए । २०४९ सालमा एसएलसी उत्तीर्ण गरेर थप अध्ययनको लागि विराटनगर झरे र महेन्द्र मोरङ क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण भए । २०५२ सालमा जनयुद्ध शुरु हुँदा उनी भर्खरै स्नातक पहिलो वर्षमा भर्ना भएका थिए । राजनीतिक सुझबुझ त छँदै थियो तर किन किन नाक लामो भएर पनि उचाई खासै थप्न नसकेका खड्का बाबुले आफ्नो जात नै परिवर्तन गरेर फौजमा भर्ना हुन सकेनन् । तर उनमा सैनिक बन्ने सुक्ष्म इच्छाशक्तिले घर जमाइ रहेको नै थियो । केही राई लिम्बु साथीहरु पढ्दा पढ्दै सक्नेहरु बेलायत, हंगकंग पुगे भर्ती भएर । केही बाहुन क्षेत्री साथीहरु भने नेपाली सेनाको क्याडेट भएर जागिर खान गइसकेका थिए ।

सैद्धान्तिक विषयमा केही दख्खल भएका कारण शुरु शुरुमा युद्ध प्रशिक्षकको रुपमा संलग्न रहेका कर्मराज स्नातक परिक्षा पनि उत्तीर्ण गर्न सफल भए । देशव्यापीरुपमा पार्टीको प्रभाव बढ्दै गएपछि सरकारी दमन पनि बढी हुँदै गयो । पार्टीको काम गर्दै बाहिर बस्नु त्यति सुरक्षित थिएन । त्यति बेला नै पार्टीले सबै सदस्यहरुलाई आफ्नो सुरक्षाको लागि भूमिगत नै हुन अभिप्रेरित गर्दै छिटो निर्णय गर्न आन्तरिक परिपत्र पठाएको थियो । उनी भित्र रहेको सेनामा जाने सुषुप्त इच्छाले सक्रिय रुप लियो र आफूलाई एक जनसेना बनाउने निर्णयमा पुगे । गाउँघरका केही आफन्तहरु साथीहरु पनि युद्धमा  पहिलादेखि नै सक्रियरुपमा लागि सकेका थिए । पार्टीको पूर्णकालिन सदस्य भइसकेपछि प्रशिक्षणकै क्रममा देशका विभिन्न भागहरुमा जानु पर्यो । साना ठूला घटनाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेपछि एउटा सानो प्लाटुनकै नेतृत्व गरेर उदयपुरको घटनामा उल्लेखनीय भूमिका निर्वाह गरी आफ्नो कार्यक्षेत्र मोरङ फर्कदै गर्दा पक्राउ परी ९ महिना जेल जीवन बिताउन पुगे । यो वि.सं. २०५९ साल तिरको कुरा थियो ।

घर परिवार इष्टमित्रको अनुरोधले गर्दा एकजना नजिकैको दाइ पर्ने सेनाका कर्णेलको सहायतामा अब आइन्दा सक्रिय राजनीतिमा नलाग्ने शर्तमा कारावास मुक्त गरायो । जुनसुकै शर्तमा छाडिएको भएपनि जेलबाट छुटिसकेपछि पनि भूमिगत साथीहरुको सम्पर्क भने छुट्न सकेन । तर उनी आफैं भने फेरि भूमिगत हुन नसक्ने भएका कारण मोरङ छाडेर काठमाडौं गएर बस्ने निर्णयमा पुगे । बाँकी जीवन कसरी बिताउने भन्ने बारे चिन्ता लिनु स्वाभाविकै थियो । केही अस्थायी जागिरको लागि प्रयासहरु नगरेका होइनन् तर देशमा भन्दा बाहिरै जान पाए हुन्थ्यो कि भन्ने लागि रह्यो । अमेरिका अष्ट्रेलिया, बेलायत, यूरोप नै जान पाए हुन्थ्यो भन्ने स्वप्नवत् आस थियो । तर उनीसँग पासपोर्ट नै थिएन । अहिलेजस्तो केन्द्रमै पासपोर्ट बन्न सजिलो थिएन । गाउँघरमा जान पनि त्यति सुरक्षित समय थिएन । त्यसमाथि पनि आफ्नै नाममा पासपोर्ट लिएर पनि भिषा पाउन मुश्किल थियो । लागेपनि मलेसिया वा मध्यपूर्वकै बढी आस थियो । त्यसैले उपाय सुल्झाउदै जाँदा अर्कैको पासपोर्टमा भएपनि विदेश जानेबारे बुझ्न थाले । विभिन्न संघ संस्थाहरुले एकमुष्ट रकम असुलेर विकसित देशहरुमा सभा सम्मेलनहरुमा सहभागी हुन पठाउने अनि त्यही अड्किने बारे कर्मराजले पनि सुनेका थिए । यसै सिलसिलामा बुझ्दै जाँदा नेपालीहरु विभिन्न विषयमा विदेशमा तालिम लिन जाने कुराहरु पनि पत्ता लाग्दै गयो । अन्तमा उनले एक तीन सदस्यीय टोली बेलारुसमा वारुणयन्त्र संचालन सम्बन्धी एक महिने तालिम लिन जाने समूहसँग सम्पर्क भएको एकजना व्यक्तिसम्म पुग्यो । कर्मराज खड्का अब कुमार खड्का भन्नु पर्ने भयो । अन्य दुईजना को हो भन्ने उनलाई थाहा थिएन । उनीहरुसँग बैंककको एयरपोर्टमा मात्रै भेट हुन्छ भनिएको थियो । नेपालको एयरपोर्टमा अध्यागमन हुँदै जाँदा पक्राउ परिने सम्भावना भएकोले एकजना त्यहाँ कार्यरत अधिकारीको सहयोगमा सीधै जहाजसम्म पुग्ने व्यवस्था मिलाउन सक्ने समूह रहेछ जसले गर्दा ढुक्क बनायो । त्यसवापत थप खर्च दिनुपरेको थियो । नेपालबाट जहाजमा चढेपछि एउटा लामो श्वास फेर्दै जीवनको अर्को लामो यात्रा कहाँ पुगेर रोकिने हो भन्ने कल्पना गर्दैगर्दा बैंकक पुगेको पत्तै पाएनन् । त्यहाँ त फेरि नेपालमा जस्तो सिधै जहाजमा पुग्ने व्यवस्था गरिएको थिएन । बेलारुससम्म सँगै पुग्ने भनिएका मान्छेहरु पनि भेट भएको छैन । बेलारुस त पुग्ने भन्ने मात्रै हो फ्रयान्कफर्टमै बस्ने भन्ने सल्लाह भएको थियो । तर बैंककबाट उड्ने पो कसरी भन्ने नै पिरलो थियो । अर्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर यूरोप जान लागेकाहरु विभिन्न एअरपोर्टबाट फकाईएका समाचारहरु मात्रै सुनेको हैन आफ्नै पार्टीका नेता सिपी गजुरेललाई चेन्नई विमानस्थलमा भएको पक्राउले चारैतिर हल्लीखल्ली नै बनाएको थियो । जे त होलानी भनेर कर्मराज बैंककको अध्यागमनमा निर्धक्क भएर अगाडि बढे । दुईजना सक्कली र एकजना आफू नक्कली मान्छे सँगै लाइनमा उभिइरहँदा स्थानीय अध्यागमन कर्मचारीले तीनैजना सँगै जाने हो भन्दा दुईजना झसक्क भए र कर्मराज अघि सर्दै हो भनी, हामी फ्रयान्कफर्ट हुँदै बेलारुस वारुणयन्त्र सम्बन्धी एक महिने तालिममा जाने हो, वहाँहरुको अंग्रेजी भाषा कमजोर छ भन्दै फरर अंग्रेजी बोल्न थालेपछि बोल्नेको पिठो बिक्छ भने झैं नक्कली पासपोर्ट जिम्मा लाउँदै तपाई जानुस् यी दुइजनाको पासपोर्ट अलि जाँच गर्नुपर्नेभयो भनि जर्मनी जस्तो देखिने विमान कर्मचारीले उनलाई अघि पठायो । नक्कली मान्छे सक्कली झैँ फटाफट लाइनमा लागेर विमानभित्र पस्ने लाइनमा बस्ने पुगे । बिचरा सक्कली मान्छेहरु भने लामो सोधपुछ पछि विमान उड्नेबेला आउँदा आफ्ना बाबुआमाले गरेको धर्मकै कारण मीठो फल पाएको अनुभूति गर्दै जहाजमा पाइने कडा पेयपदार्थ पिउँदै खाजा खाँदै जीन्दगीको पहिलो जहाजयात्रा पूरा गरे । फ्रयान्कफर्ट पुगेपछि त हात उठाउने भन्दै पूर्व लडाकु मज्जाले सुते । पहिला नै सल्लाह भए अनुसार बैंककबाट उड्ने बित्तिकै पासपोर्ट च्यातेर जहाजको ट्वाइलेटमा फाल्ने भन्ने थियो । दुईजना सक्कली साथीहरुले शायद बैंककमा पाएको दुःखले गर्दा निदाउन छाडेर ट्वाइलेटमा गएर पासपोर्ट फालिसकेछन् । कर्मराज अलि अगाडिको सिटमा भएर हो वा उनी त हामी भन्दा बाठो रहेछ किन सम्झाइराख्नु पर्ला र भनेर चुपै बसेका रहेछन् । जहाज ल्याण्ड गर्नभन्दा केही अगाडि सबैले ट्रान्जिट स्लिप भर्न पर्ने हुँदा उसलाई पनि उठाउदै पासपोर्ट देखाउन भन्यो । झण्डै झुक्किएर पासपोर्ट भएको खल्तीमा हात परिसकेको तर झस‌ंग हुँदै ‘खै मसँग त पासपोर्ट छैन राजनीतिक शरणार्थी हुन देश छाडेको हुँ’ भनेपछि ती सोध्ने नानी अर्कैतिर लागिन् । कर्मराज भने हत्तपत्त ट्वाइलेटमा गएर पासपोर्टको सबै पानाहरु च्यात्दै नाम लेखिएको चाही दाँतले चपाएर धुँजा धुँजा बनाउदै ट्वाइलेटमा फ्लस गरेपछि ढुक्कको श्वास फेर्दै फेरी सिटमा नै फर्किन्छन् । जहाज ल्याण्ड गरेपछि ती तीनै जना नेपालीलाई अध्यागमन विभागमा बुझाइन्छ । दुईजना सक्कली मान्छेहरु त एस नो मात्रै गर्न जान्नेहुँदा दोभाषे खोज्नतिर लागे कर्मराज भने आफूलाई ढुक्कसँग माओवादी गुरिल्ला थिएँ भनेर फरर इतिहास बक्न थालेपछि ओके ओके भन्दै भुस्तिघ्रे देखिने अग्ला अग्ला कदका प्रहरीहरुले वाकीटाकीमा फोन गरेको मात्र के थियो २० जना विशेष तालिम प्राप्त कमाण्डो टोली आयो । बिचरा भागेर आएका पूर्व सेनालाई आतकंकारी झै ठानेर विशेष सुरक्षा सहितको सुरुगंभित्रको कार्यालयमा लगियो । पूरा नाङ्गै पारेर जाँच पड्ताल गरेपछि राजनीतिक शरणार्थीको निवेदन स्विकार गरी थप छानविन बतायो । स्वर्णीम भविष्यमा निस्केका पूर्व माओवादी लडाकूको फेरि कालकोठरीको बास पो हुने हो कि भन्दै दिन गन्दै बस्न थाले ।

केही दिनपछि स्थानिय दोभाषेमार्फत फेरि लामो सोधखोज गरियो । दोभाषेहरु त्यसमा पनि नेपाली मानसिकता के भन्यो भन्दा पनि के जानेको सुनेको छ त्यही भन्दा पो रहेछ । माओवादी भनेको कहाँ सामान्य तिमीजस्तो हुन्छ र ? साँचो कुरा बताउ हैन भने सीधै फर्काइदिन्छु भन्ने पो सुझाउँदोरहेछ । कर्मराज पनि के डराउँथ्यो आफूले जे बताउँछु त्यही दुरुस्त भन्दिनु अन्यथा अंग्रेजी बुझ्ने अफिसर लगाउँछु भनेर गर्नेपछि अलि ठाउँमा आएछ । अर्को दिन उनलाई जहाजमा लग्न थालेपछि म त ज्यान गएपनि जान्न बरु यही मार भनेर ठूलठूलो स्वरमा कराउन थालेपछि तिमी अब जर्मन सरकारको संरक्षणमा रहने भयौं क्याम्प अलि टाढा भएकोले जहाजमा उड्न परेको हो नेपाल फर्काउनको लागि होइन भनेपछि शान्त भएका लडाकुलाई एकघण्टापछि अर्को सानो शहरमा पुर्याएछन् । स्थानीय भाषा नजानेका कारण सजिलै काम पाउन सम्भव थिएन । अलि धेरै नेपालीहरु बसोबास गर्ने ठाउँ बेल्जियमतिर पो सर्नुपर्छ कि भनेर प्रयास पनि गरे तर फेरि जर्मनी नै फर्के । थोरै भाषा जानेकै आधारमा एउटा रेल कम्पनीमा सरसफाई गर्ने काम पाउँछन्, विस्तारै त्यही कम्पनीको रेष्टुरेन्टमा सर्भिस ब्यायको रुपमा बढुवा भए । पैसा पनि राम्रै कमाउन थाले । यस बिचमा उनले धेरै नेपालीहरुलाई कागज पाउनको लागि माओवादी बन्न सिकाए । नेपालमा माओवादीको कारवाहीमा परेकाहरु पनि छिटो कागज पाइन्छ भनेर आफैँ माओवादी भएकोले सरकारले नक्कली वारदात गराई ज्यान लिनसक्नेसम्म भन्न पर्ने भयो । जसरी हुन्छ राजनीतिक शरणार्थी बन्नेहरुको संख्या यो अवधिमा ह्वात्तै बढेको थियो ।

क्रमश:

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक