नाममा त्यस्तो के हुन्छ ?

डा बच्चुकैलाश कैनी

हामी सबैलाई सबैभन्दा प्यारो लाग्ने धेरै कुराहरुमध्ये आफ्नो नाम पनि एक हो । सबैलाई आफ्नो नाम प्यारो लाग्छ । कसैले प्यारले आफ्नो नाम लिंदा हामी खुशी हुन्छौ । कहीं पत्रपत्रिकामा राम्रो काम गरेर आफ्नो नाम छापिएको देख्दा हामीलाई खुशी लाग्छ । हामी आफ्नो नामले नै आफ्नो पहिचान बनाएका हुन्छौ । त्यसैले, नाम भनेको केवल बोलाउने वा लेख्ने नाम मात्रै हैन यो पहिचान पनि हो ।

मेरो नामले मेरो पहिचान दिन्छ । मेरो नाम संगै धेरै कुराहरु जोडिएको हुन्छन । मेरो  व्यक्तित्व, गुण, अवगुण, चरित्र, योग्यता, क्षमता, दक्षता, अनुभव, रुप, रंग, ढंग, बोलिचाली आदि इत्यादि सबै मेरो नामसंग जोडिएका हुन्छन । मैले जानी नजानी गर्ने ब्यबहार, मैले गर्ने राम्रो काम वा कुकृत्य पनि मेरो नाम संगै जोडिएको हुन्छ । यो अर्थमा भन्ने हो भने मेरो नाम मेरो लागि सबै कुरा हो ।

तर यसो भन्दैमा नामले सबै कुरा हुने पनि हैन । कामले नाम बनाउने हो । सोचाई, चरित्र, बुद्धि, ब्यबहार र सत्कर्मले नाम बनाउने हो । प्रकाश नाम हुँदैमा कोही चम्किने हैन । धन प्रसाद नाम हुँदैमा कोही धनी हुने पनि हैन । आफ्नो नाम चम्काउन धेरै कुराहरु गर्नु पर्छ । धनी हुन धेरै मेहेनत गरेर मात्रै पुग्दैन, अनेक कुराहरु गर्नु पर्दछ । नेपालको नाम अमेरिका र अमेरिकाको नाम नेपाल भएको भए के नेपालको विकास, आर्थिक उन्नति र प्रगति अमेरिकाको जस्तो र  नेपालीको रुपरंग, ढंग र ब्यबहार अमेरिकनको जस्तै हुन्थ्यो ? यसको उत्तर सहज छ, पक्कै हुँदैन थियो । नेपाल अमेरिका जस्तै हुनको लागि के हुनु पर्थ्यो, त्यो छुट्टै चर्चाको विषय हो ।

पद पनि एउटा नाम हो । नेपालको सन्दर्भमा पदसंग जोडिएका धेरै नकारात्मक प्रसङ्गहरु सुनिन्छन । पदलाई कमाउने भाँडो, राजनीतिक चलखेलको लागि खुल्ने बाटो, आफ्ना नातागोता र आफू भन्दा माथिकालाई रिझाउने उपाय, शक्ति देखाउने कुरा आदिको रुपमा लिने गरिन्छ । कतिपय प्रसंग र सन्दर्भमा यो कुरा सही पनि देखिन्छ । किनकी आफ्नो पदलाई  दुरुपयोग गर्नेहरु नेपालमा धेरै छन । पदमा पुग्ने बित्तिकै आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्ने भन्दा धेरैले पदको लाभ लिने गरेको धेरै उदाहरणहरु देख्न सकिन्छ ।

कुनै पनि पद कामसंग वा जिम्मेवारीसंग जोडिएको हुन्छ । पद एउटा नाम मात्रै हैन, पद भनेको मान र प्रतिष्ठाको प्रतीक पनि हो । कुनै जिम्मेवारी सहितको पद भनेको त्यसै पाइने कुरा हैन वा कसैले सित्तैमा बाँड्ने कुरा पनि हैन । पद भनेको नियम कानून अनुसार एउटा निश्चित प्रक्रिया पूरा गरेर कर्तब्यसहित पाइने जिम्मेवारी हो । चाहे त्यो सानो पद होस् वा ठूलो पद नै किन नहोस, सबै पदको एउटा निश्चित सीमा, तोकिएको योग्यता, पालना गर्नु पर्ने कर्तब्य र जिम्मेवारी हुन्छन ।

पदसंग जोडिएको र मैले भोगेको एउटा रोचक प्रसङ्ग यहाँ उल्लेख गर्छु । म नेपालमा एउटा अस्पतालको प्रशासन प्रमुखको पदमा काम गर्दा तत्कालिन स्वास्थ्य मन्त्रि र अस्पतालका अध्यक्षले आफ्नो ज्वाईलाई नियुक्ति गर्न मेरो तहको पदलाई उप-प्रमुख बनाई मेरो भन्दा एक तह माथिको प्रशासन प्रमुख पद खडा गरे । उक्त विषयमा त्यस बेलाका अस्पतालका कार्यकारी निर्देशकसंग मैले प्रतिवाद गरें । उनी पनि राजनीतिक नियुक्ति पाएका व्यक्ति परे । आफू जति सुकै योग्य र कुशल प्रशासक भनिएर चिनेको भए पनि  लाचार भएर उक्त निर्णय गर्न र निर्णय कार्यान्वन गर्न सहयोग गरे । त्यति मात्रै हैन, उनले मलाई सम्झाउने शैलीमा भने ‘तपाईको नाम प्रशासन प्रमुख वा उप-प्रमुख जे भए पनि केही फरक पर्दैन । आखिर तपाईको तलब उही हुन्छ, काम पनि उही हो । त्यसैले यो केवल नाममा फरक पर्ने हो ।’ मैले त्यति  बेला उहाँलाई भनेको थिएँ, ‘नाममा केही फरक पर्दैन भने के आजदेखि कार्यकारी निर्देशकोको पद पिउन र पिउनको पद कार्यकारी निर्देशक राखे कसो होला?’ मेरो त्यो प्रश्नमा उनी नाजवाफ भएका थिए । किनकी कुनै पद नाम मात्रै हैन त्यो जिम्मेवारी, उत्तरदायित्व, कर्तब्य र पहिचान पनि हो ।

व्यक्तिको नामको हकमा कुनै व्यक्तिले आफ्नो नाम आफैले राख्ने प्रचलन छैन । हामी सबैको नाम हामीले थाहा पाउनु पूर्व वा केही जान्ने बुझ्ने हुनु पहिले नै हाम्रो नाम हाम्रो अभिभावकले राखी दिएका हुन्छन । यो अर्थमा आफ्नो नाम राख्ने हक कुनै व्यक्ति स्वयंको  हुँदैन । हुन त कानूनी रुपमा हामीलाई आफ्नो  नाम परिवर्तन गर्ने बाटो खुला छ, तर यो बाटो समाएर नाम फेर्ने झन्झट कसले गर्ने ? त्यसैले जे नाम छ त्यही स्वीकार गर्ने र नामको लागि काम गर्ने हो । खास भन्ने हो भने नाममा केही छैन । जे छ काममा छ । कामलाई नामसंग जोड्ने हो । आफ्नो नामलाई राम्रो काम गरेर चिनाउने हो र आफ्नो नामको इज्जत आफैले राख्ने हो ।

नेपालको प्रदेश नम्बर ६ ले आफ्नो नाम कर्णाली प्रदेश पायो । त्यही प्रदेशको नामको कचकचमा झन्डै नेपालको संबिधान अड्किएको थियो । नाम जे राखे पनि संघियताको मूल मर्म आर्थिक उन्नति, प्रगति र जनताको जीवनस्तरमा सुधार गर्नु हो । संघियताको कार्यान्यन र नामसंगै अब कर्णाली प्रदेशका जनताहरु विकासको हकदार छन् । आर्थिक उन्नतिसंगै आफ्नो जीवनस्तरमा व्यापक सुधारको अपेक्षा राखेका छन् । नाम जे सुकै होस्, त्यसको खासै तात्विक अर्थ हुँदैन यदि त्यहाँका जनताले परिवर्तनको स्वाद चाख्न पाएनन् भने । अब कर्णालीका जनताले नाम संगै काम हेर्न चाहेका छन् । त्यसैले नाममा के हुन्छ यदि काम नै भएन भने ?

(लेखक डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापक र आर्डेंन बिश्वबिद्ध्यालय, लण्डनमा सह-प्राध्यापकको रुपमा काम गर्छन )

प्रतिक्रिया

सम्बन्धित सामाग्री