फूलको आँखामा फूलै संसार

Dr Bachhu Kaini

डा बच्चु कैलाश कैनी

दुर्गालाल श्रेष्ठको शब्द रचनालाई  न्ह्यू बज्राचार्यको संगीतमा आनी छोइङ डोल्माले गाएको यो गीत ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार, झुल्किन्छ है छाँया बस्तु अनुसार, काँढाको आँखामा काँढै संसार’ निकै चर्चित छ । भन्नेले भन्न सक्छन्, फूलको आँखा हुँदैन र जताततै फूल पनि फ़ूल्दैन । त्यसैले यो गीत खै के नमिलेको जस्तो छ । तर, गीत शब्दमा हैन भावना र अर्थमा बुझिन्छ । गीतको अर्थमा जाने हो भने राम्रो आँखा र मनले हेर्ने हो भने सबै राम्रो देखिन्छ । हुन पनि हो कुनै वस्तु, मानिस, चिज वा प्रकृतिलाई राम्रो नराम्रो छुट्टयाउने मन र आँखाले हो ।

मानिसले देख्ने फूलको संसार वा सुन्दरताको बारेमा धेरै लेख, कथा, कविता, गज़ल, मुक्तक, गीत आदि लेखिएका छन् । धर्म, संस्कृति, कला, रुपरंग, माया प्रेम, भूगोल, प्रकृति, इतिहास आदि धेरै कुरासंग जोडिएर सुन्दरताको चर्चा गरिएको छ । सुन्दरताको लागि यो संसारमा खरबौ रुपैयाँ खर्च गरिएको छ । धेरै धनराशी खर्च गरेर मानिस प्राकृतिक सुन्दरता, रमाईलो वा  सुन्दर ठाउँ हेर्न, घुम्न र रमाउन देश विदेश जान्छन् । किनकी सुन्दरता सबैलाई मन पर्छ । यो एकदम स्वभाभिक पनि हो ।

सुन्दरतालाई भित्री मनको सुन्दरता र बाहिरी भौतिक संसारको सुन्दरताको अर्थमा पनि ब्याख्या गरिन्छ । भौतिक रुपमा होस् वा आध्यात्मिक रुपमा सुन्दरता सबैलाई मन पर्ने कुरा हो । बाहिरी सुन्दरता सबैले देख्छन् । सुन्दर वस्तु सबैको लागि तारिफयोग्य हुन्छ । तर, सबै वस्तु, चिज, प्रकृति वा मानिस सबैका लागि सुन्दर वा राम्रो हुन भने सक्दैन ।

सुन्दरता व्यक्तिपरक पनि हुन्छ । कसैको लागि सुन्दर लाग्ने अरुको लागि त्यस्तै नलाग्न पनि सक्छ । मन राम्रो भए सबै  कुरा राम्रो देखिन्छ । अर्थात, सकारत्मन सोच लिने हो भने सबै कुरामा सुन्दरता देखिन्छ । कुनै कुरा राम्रो वा नराम्रो छुट्टयाउने  मनले हो ।

मानिसको भित्री सुन्दरताले मनलाई आनन्द दिन्छ । मानिसलाई सभ्य, असल र मनको राम्रो बनाउँछ । भित्री सुन्दरताले आफैलाई आत्मासन्तुष्टि दिन्छ । मानिसको जीवनमा परम आनन्द आफैंबाट मिल्ने हो । आफैंले आफ्नो मन, बचन र कर्मलाई नियन्त्रण गर्ने हो । आफ्नो मनको शुद्धताको लागि, परिवार, समाज र देशको लागि केही असल काम गर्नको लागि आफैले संकल्प गर्ने हो र तदनुरुप काम गर्ने हो ।

आफ्नो मन आफ्नै हो । आफ्नो भनेको आफ्नै हो ।आफ्नो मनलाई आफैले नियन्त्रणमा राख्ने हो । आफ्नो वस्तु, कुनै चिज वा मान्छेको सधै माया लाग्छ । हुनत् आफ्नो होस् वा अर्कोको वस्तु, कुनै चिज वा मान्छेको अस्तित्व उही हो । कसैको आफ्नो हुँदैमा वा नहुँदैमा कसैको अस्तित्वमा कुनै तात्विक असर पर्दैन । आखिर मान्छे उस्तै हो, उही हो, उसको गुण वा अवगुण उस्तै हो । तरपनि आफ्नो हुनु र नहुनुमा कुनै चिज वा मान्छेलाई हेर्ने प्रवृति भने फरक हुन्छ ।

सुन्दर वस्तुको सधैं चर्चा हुन्छ । बगैंचामा फूल्ने गुलाबको फूललाई सबैले मन पराउँछन् । प्राकृतिक सुन्दरता सबैको आँखामा पर्छ । मलाई मात्र हैन सबैलाई त्यस्तै लाग्छ । सुन्दरता भित्र पनि अनेकौ ब्यथा र पीडा हुन सक्छन । त्यस्ता कथा, ब्यथा र ब्यथा बाहिरी सतही नजरबाट कसैले देख्दैनन । जताततै सुन्दर देखिने बगैचामा पनि झाडी हुन्छ, जमिनमा माटो हुन्छ र भूईमा झरेका पतिङ्गरहरु हुन्छन । तर, सुन्दर बगैचाको सुन्दरतामा ती सबै लुकेका हुन्छन्, जसरी राम्रो काम गर्ने मानिसका सानातिना अवगुणहरु कसैले देख्दैन ।

मनमा सकारात्मक सोच र सधैं राम्रो काममा सक्रिय हुनाले मात्र फूलको आँखामा फूलै संसार देखिने हो । होइन भने काँढाको आँखामा काँढै संसार देखिन्छ । गुलाबको बोटमा फूल र काँढाको अस्तित्व संगै भए पनि फूल सुन्दर हुन्छ र सबैले मन पराउँछन् । तर, त्यहाँ संगै भएको काँढाले मानिसलाई घोच्न सक्छ, त्यसैले मानिसहरु काँडासंग डराउँछन् । हामी पनि सबैको आँखामा राम्रो हुन र यो संसारलाई सुन्दर वनाउन आ-आफ्नो तर्फबाट प्रयत्न गरौँ । आखिर हुन पनि हो फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार । संसार देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री