बेलायतका रेलले बोक्छन् वार्षिक एक अर्ब ७५ करोड यात्रु

लन्डन । नेपालमा आममानिसको रेल सपना छ । सरकारले रेल सञ्चालन आफ्नो प्राथमिकता बताउंदै आएको छ । अध्ययन, अनुसन्धान पनि शुरु भएका छन् । यद्यपि रेल गुड्न लामै प्रतिक्षा गर्नुपर्ने निश्चित छ । तर, विश्वमै पहिलोपटक रेल आविष्कार 
गर्ने मुलुक बेलायतमा करिब दुई सय वर्ष अघि रेलसेवा शुरु भएको हो । बेलायतस्थित द स्टकटन एण्ड डार्लिङटन रेलवे कम्पनीले विश्वमै पहिलोपटक सन् १८२५, सेप्टेम्बर २७ मा रेलसेवा शुरु गरेको थियो ।

विश्वकै पहिलो भूमिगत रेल सेवा लन्डनमा आज भन्दा १५६ वर्ष अघि जनवरी १८६३ मा शुरु भएको थियो । मेट्रो पोलिटन रेल्वे नाम दिइएको प्याडिङटन र फ्यारिङडनको बिचमा सञ्चालित उक्त रेलसेवाले शुरुकै दिन ३८ हजार यात्रु बोकेको थियो ।

ट्रान्सपोर्ट फर लन्डनका अनुसार, लण्डन अन्डरग्राउण्ड अन्तर्गत ११ वटा रेल लाइन सञ्चालित छन् र तिनले 
दैनिक ५० लाख यात्रुहरु बोक्छन् । व्यस्त समयमा त झन्डै साढे पांच सय रेल लन्डनको जमिन मुनि 
हुइंकिरहेका हुन्छन् । लण्डन अन्डरग्राउण्डले ४०२ किमि भूभाग कभर गरेको छ भने शहरका विभिन्न भागमा २७० वटा स्टेशन छन् जहांबाट यात्रुहरु ओहोरदोहोर गर्न सक्छन् । यूकेभर २ हजार ५६६ रेल स्टेशन चालु छन् ।

लन्डन अन्डरग्राउण्डले आउंदो वर्षदेखि भूमिगत रेलका केही भागमा ४ जी मोबाइल सेवा पनि उपलब्ध गराउने तयारी गरिरहेको छ । लन्डनको यातायात सेवा सुरक्षाका लागि मेट्रोपोलिटन प्रहरी सेवा, ब्रिटिश ट्रान्सपोर्ट पुलिस तथा सिटी अफ लन्डन पुलिस समेत गरि झन्डै २५ सय प्रहरी अधिकारीहरुलाई खटाइएको छ । रेल उद्योगले करिब एक लाख १५ हजारलाई रोजगारी दिएको तथ्यांक छ । यसको सप्लाइ चेनमार्फत थप अढाइ लाखले रोजगारी पाएका बताइन्छ ।

१६ हजार ५०० किलोमिटर ट्रयाक रहेको बेलायतको रेलसेवाले वार्षिक करिब एक अर्ब ७५ करोड यात्रु बोक्ने गर्दछ । बाफशक्तिको आविष्कारपछि बेलायतमा दुईसय वर्ष अघि देखि रेल पूर्वाधारमा अभूतपूर्व लगानी गरिएको थियो । औद्योगिक क्रान्तिको सफलताको एउटा मुख्य खुड्किलो रेल आविष्कारलाई पनि मानिन्छ । बेलायतको रेलसेवाले बार्षिक ११० मिलियन टन कार्गो बोक्ने गरेको तथ्यांक उपलब्ध छ ।

युरोपको सबैभन्दा सुरक्षित ठानिएको बेलायतको रेल 
आरामदायी भएपनि महंगोमा गनिन्छ । सन् १९६८ देखि भने बाफको इन्जिन प्रविधि बन्द गरिएको थियो । सन् 
१९४८ मा लेबर सरकारले बेलायतको सबै रेलसेवालाई राष्ट्रियकरण गरेको थियो । १९९५ देखि भने यूके रेल निजीकरण गरिएको छ । 
औद्योगिक क्रान्तिको समयमा शहरमा मानिसको बसोबासको चाप बढेपछि सन् १८६३ मा लन्डनमा जमिनमुनि गुड्ने रेल 
(अन्डरग्राउण्ड) सेवा शुरु गरिएको थियो ।

सबैभन्दा पुरानो रेलसेवा भएपनि विकसित देशको तुलनामा बेलायतको रेलसेवा अत्यधिक आधुनिक नभएको बताउने पनि प्रशस्त छन् । सन् १९९४ मा शुरु भएको बेलायत र फ्रान्स जोड्ने इंगलिस च्यानल समुद्रमुनी करिब ५० किलोमिटर टनेल रेल ट्रयाकले यी दुवै देशको आर्थिक तथा प्राविधिक दक्षता झल्कन्छ ।

बढ्दो चापले लन्डनमा ११७ किमी लामो दूरीमा 
अर्को क्रस रेल निर्माणाधीन छ । यसले सेन्ट्रल लन्डनमा २१ किमी लामो भूमिगत सुरुङ मार्ग (ट्वीन टनेल) बनाइरहेको छ । क्रस रेलले पश्चिममा पेडिङटन र पूर्वमा स्ट्राटफोर्ड र क्यानरी वार्फ जोड्नेछ । 

क्रस रेल लाइन (एलिजावेथ लाइन पनि भनिन्छ) ले घण्टाको २४ वटा रेल दौडाउने, यो ९ डब्बा (क्यारिज) हुने र वर्षमा दुई सय मिलियन यात्रु ओसारपसार 
गर्ने अनुमान छ । 

यो लाइन बनेपछि अहिले जुब्ली, पिकाडेली लाइनमा भइरहेको यात्रुको चाप घटाउन सघाउने अपेक्षा छ । क्रस रेल सञ्चालनपछि लन्डनको अर्थतन्त्रमा ४२ बिलियन पाउण्डको आर्थिक क्रियाकलाप बढाइदिन्छ भन्ने प्रक्षेपण छ । यो लाइन बनाउन १७ दशमलब ६ बिलियन पाउण्ड खर्च हुने अनुमान छ । 

गत वर्ष सन् २०१८ डिसेम्बरमा सम्पन्न हुनुपर्ने भएपनि काम सकिएको छैन् । प्रोजेक्ट सक्न थप दुई वर्ष लाग्ने अनुमान छ । समयमा नसक्दा वेष्ट इन्डको व्यापारिक क्षेत्रमा मात्र झण्डै २ बिलियन पाउण्ड आम्दानी घटेको बताइएको छ ।

उता, काठमाडौं उपत्यकाभर २०० किमी लामो दुरीको लामो मेट्रो रेल नेटवर्कको विकास आवश्यक रहेको बताउंछन् लन्डनमा परामर्शदाताका रुपमा कार्यरत इन्जिनियर डा. बिनोदलाल अमात्य । 

काठमाडौं उपत्यकामा पाटन लाइन र काठमाडौं लाइनलाई प्राथमिकताका साथ अगाढि बढाउनु पर्ने उनले सुझाए । पाटन लाइन करिब २५ किमी लामो हुने र यसले बांसबारी, भृकुटीमण्डप, सातदोबाटो हुंदै दक्षिणमा चापागाउं, गोदावरी र उत्तरमा बुढानिलकण्ठ जोड्नेछ । शहरको भित्रीभाग हुंदै जाने भएकाले यो लाइनमा करिब १२ किमी सुरुङमार्ग आवश्यक देखिन्छ । 

त्यस्तै काठमाण्डौं लाइन झण्डै ५५ किमी लामो हुनेछ र यसले कलंकी, भृकुटीमण्डप, कोटेश्वर, बौद्ध हुंदै पूर्वमा बनेपा र सांखु र पश्चिममा थानकोट जोड्नेछ । यो लाइनमा पनि शहरको भित्री भागमा करिब १७ किमी लामो सुरुङमार्ग आवश्यक देखिन्छ । 

यी दुई लाइनको सुरुङमार्ग कस्तो किसिमको हुनेछ ? कति गहिराइमा बनाउने ? यसले हाम्रो शहरी संरचनामा कस्तो प्रभाव पार्छ ? लागत कति लाग्छ ? भन्ने अनुसन्धनात्मक अध्ययन हाल इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसमा भइरहेको छ । यसका लागि दुई एमएससी अध्ययनरत विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

काठमाण्डौं उपत्यकाको जमिन कमसल छ, भूमिगत पानीको मात्रा बढि छ, भूकम्प आइरहन्छ, यस्तो ठाउंमा सुरुङमार्ग सुरक्षित हुंदैन भन्ने सर्वसाधारणको धारणा छ । तर, यस्तो धारणा गलत हो र यस्तो जमिन र भौगोलिक संरचनामा पनि भूमिगत रेल सेवा सुरक्षित किसिमले विकास गर्न सकिन्छ भन्ने कुरा बेलायतको 
वारवीक युनिभर्सिटीले सन् २०१८ मा गरेको अध्ययनले देखाएको छ । 

जीर्ण सडक, ट्राफिक जाम, दुर्घटना, वायु प्रदुषण आदिले काठमाडौं अहिले बस्नै नहुने शहरमा परिणत भइरहेको छ । मेट्रो विकासले अव्यवस्थित उपत्यकाको मुहार परिवर्तन गर्न सकिने, सार्वजनिक यातायातमा 
भरपर्दो व्यवस्था, हजारौं रोजगारी सृजना, वातावरणीय तथा सामाजिक गुणस्तर वृद्धि, धुंवा प्रदुषण न्यून (ग्रीन मोबिलिटी), पेट्रोल डिजेल प्रयोग कम, विद्युतीय रेल चलेपछि ट्राफिक व्यवस्थापन र पब्लिक हेल्थमा हुने 
करोडौं खर्च जोगिने विज्ञ बताउंछन् ।

काठमाडौं उपत्यकामा ट्राफिक जाम भएर वर्षमा एकसय ५० मिलियन अमेरिकी डलर घाटा भइरहेको एक अध्ययनले देखाएको थियो ।

‘मेट्रो बनाउनु खर्च होइन, यो लगानी हो’, डा. अमात्य भन्छन्, ‘यो हाम्रो पुस्ताका लागि मात्र होइन, भावी सन्ततिका लागि पनि हो ।’

काठमाडौं उपत्यकामा १८ नगरपालिका छन् । ति नगरपालिकालाई मेट्रोले जोड्ने बित्तिकै आर्थिक क्रियाकलाप बढाउन सकिने अमात्यको विश्वास छ । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री