बेलायतमा २५ औं विश्व आदिवासी जनजाति दिवस


लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत, नेपाल आदिवासी महिला महासंघ बेलायत र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको संयुक्त आयोजनामा २५ औं विश्व आदिवासी दिवस (रजत वर्ष) भव्यतापूर्वक सम्पन्न भएको छ । गत अगष्ट २०१९ शनिबार अल्डरसटस्थित एम्पायर सभाहलमा कार्यक्रम भएको हो ।

महासंघका अध्यक्ष जंग सुनुवारको सभापतित्व रहेको उक्त कार्यक्रममा डा. राजदूत दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्य थियो । कार्यक्रममा नेपालबाट महिला महासंघ बेलायतको निमन्त्रणामा आएकी लाहुर्पिन अध्यक्ष अधिवक्ता तथा सामाजिक अभियन्ता शान्तिकुमारी राई, अष्ट्रेलियाका लागि नेपालका निवर्तमान राजदूत लक्की शेर्पा, चर्चित लेखक झाक्री बा उपेन्द्र सुब्बा विशेष आतिथ्य थिए ।

त्यसैगरि, 
वरिष्ठ सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका भूपू सचिव भक्तबहादुर दुरा, सल्लाहकारहरु, किरात राई 
यायोख्खा, किरात याख्खा छुम्मा, दुरा समाज युके, तमुधिं युके, मगर संघ युके, किरात सुनुवार सेवा समाज युके, तामांग सोसाइटी अफ युके, छन्त्याल संघ युके, पुन समाज युके लगायत विभिन्न आदिवासी जातीय संस्थाका पदाधिकारीहरु, एनआरएनए युके उपाध्यक्ष सुशिला राई, अन्य सामाजिक संस्थाका पदाधिकारीहरु, राजनीतिक संघसंस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी, कलाकर्मी, साहित्यकार, समाजसेवी, ब्यवसायी लगायत आदिवासी तथा गैर आदिवासी व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता थियो ।

नेपालको राष्ट्रिय गान र आदिवासी राष्ट्रिय गान लगत्तै अध्यक्ष सुनुवार र प्रमुख अतिथि राजदूतले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । वरिष्ठ उपाध्यक्ष नरेश काङ्गमाङ्ग राईले स्वागत मन्तब्य दिए । दुरा समाज युकेका कलाकारहरुबाट स्वागत गान स्वरूप दुरा संस्कृति प्रचलित ठाडो भाका गीत प्रस्तुत गरिएको थियो । सल्लाहकार भक्तबहादुर दुरा, संस्थापक अध्यक्ष थर्क राना, निवर्तमान अध्यक्ष सिरी लिम्बु र तुल छन्त्यालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

वक्ताहरुले विश्व आदिवासी दिवस मनाएको २५ वर्ष पुगे पनि राज्यबाट आदिवासीहरुले विभेद खेपी हक अधिकारबाट वन्चित हुनु परेका कारण रजत वर्ष (२५ वर्ष)  जस्तो महत्वपूर्ण ऐतिहासिक दिवसलाई समेत कुनै हर्ष उल्लासले नभई आन्दोलन र संघर्षको 
रुपमा मनाउनु परेको जिकिर गरे ।

कार्यक्रममा गोर्खा अभियन्ता ज्ञानराज राई, गेसो उपाध्यक्ष क्षेत्रकला राई, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य टेकबहादुर राजेश थापा, अल्डरसट क्षेत्रका काउन्सिलर प्रवेश केसी, एनआरएनए उपाध्यक्ष शेर सुनार, सृजनशील समाजका पूर्व अध्यक्ष धनबहादुर सार्की लगायत थुप्रै वक्ताले मन्तब्य व्यक्त गरेका थिए ।

लाहुर्निपका अध्यक्ष शान्ति राईले जारी संविधानमा व्यवस्था भएको आदिवासी जनजातिहरुको हक अधिकार विस्तारै संकुचित पार्दै लागिएको र त्यसैको प्रतिफलस्वरुप नेपालमा आदिवासी जनजाती र आम उत्पीडित वर्ग अन्दोलनरत भएको बताइन् ।

विशेष अतिथि सुब्बाले नेपाली भाषा र संस्कृति बचाउन आफ्ना बच्चाहरुलाई नेपाली भाषा बोल्न जोड दिंदै बेलायतबासी नेपालीहरुलाई नेपाल फर्कन सुझाव दिए । जारी संविधानमा नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता प्रदान गरिएपनि राज्यले एकल भाषा र संस्कृति मात्र महत्व दिएको र देशको प्रशासनिक संरचना गलत रहेको उनको धारणा थियो ।

विशेष अतिथि पूर्व राजदूत शेर्पाले नेपालको संस्कृतिबाट आदिबासीहरुको संस्कृति हटाउने हो भने नेपाल कुरुप र अपांग हुने बताउंदै नेपाल आदिबासी जनजातिहरुकै भाषा, कला र संस्कृतिले सुन्दर र सुगन्धित रहेको धारणा राखिन् ।

प्रमुख अतिथि राजदूत डा. सुवेदीले बेलायतमा बस्ने नेपालीहरुले आ-आफ्नो जातीय भाषा संस्कृति सहित नेपाली भाषा बचाउंदै बेलायतभित्र मिनी नेपाल स्थापित गर्न उत्प्रेरित गरे । गत २७ जुलाई, नेपाली आदिवासीहरुको नेपाली संस्कार र संस्कृतिलाई २५ औं विश्व आदिबासी दिवसको अवसर पारेर नेपाली राजदूतावास लण्डनले पहिलोपटक भब्य र सार्थक कार्यक्रम आयोजना गरेर परम्परा बसाएको विषय उपर चर्चा गरे । साथै बेलायतको दूतावास स्थललाई सम्पूर्ण नेपालीहरुको साझा घरमा परिणत गरेको पनि उनले बताए ।

कार्यक्रममा नेपालका चर्चित गायक बबिन सेर्मा, पार्वती राई, अर्जुन सुमाल लगायत कलाकारहरुले सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए । त्यसै गरि बेलायतबासी नेपाली माझ चर्चित डान्सर जेनी सुनुवारको मनमोहक नृत्यले सहभागी सबै मोहित भएका थिए ।

अध्यक्ष जंग सुनुवारले २५ औं विश्व आदिवासी जनजाति दिवस कार्यक्रम ऐतिहासिक रहेको र नेपाल आदिवासी जनजातिहरुको स्वायत्ता स्वशासन, समानुपातिक समाबेसी, 
राष्ट्रिय (जातिय) पहिचानको आधारमा प्रदेशको नामाकरण र संविधान संशोधन ‘बटमलाइन’ भएको बताए । आफ्नो उपलब्धिमा हर्षको उत्सव मनाउनु पर्ने दिवसमा सत्ताको शोषण र दमनप्रति संघर्षरत र आन्दोलित हुनुपरेको बताउंदै उनले नेपालमा भइरहेको आन्दोलनमा घाइते चोटपटक लागेका योद्दाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना दिए । साथै नेपाल आदिवासी 
महासंघ केन्द्रलाई बेलायतबाट अहिलेको आन्दोलनमा ऐक्यवद्धता भएको जनाए ।

उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघका महासचिब खुशी लिम्बुले सञ्चालन गरेका थिए भने जलपान प्रायोजन धनकुमार सार्कीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री