एनआरएनए युके निर्वाचन समिति जम्बो, उम्मेदवारी शुल्क देखेर तर्सन्छन् प्रत्यासी

लन्डन । गैर आवासीय नेपाली संघ युके कार्यसमितिको १३ औं बैठक २८ जुलाईका दिन संघको आफ्नै कार्यालयमा सम्पन्न भएको छ । बैठकले एनआरएन युकेको आउँदो अधिवेशन १० अगस्तमा र निर्वाचन १४ सेप्टेम्बेरमा सम्पन्न गर्न विभिन्न महत्वपूर्ण निर्णय सर्वसम्मत पारित गरेको छ ।

‘युके गैर आवासीय नेपाली संघको जननी, हाम्रो चाहना नेपाल र नेपालीको सुख एवं समृद्धि’ भन्ने उद्घोषका साथ गैर आवासीय नेपाली संघ युकेको अधिवेशन आगामी १० अगस्त शनिबार फार्नबोरोस्थित भिलेज होटेलमा हुने भएको हो । संघले बिहान १० देखि अपरान्ह ५ बजेसम्म अधिवेशन सञ्चालन हुने जनाउंदै सम्पूर्ण पंजीकृत सदस्यलाई यसै समाचार मार्फत उपस्थितिका लागि अनुरोध गरेको छ ।

गैर आवासीय नेपाली संघ युकेको सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई बुधबार साँझ ८ बजेसम्म रहेकाले सबैलाई समयमै सदस्यता बन्न अनुरोध पनि गरिएको छ । सो समय पश्चात प्राप्त सदस्यता फारामहरु १४ सेप्टेम्बेर २०१९ मा हुने निर्वाचनमा मान्य हुने छैन् ।

गैर आवासीय नेपाली संघ युकेको निर्वाचन सम्पन्न गर्न एक निर्वाचन मण्डल पनि गठन गरिएको छ, जसमा प्रमुख आयुक्त मे. रि. डमर घले, सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठ, सचिव नरेश खपांगीमगर, कोषाध्यक्ष दूत पुन र आयुक्तहरुमा कर्ण शाही, चिरन्जिवी ढकाल, राष्ट्र राई, श्री लिम्बु, श्रीमति प्रा. डा. सुमाया राई, राजु कंडेल, विकास रडपाइली, नेम थापा र मे. रि. कृष्णबहादुर गुरुङ छन् ।

गैर आवासीय नेपाली संघ युकेको इतिहासमै पहिलो पटक एनसीसी युकेको साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्यान्ड र इंग्ल्याण्डको निर्वाचन सेप्टेम्बर १४ तारिख एकैसाथ हुने भएको छ ।

आगामी निर्वाचनमा गैर आवासीय नेपाली संघ युकेको मतपत्र तथा नर्दन आएरल्याण्ड, स्कटल्याण्ड, वेल्स, इंग्ल्याण्ड राज्य समन्वय समितिका पदाधिकारीहरुको गरि दुई फरक फरक मतपत्र हुने निर्णय भएको छ । हरेक मतदाताले राष्ट्रिय समन्वय परिषद तथा राज्य समन्वय परिषद गरि दुई अलग अलग मतपत्रमा मतदान तथा उम्मेदवार छनोट गर्ने अधिकार  पाउने छन्  ।

गैर आवासीय नेपाली संघ युके (एनआरएनए एनसीसी युके) को पद तथा उम्मेदवारी शुल्क निम्न बमोजिम हुनेछ ।

अध्यक्ष- १५००  पौण्ड,

उपाध्यक्ष- ११०० पौण्ड,

महासचिब- ११०० पौण्ड,

सचिब- ८५० पौण्ड,

कोषाध्यक्ष- ८५० पौण्ड,

सह-कोषाध्यक्ष- ८०० पौण्ड,

युवा संयोजक- ८५० पौण्ड,

महिला संयोजक- ८५० पौण्ड,

सदस्य पद- ४५० पौण्ड,

अन्तर्राष्ट्रिय परिषद प्रतिनिधि पदका लागि १५०० पौण्ड गर्ने निर्णय भएको छ । त्यसैगरी स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र इंग्ल्याण्ड राज्य समन्वय परिषदको देहाय बमोजिम पद तथा उम्मेदवारी शुल्क रहने छ ।

अध्यक्ष-  ४५०  पौण्ड,

उपाध्यक्ष- ३०० पौण्ड,

सचिब- २०० पौण्ड,

सहसचिब- १५० पौण्ड,

कोषाध्यक्ष- २०० पौण्ड,

सह-कोषाध्यक्ष- १५० पौण्ड,

सदस्य- १०० पौण्ड,

आगामी ३-४ अगस्तमा हुन गैरहेको १२ औं यूरोपियन क्षत्रीय बैठक इटालीको रोममा हुन गइरहेको हुंदा सो सम्मेलनका लागि गैर आवासीय नेपाली संघ युकेले १००० यूरो सहयोग गर्ने निर्णय भएको छ  ।

महासचिब राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त बैठकको अध्यक्षता एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले गरेका थिए ।

बैठकमा उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहामगर, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, रमेश सरांगकोटी, रामचन्द्र पोख्रेल, शिव कंडेल, राजन खकुरेल, विष्णु खरेल, पवन शर्मा, अर्कराज तिम्सेना, जीत रानाभाट, सुरोज मास्के, नारायण कंडेल, मोहन कार्की, होमनाथ पौडेल, एलबीजेड गुरुङ, मनिष खड्का लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री