वेल्समा भ्रमण वर्ष प्रवर्धन गर्न तीन दिने ‘हाइक फर नेपाल’

गत वर्षको तस्विर

लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन गर्न पोखरेली मञ्च यूके र ‘वी वील 
राइज’ फाउन्डेशनको संयुक्त तत्वावधानमा ‘हाइक फर नेपाल’ गरिने भएको छ । विगत वर्षहरुमा झैं यो वर्ष पनि ब्रेकन, वेल्समा अगष्ट २ देखि ४ तारिखसम्म ‘हाइक फर नेपाल’ गरिने भएको हो । गत वर्ष १५० जतिको सहभागिता रहेको ‘हाइक फर नेपाल’ मा यो वर्ष ३ सय हाराहारी सहभागिताको अपेक्षा ‘हाइक फर नेपाल’ का मुख्य संयोजक मेजर खुशीमान गुरुङ एमभिओको छ ।

हाइक फर नेपाल क्याम्पिङ र हाइकिङ आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय पर्यटकलाई नेपालबारे थप परिचित गराउनु रहेको छ । साथै बेलायतभर छरिएर रहेका नेपालीहरुलाई एकै शुत्रमा बांधी एक नेपालीले कम्तीमा चार पांच पर्यटक नेपाल भित्रयाउन सक्ने 
वातावरणको सृजना गर्नु पनि लक्ष्य छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रयाउने नेपाल सरकारको लक्ष्यलाई साकार तुल्याउन वेल्समा हुन लागेको ‘हाइक फर नेपाल’ ले थप टेवा पुराउने मेजर गुरुङले बताए । गत फेब्रुअरीमा मेजर गुरुङको पहलमा ब्रेकन र धम्पुस 
गाउंबीच मितेरी साइनो पनि गांसिएको छ, जसले भिजिट नेपाल प्रवर्धन गर्न थप टेवा मिल्ने विश्वास छ ।

गत वर्ष राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नी धर्मपत्नीसहित सहभागी भएका थिए ।

आयोजकले अत्यधिक क्याम्पर्स सहभागी भइ ‘हाइक फर नेपाल’ सफल तुल्याउन सबैमा निमन्त्रणा पनि गरेका छन् ।

साधारणतया क्याम्पिङ जांदा आफैंले खानपानको ब्यवस्था समेत गर्नुपर्ने हुनाले धेरै कुराको बन्दोबस्त मिलाएर जानुपर्ने हुन्छ । तर, हाइक फर नेपाल क्याम्पिङ्गमा सो झण्झटबाट मुक्त रहि केवल आफ्नो आवश्यकीय लत्ता कपडा, टेन्ट र चिया नास्ताको सामान बाहेक डिनर, मनोरञ्जनको कुनै चिन्ता लिन नपर्ने आयोजकले बताएका छन् ।

आयोजकले त्यसलाई सयौंको संख्यामा स्थानीय लगायत बेलायतभरबाट आएका क्याम्पर्सहरुसंग भलाकुसारी अनि भेट्घाटको एउटा सु-अवसर भएको पनि जनाएका छन् । क्याम्पर्सका लागि यी सबै कुराको बन्दोबस्त ‘हाइक फर नेपाल’ का मुख्य संयोजक मेजर खुशीमान गुरुङको नेतृत्वमा स्थानीय वेल्सबासीले मिलाएका हुन् ।

तीन दिने क्याम्पिङ अन्तर्गत पहिलो दिन अगस्ट २ 
तारिख शुक्रबार द विसप मिडोज क्याम्प साइट, ब्रेकन वेल्समा सबै क्याम्पर्सहरु भेला भए पश्चात सांझको डिनर व्यवस्था द गोर्खा इन रेस्टुरेन्टले मिलाउने तय भएको छ ।

दोश्रो दिन बिहान ९ बजे ब्रेकफास्ट पश्चात सबै भेला भएपछि केहि औपचारिक कार्यक्रम हुनेछ । सो कार्यक्रम सकिनासाथ ११ देखि ४ बजे सम्म हाइकिङ अनि सांझ ब्रेकन हाई स्कुलमा करी डिनरका साथ सांस्कृतिक कार्यक्रमको व्यवस्था पनि मिलाइएको छ । हाइकिङ्गको लागि प्याक लन्च आफैंले बन्दोबस्त गर्नुपर्नेछ भने रात्री भोजनका निम्ति अग्रिम बुकिङ गर्न आयोजकले आग्रह गरेका छन् । सोका लागि मुख्य संयोजक मेजर खुशीमान गुरुङ ‘एमभिओ’ र पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ सम्पर्क व्यक्ति हुन् ।

नेपाल असिमित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश हो जहां विभिन्न जातजाती मिलेर बसेका छन् । शान्तिका दूत भगवान गौतम बुद्धको जन्मथलो र संसारकै सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्टले पनि नेपाललाई संसार सामु परिचित गराएको सर्वविधितै छ । सन् १८६५ मा ब्रिटिश जेनेरल एवं अन्वेषक जोर्ज 
एभरेष्टले माउन्ट एभरेष्ट संसारकै सबैभन्दा अग्लो हिमश्रृंखला हो भनि पत्ता लगाएकाले उनकै नाममा माउन्ट एभरेष्ट नामाकरण गरिएको बताइन्छ । संयोग नै 
मान्नु पर्छ, उनी ब्रेकन नजिकको शहर क्रीखोवेलका बासिन्दा हुन् । गौतम बुद्ध र सगरमाथा अलावा नेपाल वीर गोर्खाको जन्मथलोको रुपमा पनि संसारमा परिचित छ । बेलायती सेनामा वीर गोर्खालीले विगत २०४ वर्ष देखि सेवा पुरयाउंदै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री