बेलायत आइपुगे प्रधानमन्त्री ओली


लन्डन । बेलायतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सोमबारसांझ लन्डन उत्रिएका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शत वार्षिकी समारोहलाई सम्वोधन गरेर बेलायत आइपुगेका हुन् ।

लन्डन हिथ्रो विमानस्थल उत्रिंदा ओली नेतृत्वको प्रतिनिधिमण्डललाई बेलायती आर्मड फोर्सेस राज्यमन्त्री मार्क ल्यान्कास्टर, राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायतले स्वागत गरेका थिए ।

तस्विर-शिव भण्डारी

लगत्तै ओली नेपाली प्रतिनिधिमण्डलसहित अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी भए । लन्डनबाट करिब ५६ माइल टाढा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित उक्त कार्यक्रममा सहभागी हुन उनीहरु हेलिकप्टरबाट पुगेका थिए ।
कार्यक्रममा निर्धारित समयभन्दा एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीले प्रश्नोत्तर सत्रमा सत्ता नछाड्ने संकेत गरेका छन् । अर्का पार्टी अध्यक्ष प्रचण्डले अढाइ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको बताइरहंदा ओलीले यसबारे पार्टीले निर्णय गर्ने बताउंदै सत्ता नछाड्ने संकेत गरेका हुन् ।

ओलीले कुनै पनि छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने उद्घोष पनि गरे । भारत र चीन छिमेकीमात्र नभएर बजार समेत भएको उनले बताए । आर्थिक समृद्धि बिना प्रजातन्त्र दिगो नबन्ने बताउंदै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय भएको जनाए ।

४ सय बढि सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्रीले नेपालको शान्तिप्रक्रिया, लोकतन्त्र, विकास र समृद्धिका लागि सरकारको दीर्घकालिन योजना र प्राथमिकताबारे पनि आफ्नो धारणा राखेका थिए ।

विदेशी भन्दा उल्लेख्य नेपाली समुदाय सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री पत्नि राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी,
राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत सरकारी अधिकारीहरु सहभागी थिए ।

विश्व नेताहरु बोलाएर वहस गराउने अक्सफोर्ड युनियनको एउटा पुरानो परम्परा नै छ । युनियनको फोरममा अमेरिकी राष्ट्रपतिहरु रोनाल्ड रेगन, जिमी कार्टर, रिचर्ड निक्सन, बिल क्लिन्टन, ब्रिटिस प्रधानमन्त्रीहरु विन्सटन चर्चिल, मार्गरेट थ्याचर, डेभिड क्यामरुन, टेरेजा मे, पाकिस्तानी प्रधानमन्त्री इमरान खान साथै दलाई लामा, मदर टेरेसा, डिएगो म्याराडोना, माइकल ज्याक्सन जस्ता हस्ती उपस्थित भइसकेका छन् ।

प्रधानमन्त्री ओलीको आज मंगलबार बेलायती समकक्षी टेरेजा मे र बेलायती राजकुमार हयारीबीच भेटघाट तय भएको छ । बुधबार फ्रान्स जानुअघि ओलीका कयौं भेटघाट र अन्तरक्रिया छन् ।

नेपालका प्रधानमन्त्रीको १७ वर्षपछि बेलायत भ्रमण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री