प्रधानमन्त्री ओलीको बेलायत भ्रमण गर्वको विषय- 
राजदूत

क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा राजदूत डा. सुवेदी

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रधानमन्त्री केपी ओलीको तीन दिने बेलायत भ्रमण बेलायतवासी नेपालीको सौभाग्य र गौरवको विषय भएको बताएका छन् । प्रधानमन्त्री ओली बेलायती समकक्षी टेरेजा मेको निमन्त्रणामा बेलायतको तीन दिने भ्रमणमा लन्डन आइपुग्नु दुई दिन अघि शनिबार राजदूत डा. सुवेदी क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा बोल्दै थिए ।

‘हाम्रो सम्माननीय प्रधानमन्त्रीले देशमा स्थिरता आइसकेपछि 
निर्वाचनद्वारा सवल, सक्षम सरकार निर्वाचित भइसकेपछि २०३ वर्ष भन्दा लामो 
मैत्रीपूर्ण, सुमधुर, सुदृढ र मित्रवत 
एवं कुटनीतिक सम्बन्धको सबैभन्दा पुरानो राष्ट्रको भ्रमण गर्दै हुनुहुन्छ’, राजदूतले भने, ‘सार्वभौम, स्थिर, सवल र सक्षम सरकारको प्रतिनिधित्व गरेर बेलायत आउन लाग्नुभएका प्रधानमन्त्रीको स्वागत, सम्मान गरौं । त्यो सम्मान नेपाल, नेपाल सरकार, नेपालीको सम्मान साथै बेलायतको नेपाली समुदायको पनि सम्मान हो ।’

‘हाम्रा समस्या, गुनासाहरु होलान्, केही भावना पनि होलान्, ति भावना र सद्भावनालाई प्रतिविम्बित 
गर्दै नेपाल, नेपाली जनता र सरकारको प्रतिनिधित्व 
गर्दै देशको प्रधानमन्त्री आउंदै हुनुहुन्छ, शीर ठाडो पार्नुहोस्’- राजदूत डा. सुवेदीले थपे, ‘देश अब उज्यालो र फराकिलो बाटोमा छ । देशमा निकास आइसकेको छ, विकास ल्याउन बांकी छ भन्ने सन्देश बोकेर प्रधानमन्त्री आउन लाग्नुभएको छ । म तपाईंहरु सबैलाई बधाइ दिन चाहन्छु ।’

उनले बेलायतका नेपालीले मातृभूमिमा कष्ट र संकट पर्दा मुठी, मन खोलेर उदारपूर्वक गरेको मानवीय सहयोगबारे प्रधानमन्त्री ओलीलाई सुनाउने पनि बताए ।

राजनकुमार क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा 
राजदूत सुवेदीले संस्थाकी प्रतिमा केसीको ‘पानीको विद्रोह’ कृति पनि विमोचन गरे । ४९ कविता 
रहेको उक्त संग्रह भावना र सम्भावना बोकेको एउटा पठनीय उत्कृष्ट कृति भएको राजदूतले बताए ।

कार्यक्रममा केही महिनाअघि लन्डनमा आयोजित नेपाली कविता कन्सर्टमा सहभागी स्थानीय श्रष्टाहरु फडिन्द्र भट्टराई, नृपेश उप्रेती, रेखा खरेल, 
रमेश कायस्थ र कन्सर्ट संयोजक रामशरण सिम्खडालाई राजदूत डा. सुवेदी, संरक्षक ध्रुव केसी, एनआरएनए उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले सम्मान गरेका थिए । उक्त कन्सर्टबाट करिब १७ लाख रुपैयां संकलन भएको थियो ।

महासचिव कुमार केसीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुल आचार्य, संरक्षक ध्रुव केसी, सल्लाहकार रामशरण सिम्खडा, जान्वी फाउण्डेशन नेपालकी अध्यक्ष जान्वी बोहोरा, ‘मिस इंग्ल्याण्ड-२०१९’ फाइनलिष्ट प्रतिष्ठा राउत, श्रेया कुंवर लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा सुलभ श्रेष्ठ, प्रतिमा केसीले कविता वाचन गरे भने नेपालका चर्चित कलाकारहरु कुलेन्द्र बिक, भूमिका गिरी र स्थानीय गायक दीपक थापा लगायतले गायन प्रस्तुत गरे । सुस्मिता थापा, सुनिता थापा, अदिती अधिकारी, अमिस खड्का आदिले नृत्य गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल 
गर्ने व्यक्ति र आजीवन सदस्यहरुलाई पनि सम्मान गरियो । सो अवसरमा उपाध्यक्ष यज्ञ क्षेत्रीले स्वागत र अर्की उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रतिमा केसीले धन्यवाद मन्तव्य दिए ।

तस्विरहरु- नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामाग्री