बिहीबार, माघ १३ २०७८ | Thu, January 27, 2022
नेपालको समय: २२:४७ | UK Time: 17:02

बेलायतमा ट्रम्पको तीन दिन : स्वागत र विरोध एकसाथ

वीनेपाली
२०७६ जेठ २२ गते २०:४८

लन्डन । बेलायतको तीन दिने राजकीय भ्रमणका लागि सोमबार बिहान लन्डन उत्रिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहां स्वागत र विरोध दुवै सामना गर्नुपर्‍यो ।

सोमबार बिहान लन्डन आइपुगेपछि ट्रम्प र फस्ट लेडी मेलानियाले बेलायती रानी र प्रिन्स अफ वेल्सबाट न्यानो स्वागत पाए । उनीहरुको सम्मानमा गार्ड अफ अनर र ४१ ‘रोयल गन स्यालुट्स’ दिइएको थियो ।

भ्रमणको पहिलो दिन सोमबार मध्यान्ह ट्रम्प र फस्ट लेडी मेलानियालाई बेलायती महारानी, राजकुमार चार्ल्स र उनकी धर्मपत्नी क्यामिलाले लन्डनस्थित बकिङहम राजदरबारमा औपचारिक स्वागत गरेका थिए ।

सवा एक बजे ट्रम्पले रानीसंग प्राइभेट लन्च गरे भने दुई बजे दरबारमा अमेरिका-बेलायत ऐतिहासिक चित्र प्रदर्शनी अवलोकन गरेका थिए । ट्रम्प दिउसो सवा तीन बजे ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न वेष्टमिनिस्टर आबी पुगे । 

त्यसैगरि अपरान्ह ४ बजे ट्रम्प चियापानका लागि चार्ल्स  र क्यामिला निवास क्लेरेन्स हाउस पुगेका थिए ।

सांझ पौने ९ बजे ट्रम्प दम्पत्ति बेलायती दरबारमा आयोजित स्टेट ब्याङक्वेटमा सहभागी भए । सो अवसरमा बेलायती महारानी एलिजाबेथ द्वितीयले  अमेरिका बेलायत सहकार्यले दशकौंदेखि दुवै देशका जनताको सुरक्षा र समृद्धि प्रत्याभूत गरेको बताइन् भने ट्रम्पले अमेरिका यूकेबीचको मित्रता कहिल्यै नमर्ने भन्दै प्रशंसा गरे । ट्रम्पले दोश्रो विश्व युद्धमा ब्रिटिश जनताको साहसको प्रशंसा गर्दै रानीलाई ‘महान महिला’ को समेत संज्ञा दिए ।

भ्रमणको दोस्रो दिन मंगलबार बिहान राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसंग भेटवार्ता गरे । १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताहरुबीच जलवायु परिवर्तन, चीनको विवादित टेलिकम्युनिकेसन कम्पनी हुवावेसंगको सहकार्यसहितका द्विपक्षीय चासोका विषयहरुमा छलफल भयो । 

सेन्ट जेम्स प्यालेसमा प्रधानमन्त्री मे संगको ब्रेकफास्ट बैठकमा रास्ट्रपति ट्रम्पले अमेरिका र बेलायतबीच व्यापार थप विस्तार गर्ने सम्भावना औंल्याए। उनले व्यापार बढाउन दुवै मुलुक इच्छुक रहेकाले एउटा सम्झौता गर्न प्रस्ताव पनि गरेका थिए ।  

त्यसअघि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मे दूवै देशका बिजनेस टाइकुनहरुको सहभागिता रहेको एक बैठकमा सहभागी भए । जहाँ ट्रम्पले ब्रेक्जिटपछि बेलायतले अमेरिकासंगको व्यापार सम्बन्ध थप विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए ।

ट्रम्पविरुद्ध प्रदर्शन

अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण विवादरहित हुन सकेन । बेलायतको प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले सोमबार सांझ ट्रम्पको सम्मानमा बेलायती राजदरबारमा आयोजित स्टेट ब्याङक्वेट बहिष्कार गरे । उता ट्रम्प र लन्डन मेयर सादिक खानको वाकयुद्ध पनि सतहमा आएको छ । ट्रम्पले सादिकलाई ‘स्टोन कोल्ड लुजर’ (जन्मजात हरुवा ) भन्दै कटाक्ष गरे । यसअघि मेयर खानले ट्रम्पलाई ‘फासिष्ट’ को संज्ञा दिंदै चर्को आलोचना गरेका थिए । ट्रम्पले अंगालेको नीति रंगभेद तथा सभ्य समाजका लागि अनुपयुक्त भएको टिप्पणी खानको थियो ।

राष्ट्रपति ट्रम्प भेटवार्तामा व्यस्त बनिरहंदा लण्डनसहित बेलायतका विभिन्न शहरमा भने उनीविरुद्ध प्रदर्शनहरु भए । लण्डनको ट्राफलगर स्क्वायरमा हजारौंको सहभागितामा भएको प्रदर्शनलाई विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले समेत सम्बोधन गरेका थिए ।

गत डिसेम्बरमा भएको एक मत सर्वेक्षणमा ७० प्रतिशत भन्दा बढी बेलायतीले ट्रम्पको आलोचना गरेका थिए । बोरिस जोन्सन राम्रो प्रधानमन्त्री हुनसक्ने र ब्रेक्जिट वार्तामा युरोपियन युनियनका कट्टर आलोचक नाइजेल फराजलाई पनि सामेल गर्नुपर्ने भनि राष्ट्रपति ट्रम्पले हालै दिएका अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित भएको भन्दै आलोचना भएको छ । 

अमेरिकी राष्ट्रपतिले बिना सम्झौता बेलायत ईयूबाट बहिगर्मन हुनुपर्ने बताउंदै आएका छन् ।

ईयूपछि बेलायतको दोश्रो ठूलो ब्यापार संबन्धका साथै बेलायतसंग सामरिक महत्व राख्ने देश अमेरिका भएकाले ट्रम्पको आलोचना बावजुद पनि उनको भ्रमण महत्वपूर्ण मानिन्छ ।

भ्रमणको अन्तिम दिन ५ जुनमा महारानी एलिजाबेथ द्वितीय र युवराज चार्ल्ससंगै राष्ट्रपति ट्रम्प पोर्टस्मथमा आयोजित ‘डि डे स्मृति समारोह’ मा सहभागी भए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक