फोनिज युकेको ‘द जर्नलिस्ट’ सार्वजनिक


बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक प्रकाशन ‘द जर्नलिस्ट’ को दोस्रो अंक सार्वजनिक भएको छ ।

हिजो शुक्रबार बेलायतको अल्डरसटस्थित इम्पायर ब्याक्वेट हलमा आयोजित समारोहमा सो प्रकाशन सार्वजनिक गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र वर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, सल्लाहकारहरु सोनाम छिरिङ शेर्पा, एकेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र गुरुङलगायतले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विश्वभरि छरिएर रहेका आदिवासी जनजाति पत्रकारहरूको पेसागत संगठन हो । बेलायतमा कार्यरत जनजाति पत्रकारहरूले सन् २०१३ मा फोनिज युके गठन गरेका हुन् । फोनिज युकेमा ३७ सदस्य आवद्ध छन् । फोनिज युकेले आफ्नो गतिविधिलाई दस्तावेजीकरण गर्ने क्रममा ‘द जर्नालिस्ट’को पहिलो अंक सन् २०१७ मा प्रकाशित गरेको थियो । सन् २०१७ अगस्टमा सम्पन्न फोनिज युके अधिवेसनले प्रमिला लाबुङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरयो । यस कार्यसमितिले अहिले ‘द जर्नलिस्ट’ अंक २, २०१८’ दोस्रो अंक प्रकाशित गरेको छ ।

यो प्रकाशनको सल्लाहकारमा फोनिज केन्द्रका अध्यक्ष डण्डबहादुर गुरुङ र फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई,  प्रधान सम्पादक सोनाम छिरिङ शेर्पा र नेपाल सम्पादक गणेश राई तथा फोटो पत्रकार मिलन तमु रहनु भएको छ । प्रकाशनमा बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुधार्मिक लोकतान्त्रिक गणतान्त्रिक देश नेपाललाई हेर्न सकिने सामग्री, फोनिज केन्द्रका अध्यक्ष र फोनिज युकेका अध्यक्ष तथा रेडियो बिजिडब्लुएसका प्रबन्ध निर्देशक मेजर (रि.) सोनाम छिरिङ शेर्पाको अन्तर्वार्ता र फोनिज युकेको गतिविधि समेटिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरको संस्थागत शुभकामना र सम्पादकीय छ । खण्ड–१ मा पत्रकारिताबारे १२ वटा फरक लेख समेटिएका छन् । जसमा फोनिज युके र रेडियो बिजिडब्लुएसको संक्षिप्त इतिहास अंग्रेजी भाषामा छ । वरिष्ठ पत्रकार भगीरथ योगीको ‘नेपाली डायस्पोरा र संचारबीचको अन्तरसम्बन्ध’, नरेश खपाङ्गी मगरको ‘पत्रकारितामा ‘तथ्य’ चुक्दै’, पूर्ण गुरुङको ‘नेपाली समुदायभित्रको पत्रकारिता’, विश्वास दीप तिगेलाको ‘के हो मिडिया र किन ?’, जमुना पुनको ‘बेलायत भूमिमा पत्रकारिता’ शीर्षक लेख छन् ।

यस्तै, शुभेच्छा विन्दु तुलाधरको ‘नेपालका पत्रकार महिला’, राजेश चाम्लिङका ‘पत्रकारितामा आदिवासी जनजाति’, मिलन लिम्बूको ‘नेपाली मिडिया : एकात्मक र जातिवादी’, गणेश राईको ‘परम्परागत सञ्चार प्रणाली र किराती समाज’ र देवेन्द्र सुर्केलीको ‘मलेसियामा नेपाली पत्रकारिता’ लेख समेटिएका छन् ।

खण्ड–२ मा विविधअन्तर्गत ६ वटा लेख छन् । जसमा सुमलकुमार गुरुङको ‘नेपालीहरूको बसाइँ सराई र गैरआवासीय नेपाली’, दुत पुन (चिम्खोले काइँला) को ‘नत्र दुःखी नेपाली’, कर्म पहाडी शेर्पाको ‘शेर्पा प्रदेशका लागि शेर्पा’, जेबी विश्वकर्माको ‘दलित मुक्तिका लागि डायस्पोराको भूमिका’, नगेन्द्र नेम्बाङको ‘योग, ध्यान र साधना’ र पबित्रा देबी सुनुवारको ‘औषधि’ शीर्षकको लेख छन् ।

खण्ड–३ मा संस्कृतिसम्बन्धी ६ वटा लेख समेटिएका छन् । जसमा एकेन्द्र गुरुङको ‘रोधीं’, लाक्पा शेर्पाको ‘ल्होसारको इतिहास र वर्तमान अवस्था’, पदम राईको ‘हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वा सिली’, विष्णु कुमार सिङ्जालीको ‘मगर संस्कृतिमा खुर्पेटो (घोरप्याक): एक परिचर्चा’ हेमन्त विवशको ‘पश्चिमान्चलको डेउडा’ र सन्चु ब्लोन तामाङको ‘डम्फु र तामाङ पहिचान’ लेख रहेका छन् ।

खण्ड–४ मा साहित्य समेटिएको छ । यसमा विजय हितानको ‘बेल्पाली लाहुरे स्रष्टा र युद्ध साहित्य’ समालोचना, भिमल राईको ‘इगल ट्याटुवाली’ र भावना परिष्कृत सुनुवारको ‘सिम्सिया’ कथा रहेका छन् । व्याकुल माइला र लीला सेलिङको गीत, गोमा राना, परिस्पा सुनवारको कविता र होम किरात सुनुवारको संस्मरण छ । खण्ड–५ मा फोनिज युकेको गतिविधि, अन्तर्वार्ता र विभिन्न फोटा समेटिएका छन् ।

विमोचित ‘द जर्नलिस्ट’को बारेमा प्रधानसम्पादक शेर्पा, प्रमुख अतिथि सुनुवार र अध्यक्ष राईले प्रकाश पार्नु भएको थियो । पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले नेपाल सरकारले सञ्चार कानुनलाई नियन्त्रण गर्न खोजेकोले आन्दोलन जारी रहेको र त्यसनिम्ति संसारभर कार्यरत नेपाली पत्रकारले साथ दिनुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री