म्यानचेस्टरमा गणतन्त्र दिवस, पर्यटन प्रवर्धन मुख्य लक्ष्य

लन्डन । नेपाली राजदूतावास लन्डनले गणतन्त्र दिवस २०७६ को अवसरमा ३० मे २०१९ का दिन म्यानचेस्टरमा एक विशेष समारोह आयोजना गरेको छ । यसपटक ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी नेपालको पर्यटन र संस्कृति प्रवर्धन गर्न म्यानचेस्टरमा कार्यक्रम गरिएको हो ।

शुभकामना व्यक्त गर्ने क्रममा प्रमुख अतिथि म्यानचेस्टर सिटीका लर्ड मेयर अविद लतिफ चोहानले २०३ वर्ष भन्दा लामो नेपाल बेलायत सम्बन्धको चर्चा 
गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन बेलायती नागरिकहरुलाई नेपाल भ्रमण गर्न आफूले प्रोत्साहन 
गर्ने आश्वासन दिए । साथै उनले दुई देशका नागरिकहरुबीचको प्रगाढ सम्बन्धले आगामी दिनमा बेलायतमा नेपालको संस्कृति प्रवर्धनका साथै नेपालसंग पर्यटन, व्यापार, लगानी र सहयोगका क्षेत्रहरुमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनैतिक स्थायित्वको महान गन्तव्यतर्फ अघि बढिरहेको विचार व्यक्त गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन बेलायती नागरिक र गैर आवासीय नेपालीहरुलाई आफ्नो परिवार र मित्रहरुसहित नेपाल भ्रमण गर्न आग्रह गरे । उनले वर्तमान सरकारको प्रमुख लक्ष्य ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण 
गर्ने रहेको र सो लक्ष्य हांसिल गर्न कानूनी र संरचनागत सुधार गरिरहेकाले नेपालमा लगानी र व्यापार विस्तार गर्न उपयुक्त समय रहेको समेत बताए ।

डरहाम युनिभर्सिटीका प्राध्यापक डा. म्यानुअल मार्कले ‘सिप्स् अफ गोल्डः प्रमोटिङ सस्टेनेबल पिलग्रीमेज, टुरिजम एण्ड हेरिटेज डेभलप्मेन्ट इन द ग्रेटर लुम्बिनी एरिया’ सम्बन्धी कार्यपत्र प्रस्तुति गर्दै लुम्बिनी क्षेत्रको ऐतिहासिक विकासक्रम र अनुसन्धान हेर्न नेपाल भ्रमण गर्नुपर्ने धारणा राखे ।

समारोहमा नेपालबाट आएका वरिष्ठ गायक प्रेमध्वज प्रधानले विभिन्न राष्ट्रिय गीत गाउंदै बेलायतमा रहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र कला नर्बिसन अनि नेपाललाई माया गर्न आग्रह गरे । समारोहमा पर्यटन प्रवर्धन सम्बन्धी बिभिन्न भिडियो क्लिप प्रस्तुति गर्नुका साथै पर्यटन प्रवर्धन सामाग्रीहरु डिस्प्ले र वितरण गरिएको दूतावासले जनाएको छ ।

समारोहमा नेपाली कलाकारहरुले विभिन्न राष्ट्रिय र आधुनिक गीतमा नेपालको संस्कृति झल्कने ६ वटा नृत्य प्रस्तुत गरे । म्यानचेस्टर आसपास क्षेत्रका सांसद, कूटनैतिक नियोगका प्रमुखहरु, मेयर, काउन्सिलरहरु, पर्यटन व्यवसायी, उद्योग व्यापार सम्बद्ध महानुभाव, पत्रकार, गैर आवासीय नेपालीलगायत ३ सय भन्दा बढी अतिथि सहभागी उक्त समारोहमा नेपाली खानाबाट अतिथिहरुको स्वागत गरिएको थियो ।

तस्विरहरु सौजन्य- नेपाली दूतावास

प्रतिक्रिया

सम्बन्धित सामाग्री