बेलायतमा गैर आवासीय नागरिकता वहस


लन्डन । बेलायतमा भेला भएका एनआरएन नेता तथा कानूनविद्हरुले प्रवासी नेपालीका लागि गैर आवासीय नागरिकता सम्बन्धि कानून उदार र आधुनिक समयानूकुल बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

शनिवार अल्डरसटको एम्पायर हलमा आयोजित छलफलमा बोल्दै गैर आवासीय नेपाली संघका संरक्षक तथा संघको नागरिकता सम्बन्धि कार्यदलका संयोजक रामप्रताप थापाले भारत, पाकिस्तान लगायत मुलुकले विदेशमा बसिरहेका आफ्ना नागरिकलाई स्वदेशको विकासमा सघाउन आह्वान गरेका तर प्रवासी नेपालीहरु भने आफैं मातृभूमिको सेवा गर्न भनेर संगठित भएको बताए । उनले संसारभरि छरिएर रहेका नेपाली नागरिकहरुको नागरिकतालाई निरन्तरता प्रदान गरेर नेपाललाई कुनै घाटा नहुने बरु थुप्रै फाइदा हुने बताए ।

‘२४ न्युज प्रेस डटकम’ ले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘एनआरएन वहस’ मा भाग लिंदै गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले भारत, चीन जस्ता मुलुकहरुको विकासमा तिनका प्रवासी नागरिकहरुको भूमिकाको चर्चा गरे । उनले नेपालले हाल प्रवासमा रहेका आफ्नै नागरिकहरुको सीप, श्रोत र पूंजी देश विकासमा लगानी गर्ने वातावरण तयार गर्न अब ढिला गर्न नहुने बताए । उनले हाल संसदमा विचाराधीन रहेको नागरिकता विधेयकमा संवैधानिक व्यवस्था बमोजिम गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको तर त्यस्तो व्यवस्था झन्झटिलो हुन नहुनेमा जोड दिए । गैर आवासीय नेपाली नागरिकता लिन नेपाली भाषा बोल्नै पर्ने, गृह मन्त्रालयमै जानु पर्ने जस्ता प्रावधानहरु हटाउन पनि उनले आग्रह गरे । उनले गैर आवासीय नेपाली संघको माग नेपाली नागरिकताको निरन्तरता नै भएको र त्यो आफूहरुले न छाडेको पनि स्पष्ट परे।

छलफलमा अधिवक्ता गोविन्द बेलबासेले १९५८ मा अमेरिकी न्यायाधीश जस्टिस ब्लेकले गरेको फैसला उधृत गर्दै कुनै नागरिकले स्वेच्छाले नागरिकता त्यागे बाहेक उसलाई नागरिकताविहीन बनाउन नमिल्ने जिकिर गरे। उनले नागरिकता ऐन २०६१ को दफा १० प्रवासी नेपालीहरुका लागि भेदभावपूर्ण रहेकाले त्यसलाई खारेज गरियोस् भनेर आफूहरूले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताए। उनले एकजना विदेशी नागरिकले नेपालको नागरिकता लिएमा मात्र त्यसलाई दोहोरो नागरिकता भन्न मिल्ने तर विदेशमा बसिरहेका नेपाली नागरिकहरुले हाम्रो नागरिकता कायम रहिरहोस् भन्नुलाई अन्यथा लिन नहुने जिकिर पनि गरे।

अन्तर्राष्ट्रिय मानव अधिकारका एकजना अध्येता नारायण कंडेलले हाल संसारका ४२ मुलुकले दोहोरो नागरिकता दिने गरेको बताउंदै नेपालको नागरिकता ऐन २०६१ को दफा १० खारेज गरिनु पर्ने बताए । उनले विदेशी नागरिकता लिना साथ नेपाली नागरिकता गुम्ने वर्तमान प्रावधान नेपालकै संविधानको मर्म विपरित रहेको दावी पनि गरे । नेपालको संविधानको धारा २९१ पनि विभेदपूर्ण रहेको जिकिर गर्दै कंडेलले नेपालको सार्वभौमसत्ता, सिमाना तथा झन्डा जोगाउन गोर्खा सैनिकहरुले पुरयाएको योगदानको चर्चा गरे । उनले हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायती नागरिकता लिएकै कारण तिमीहरु नेपाली नागरिक होइनौ भन्नु अन्यायपूर्ण हुने बताए ।

अधिवक्ता सुरेन्द्र श्रेष्ठले आफूले वि सं २०४९ मा लिएको अधिवक्ताको प्रमाणपत्र नवीकरणका लागि जांदा नवीकरण नगरिदिएकाले अदालत जानु परेको उदाहरण दिंदै सो मुद्दा अझै विचाराधीन रहेको बताए । उनले प्रवासी नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्र दिइनु भेदभाव पूर्ण हुने बताउंदै हाल संसदमा विचाराधीन विधेयकमा गैर आवासीय नेपाली नागरिकता लिएका प्रवासी नेपालीहरुले नेपाली नागरिक सरह अधिकार पाउने व्यवस्था गर्न माग गरे ।

गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष शेरबहादुर सुनारले ब्रिटिश नागरिकता लिएका कारण तिमीहरु नेपाली भएर बस्न पाउंदैनौ भन्न नहुने बताउंदै गोर्खा सैनिकहरुका लागि नागरिकता सम्बन्धि विशेष व्यवस्था हुनुपर्ने माग गरे ।

वैदेशिक लगानी सम्बन्धी छलफलमा भाग लिंदै न्यू साउथ वेल्स अस्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दीपक खड्काले नेपाली विद्यार्थीहरुले वर्षेनी अर्बौं रकम उच्च शिक्षाका लागि अस्ट्रेलिया लगिरहेको तर अस्ट्रेलियाको मान्यता प्राप्त डिग्री अनुरुपको पढाई नेपालमै संचालन गर्न आफूले गएको दुई वर्षदेखि प्रयास गरिरहंदा पनि अझै सफल नभएको बताए । उनले बेलायत, अस्ट्रेलिया लगायतका मुलुकमा ’सिस्टम’ ले काम गर्ने, तर नेपालमा अझै ‘सिस्टम’ बसाल्न नसकेकाले वैदेशिक लगानी आउन नसकेको पनि बताए । उनले ठूल्ठूलालाई मात्रै हैन, साना र मझौला उद्योगहरुलाई पनि सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव दिए ।

गैर आवासीय नेपाली संघ आइसीसीका सह कोषाध्यक्ष सोम सापकोटा, एनआरएन युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री तथा एनआरएनए पोर्चुगलका अध्यक्ष कुबर कार्कीले सरकारले लगानीका लागि पूर्वाधार बनाइ दिनुपर्ने र अहिलेको लगानी नीति मै परिवर्तन गर्नुपर्ने सुझाव दिएका थिए ।

भूतपूर्व गोर्खा सैनिक सम्बन्धि प्यानल छलफलमा गोर्खा अभियन्ता ज्ञानराज राईले ब्रिटेनले नेपाल र नेपालीलाई ऐतिहसिक रुपमा ठगेको र हेपेका कारण यो समस्या कायमै रहेको बताए । समान पेन्सन लगायतका आफ्ना मागहरु पुरा गर्न जस्तो सुकै आन्दोलन गर्न पनि आफूहरु तयार रहेको बताए ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का धर्मबहादुर तामाङले नेपाल, बेलायत र भारतबीच सम्पन्न 
त्रिपक्षीय सन्धि अनुसार भर्ती गरिएका गोर्खा सैनिकहरुलाई भाडाको सैनिक बनाउन नपाइने बताउंदै सन्धि पुनरावलोकन गर्न माग गरे। भूतपूर्व गोर्खा तथा बार्नेट काउन्सिलका डेपुटी मेयर लक्ष गुरुङले गोर्खा भर्ती सम्बन्धमा नेपालमा छुट्टै कानून नरहेको बताउंदै कूटनीतिक माध्यमबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिए । नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष केशबहादुर गुरुङ तथा गोर्खा नागरिकता निरन्तरता अभियानका थर्क रानाले गोर्खा समस्या राष्ट्रको समस्या हो भन्दै यसको समाधानका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

कार्यक्रम उद्घाटन गर्दै बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीले आन्दोलन, घेराउ, संघर्ष जस्ता दुई देश बीचको सम्वन्धमा असर पार्ने कुराले गोर्खा समस्या समाधान नहुने बताए। उनले गोर्खा संगठनहरुलाई वार्ताको ढोका बन्द नगर्न अपील गर्दै ब्रिटेन सरकारसंग संवाद तथा कूटनीतिक वार्ताको माध्यमबाट गोर्खा समस्याको समाधान हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिस्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपीवान टेलिभिजनका महाप्रवन्धक विकास लामिछाने लगायतका वक्ताले अनलाइन समाचार पोर्टल २४ न्युज डटकमलाई जिम्मेवार र उत्तरदायी पत्रकारिता गर्न सुझाव दिंदै सफलताको कामना गरेका थिए ।

गैर आवासीय नेपाली नागरिकता तथा नेपालमा गैर आवासीय नेपाली लगानी सम्वन्धी छलफलको संचालन एपीवान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले गरेका थिए भने गोर्खा सम्बन्धी छलफलको सञ्चालन सोही टेलिभिजनका समाचार सम्पादक मोहराज शर्माले गरेका थिए ।

कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान व्यक्त गरिएको थियो । आयोजक २४ न्युजडटकमका अध्यक्ष विनय अधिकारीले सबैलाई धन्यवाद दिएका थिए ।

तस्विर- कुशल श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री