लण्डनमा इन्जिनियरहरुले गरे नेपाल सम्मेलन

लण्डन  । लण्डनमा नेपाली इन्जिनियरहरुले नेपाल सम्मेलन गरेका छन् । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेद्वारा शनिवार लन्डनमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले विदेशमा काम गरिरहेका इन्जिनियरहरुलाई आफ्नो सीप र दक्षता नेपालको पुनर्निर्माणमा लगाउन आग्रह गरे ।

राजदूत सुवेदीले भूकम्प लगत्तै र त्यसपछि पनि सोने यूकेले पुरयाएको सहयोगको प्रशंसा गरे । बेलायती जनता तथा बेलायत सरकारले पनि ब्रिटेनमा कार्यरत नेपाली इन्जिनियरहरुको सम्मान गरेको आफूले पाएको उनले बताए ।

‘ब्रिटेन जस्तो विकसित, औद्योगिक राष्ट्रमा तपाईंहरुले सिक्नु भएको इञ्जिनियरिङ पद्धति, प्रविधि र ज्ञान हस्तान्तरण नेपालको विकासका लागि महत्वपूर्ण हुनेछ’- उनले भने । 

राजदूत सुवेदीले सोने यूकेलाई नेपाली दूतावासले आयोजना गरिरहेको नेपाल विकास सम्मेलन शृंखला अन्तर्गत नेपालको विकासबारेमा संयुक्त वहस चलाउन आमन्त्रण पनि गरे ।

नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इञ्जिनियरिङमा कार्यरत प्रा. डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताए । सन् १९९४ सम्म नेपालमा वर्षेनी ४८ जना विद्यार्थीलेमात्र स्नातक तहको इञ्जिनियरिङ विषयहरु  पढ्न पाउने गरेकोमा अहिले देशभरिका कलेज र विश्वविद्यालयमा वर्षेनी हजारौं विद्यार्थीले इञ्जिनियरिङ्गसंग सम्वद्ध विषयहरु पढिरहेको उनले बताए । उनले सन् १९७२ मा स्थापित इन्स्टिच्युट अफ इञ्जिनियरिङ अहिले नेपाल र क्षेत्रीय स्तरमै ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा चिनिएको पनि बताए ।

उनले इन्स्टिच्युट अफ इञ्जिनियरिङ्का ४०० सिटमा भर्ना हुन वर्षेनी झन्डै १४-१५ हजार विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने र भर्ना प्रक्रिया शतप्रतिशत निस्पक्ष रहेको पनि बताए । उनले नेपाल मेडिकल काउन्सिलले जस्तै नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको जांच पछि मात्रै नेपाली इन्जिनियरहरुले काम गर्न पाउने व्यबस्था गर्न नेपाल इन्जिनियर्स एसोसियसनले पहल गर्ने जनाए ।

कार्यक्रममा पररास्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुको विज्ञता नेपालको पूर्वाधार, जलविद्युत, यातायात, दूरसंचार लगायत क्षेत्रमा उपयोगी हुने विश्वास व्यक्त गरे । 

कार्यक्रमको दोश्रो सत्रमा प्रस्तुति दिंदै इन्जिनियर डा. विनोदलाल अमात्यले नेपालमा सन् २०४० सम्म भूमिगत रेल यातायात संजाल विकासको खाका पेश गरे । उनले राजधानी काठमाडौँमा एकीकृत यातायात प्रणाली विकास गर्न आवश्यक रहेको बताउँदै त्यसमा सघाउन आफूहरु तयार रहेको बताए ।

सन् २०१२ मा काठमाडौँमा भूमिगत रेल यातायात (मेट्रो) संचालन गर्नेबारे सम्भाव्यता अध्ययन भैसकेको बताउँदै डा. अमात्यले काठमाडौँ उपत्यकाको दीर्घकालीन विकास, सम्पदा संरक्षण तथा आर्थिक सम्वृद्धिका लागि मेट्रो सबैभन्दा उपयुक्त विकल्प रहेको पनि बताए ।

संयुक्त राष्ट्रसंघको ब्यांककस्थित एस्क्यापमा कार्यरत शहरी यातायात विज्ञ डा. मदनबहादुर रेग्मीले नेपालमा विस्तृत शहरी यातायात योजना अत्यावस्यक भइसकेको बताए । उनले भारतको अहमदावाद शहरले सार्वजनिक यातायातको झन्डै ५० प्रतिशत खर्च व्यहोर्ने गरेकोमा नेपालमा अधिकांश खर्च यात्रुले नै व्यहोर्नु पर्ने र काठमाडौँमा ९८ प्रतिशत यातायात निजी क्षेत्रको हातमा रहेको बताए । उनले सडक सुरक्षा नेपालको प्राथमिकता हुन नसकेकोमा दु:ख व्यक्त गर्दै जति सक्दो चांडो सडक सुरक्षा परिषद गठन गर्न सुझाव पनि दिए ।

विश्व स्वास्थ्य संगठनको काठमाडौँस्थित कार्यालयमा कार्यरत इन्जिनियर सुदन पन्थीले यल विश्व विद्यालयले १८० देशहरुको वातावरणको अनुगमन गरि गत वर्ष प्रकाशित गरेको ‘इन्भाईरनमेन्टल पर्फर्मेन्स इन्डेक्स’ मा नेपाल १७६ औं स्थानमा पुग्नु दुखको कुरा भएको बताए। उनले काठमाडौँको वायु प्रदूषणले गर्दा नेपालको स्थिति खस्केको बताउंदै बेलायतजस्ता मुलुकहरुले वायु प्रदूषण नियन्त्रण गर्न अपनाएका कदमहरु र उनीहरुको उपलव्धिबाट नेपालले पनि सिक्नुपर्ने बताए ।

दोश्रो सत्रको अध्यक्षता ब्रिटेनको सोलेन्ट विश्व विद्यालयका सहप्राध्यापक डा. रमेश मरासिनीले गरेका थिए ।

सम्मेलनमा ब्रिटेनको पोर्ट्समथ विश्वविद्यालयका प्राध्यापक होम ढकाल, स्वान्सी विश्वविद्यालयमा अनुसन्धानरत रामहरि पौड्याल, इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका सहायक प्राध्यापक डा. इन्द्र आचार्य, बेलायतमा कार्यरत वरिष्ठ निर्माण व्यवस्थापक विजय गुरुङले प्रश्तुति दिएका थिए ।

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेका अध्यक्ष शैलेन्द्रकाजी श्रेष्ठले आफ्ना सदस्यहरुको सीप र विज्ञता नेपालको हितमा प्रयोग गर्न सोने यूकेले तीन ओटा संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको बताए । ‘विकास भनेको जनताका लागि राम्रो प्रणाली सिर्जना गर्नु हो’ भन्दै उनले नेपाल इन्जिनियर्स एसोसियसनलाई पद्धतिमा सुधार गर्ने कामको नेतृत्व लिन आग्रह गरे। उनले सम्मेलन आयोजना गर्न सघाउने सबैलाइ धन्यवाद पनि दिए ।

सोने यूकेका उपाध्यक्ष डा. वीरेन्द्र  श्रेष्ठले सम्मेलनको उद्देश्यबारे प्रकाश पारेका थिए भने महासचिव उमेश पराजुलीले सबै सहभागीहरुलाई स्वागत गरे ।  

फोटो- गुणदेव घिमिरे

प्रतिक्रिया

सम्बन्धित सामाग्री