बेलायतमा भुवन अनमोल ‘क्रेज’

लण्डन । नेपालमा चौंथो हप्तामा प्रदर्शनरत नायक अनमोल केसीको पछिल्लो चलचित्र क्याप्टेनले ओभरसिज प्रदर्शन बेलायतबाट सुरु गरेको छ ।

चलचित्र बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा शनिवार रेड कार्पेट प्रिमियर शो गरिएको हो । प्रिमियरमा नेपालबाट नायक अनमोल केसी र भुवन केसीको सहभागिता थियो ।

नेपालमा मिश्रित प्रतिक्रिया पाएको क्याप्टेनले युकेको पहिलो शोबाट भने चलचित्र उत्कृष्ट बनेको प्रतिकृया पाएको छ । फुटबलमा आधारित पारिवारिक ड्रामा सहित देशप्रेम समेटिएकोले पनि उक्त फिल्मले प्रवासी दर्शकको मन छोएको हुन सक्छ । 

कार्यक्रमका प्रमुख अतिथि डा.दुर्गा बहादुर सुवेदीले नायक अनमोल केसी चलचित्र क्याप्टेनको क्याप्टेन मात्र नभएर सम्पुर्ण नेपाली चलचित्र छेत्रकै क्याप्टेन भएको प्रतिक्रिया दिए । साथै चलचित्रको कथा देशप्रति समर्पित भएकोले विश्वभरी रहेका नेपालीलाई हेर्नका लागि उनले आव्हान गरे ।

चलचित्र प्रदर्शन अगाडी कार्यक्रम सन्चालिका निया देवानसंगको अन्तरक्रियामा नायक केसीले ‘विगतका चलचित्रहरुमा हिरोइनको लागि फाइट गर्थें भने यस चलचित्रमा देशको लागि फाइट गरेको छु’ भन्दा दर्शक दिर्घाबाट तालीको गड्गडाहट बर्सेको थियो ।

चलचित्र हेर्न बरिष्ठ गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, नायिका दिया पुन, नायक ध्रुव दत्त, व्यवसायीहरु सूर्य गुरुङ, यादव श्रेष्ठ लगायत करीब तीन सय दर्शकको सहभागिता थियो । साथै केही फ्यानहरु अनमोललाई भेटन उपहारसहित  स्कटल्याण्डदेखि आएका थिए ।

चलचित्रमा अनमोल केसीसंगै सरोज खनाल, उपासना सिंह, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेल, सूर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतको अभिनय छ ।

सुपर काजलको ब्यानरमा निर्मित चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ‘क्याप्टेन’ को बेलायत प्रदर्शन जिम्मा सपन इन्टरटेनमेन्टले लिएको छ ।

बेलायतका विभिन्न शहरमा चलचित्रको माग बढेको र छिट्टै नै प्रमुख शहरहरुमा प्रदर्शन गरिने सपन इन्टरटेनमेन्टका निर्देशक सपन कुमार राईले बताए । सपन इन्टरटेनमेन्टले बेलायतमा नेपाली कला संस्कृति जगेर्ना गर्न उल्लेखनीय भूमिका खेल्नुका साथै नेपाली कलाकारहरुलाई बेलायती स्टेजमा प्रस्तुत हुन अवसर दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री