एनआरएनएले पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने

शनिबार काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा गैरआवासीय नेपाली सङघ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने सम्बन्धमा एनआरएनएका अध्यक्ष भवन भट्ट, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समझदारी पत्रमा हस्ताक्षर गर्दै । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, १६ चैत – अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ ।

सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गर्नुभयो । नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो । उक्त समझदारीमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी एल्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टुर्क सेलबीच पाँचै पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भएको छ । सो समझदारीमा सिजी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र टुर्कसेलका व्यापार प्रमुख एनसिजेट मुराट इर्किनीले हस्ताक्षर गर्नुभयो ।

शनिबार काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरी सम्झौतापत्र हस्ताक्षर पछी हस्तान्तरण गर्दै । तस्वीर- नवीन पौडेल, रासस

प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गर्नुभयो । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा प्रवर्धक सतलज विद्युत् निगमका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका सहायक प्रबन्धक सरोती विनोद कुमार, एभरेष्ट बैंक नायब महाप्रबन्धक गिरिश कोइली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । उक्त आयोजनामा स्टेट बैंक अफ इण्डियाको रु छ हजार ५६० करोड, एभरेष्ट बैंकको रु ८१२.६१ करोड र नबिल बैंकको रु ४८७.५८ करोड लगानी गर्ने भएको छ ।

कूल १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्न हाइड्रो सोलुसन ग्रुप र हुनान सिन्ह्वा वाटर कन्जरभेसन हाइड्रो पावरबीच सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र हुनान सिन्ह्वाको अन्तर्राष्ट्रिय व्यापार प्रमुख झू झेन्ज छेनले हस्ताक्षर गर्नुभयो ।

लगानी बोर्ड नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ) बीच सिमरा विशेष आर्थिक क्षेत्र निर्माणसम्बन्धी समझदारी भयो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न सामझदारी भएको हो । सो समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा विशेष आर्थिक क्षेत्र (सिमरा) का प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आएमएफका नेपाल, भूटान तथा बङ्गलादेश हेर्ने क्षेत्रीय व्यवस्थापक वेण्डी विमर तथा वरिष्ठ लगानी अधिकृत पङ्कज सिन्हाले हस्ताक्षर गर्नुभयो ।

बनेपा हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि निर्माणका लागि उक्त कम्पनीका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङ प्रालिका प्रबन्ध निर्देशक एड्डी सियाबीच हस्ताक्षर भएको छ । त्यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने समझदारीपत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहबीच समझदारी भएको छ । उक्त रकम पूर्वाधार विकासमा खर्च गरिने एनआरएनले जनाएको छ ।

नेशनल कोल्याटरल म्यानेजमेन्ट र नेपाल वेयर हाउस कम्पनी लिमिटेडबीच हरित भण्डारगृह निर्माण गर्नेसम्बन्धी समझदारीमा कम्पनीका प्रबन्ध निर्देशक आनन्दा बगिरा र केल्याटरल म्यानेजमेन्टका उपप्रमुख कार्यकारी अधिकृत अनुपम कौशिकबीच हस्ताक्षर भयो ।

पूर्वाधार विकास सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्माको लाइसेन्स कन्ट्र्याक्टर एशोसिएशन (एमएलसिए) बीच समझदारी भएको छ । महासङ्घका अध्यक्ष रवी सिंह र एमएलसिएका अध्यक्ष उक्या विनले सो समझदारीमा हस्ताक्षर गर्नुभयो ।

त्यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माणका लागि कोरियाली प्रवद्र्धक कोसेपले ६५० मिलियन डलर बराबरको लगानी प्रतिबद्धता गरेको छ । आगामी असोजबाट आयोजनाको निर्माण गरिने कोसेपका उपाध्यक्ष हाक विक किमले बताउनुभयो । भारतको मुथोड फाइनान्सले युनाइटेड फाइनान्स लिमिटेडलाई ३९ करोड ९० लाख लगानी गर्ने घोषणा गरेको छ । सोसम्बन्धी घोषणामा नेपालका लागि मुथोड ग्रुपका निर्देशक अनिल कार्कीले जानकारी गराउनुभयो ।

लगानी बोर्ड नेपाल र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र दक्षिण अफ्रिका लगानी बोर्डका निमित्त प्रमुख युनुश हुसैनले हस्ताक्षर गर्नुभयो ।

अपी पावर कम्पनी नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच १८ मेगावाट क्षमताको सौर्य परियोजना, ९८ मेगावाटको जलविद्युत् परियोजना र १० मेगावाट क्षमताका वायु ऊर्जा उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कँडेल ग्रुपका अध्यक्ष राजेन कँडेलले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

यस्तै डोल्मो हिमालय इनर्जीले पनि लगानीको घोषणा गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री